कलाक्षेत्रमा आशा जगाउँदै मोना

एससी सुमन

एक त त्यसै पनि काठमाडौंमा कलासम्बन्धी गतिविधि सुस्त छ । त्यसमाथि कोरोनाले थलिएको समय, लामो समयसम्म कोरोनाको डरकै कारणले घरैमा थुनिएर बस्नुपरेको अवस्था छ । महामारीले ठप्पै पारिदिएको जीवनचक्रबीच आवश्यक सुरक्षा परिधिभित्र निषेधाज्ञा हटेसँगै र कोरोना संक्रमण दर केही मत्थर भएसँगै काठमाडौंका पछिल्लो दुई वर्ष आक्कलझुकल रूपमा कलाले सजिने ग्यालरीहरू खुले । ग्यालरीमा पहिलेकै रौनक बढेको छ । अहिले ग्यालरीमा कला प्रदर्शनी धमाधम हँुदैछन् । अहिले तपाईं काठमाडौंका जुन ग्यालरी गए पनि ग्यालरीका कक्षमा कलाकारले विभिन्न विषयमा उतारेका सुन्दर कलाले स्वागत गरिरहेका हुन्छन् । साथै ग्यालरीमा कलाप्रेमी र कलाकारको चहलपहल देख्न सकिन्छ ।

चित्रकारहरू एकान्त रमाउँछन् । हुन त जीवन पूर्ण कथा होइन, केही आधा अपूर्ण कथा, असफलता सँगसँगै र केही सफलताको कथा हो । जब कुनै व्यक्ति कलाकार बन्ने लक्ष्य लिइ जीवन पथमा हिँडदा, आजीवन संघर्ष रोज्छ र हारको शृंखला, असिम एक्लोपन तथा अन्तहीन तपस्या हात लाग्छ । यसैबीच लेखिन्छ युगको कथा । मनका कुरा हुन वा कुनै नयाँ विषयवस्तु, लामो समयसम्म घोत्लिंदै, आफ्नो सोचाइमा लामो समय रमाउँछन् अनि जन्माउँछ सजिव सृजनाहरू । फरक फरक सोच र शिल्प अर्थात् कलाकारको काम गर्ने शैलीले पोतिन्छ सेतो क्यान्भास ।

हुनत चित्रकला त्यो विधा हो, जसमा सम्पूर्ण भाषा, संगीत र साहित्य अटाएको हुन्छ । कलाको सम्बन्ध मानिसको जीवन र जगतसँग अन्योन्याश्रित रहेको हुन्छ । हामीकहाँ सरकारी निकायको हेय दृष्टिकोण, ठूलो संख्यामा बौद्धिक कलाकार र मनग्ये कला संयन्त्रको अभाव सँगसँगै कलाकारबीच देखिएको सहकार्य र समता भावनाको कमी नै यस क्षेत्रको विकासका लागि हटाउनुपर्ने पक्ष हुन् । सामान्य मानिसका जिज्ञासु मनले कला कसरी सिर्जना गर्दछन् भन्ने कुरामा सधैँ कौतुहलता हुन्छ । त्यही कौतुहलतालाई केही हदसम्म निर्मुल पार्न म्युजियम अफ नेपाली आर्ट ‘मोना’ ले नेपाली कला विधामा योगदान पु¥याउनको लागि ‘आशाका लागि कला’ कार्यशाला गरेको छ जसले कला महोत्सवको उत्साह दिएको छ ।


तीव्र विकास र विस्तारको प्रसव वेदनाको पर्खाइको क्रममा रहेको काठमाडौंको महत्वपूर्ण पर्यटकीय क्षेत्र ठमेलको मौलिकता नेपाली हस्तकला, रात्रिकालीन सांगीतिक जीवन शैली, विभिन्न देशबाट आउने पर्यटकको आवातजावत मुख्य विशेषता मानिन्छ । ‘इतिहासमा कलाको हाम्रो आफ्नै इतिहास भए पनि, हाम्रो पर्यटनसँग खोलानाला, पहाड, हिमाल, वनजंगल, संस्कृतिजस्ता पक्षलाई मात्र जोडिँदै आएको छ, किन हाम्रो कला पर्यटनसँग जोडिन नसकेको हो सो प्रश्नको जवाफ खोज्ने क्रममा ठमेलको पश्चिमी भाग अर्थात् सातघुम्तीको सडकलाई ‘आर्ट स्ट्रिट’ को रूप दिनु यस महोत्सवको सपना होइन, लक्ष्य लिई भूमिका खेल्नेमा कलाकार तथा कलाका क्षेत्रमा केही गरौँ भन्ने सोचाइ भएका मानिस ती कलाकारले कसरी काम गर्दछन्,’ मोनाका निर्देशक राजन शाक्य भन्छन्, ‘यो सडक खण्ड बौद्धिक तथा सांस्कृतिक कला केन्द्रका रूपमा स्थापित होस, हाम्रो प्रयास हो ।’

नयाँ तथा पुराना पुस्ताका करिब तीन दर्जन कलाकार आफनो क्यानभास रंगाई रहँदा कलाप्रेमी, कलानुरागी विभिन्न पेशा समुहका मानिस कलाको रसस्वादन गर्न आउनेले काठमाडौं गेस्ट हाउसको आँगन भरिभराउ थियो । विगत दुई वर्षदेखि विश्व महामारीसँग लडिरहेको छ । महामारीका कारण त्रसित समग्र मानव जगत कोभिड–१९ महामारीको ढोकामा उभिएर प्राकृतिक निधिको खोजी लोकको नाउँबाट जारी छ । सोचनीय यो पनि छ कि यो खोजमा कुनै सिर्जनाको सम्भावना बाँकी पनि छ ? मास्कले आधा अनुहार छोपिएको छ । मास्क संस्कृतिमा हामी आश्वस्त हुने प्रयास गर्दैछांँ । थाहै नदिई छुवाछूतको संस्कृति पुनः भित्रिएको छ । सामाजिक दुरी बढाउनु परेको छ । मास्कले आधा छोपिएको अनुहार आफ्नो आत्मजनसँग परिचित हुने प्रयास गरिँदै छ । आत्मजनको स्पर्शमा पूर्ण रूपमा बन्देज लागेको छ । आत्मजनको सामिप्यपछि अनुहारमा आउने भाव छोपिएको छ । उपयुक्त दुरीमा रही आँखाबाट संवाद हुनेक्रम जारी छ । पर्वमा सम्मिलित सबै कलाकार एकै भावमा छ्न । कठिन कुन अर्थमा भने यसमा चाँडोचाँडो तुलिका चलाउनुपर्छ र चित्र छिट्टै बनिसक्नुपर्छ । समय निर्धारित छ । प्रकृति, परिवर्तित मनोभाव र वातावरणीय प्रभावको असर यस्ता कलामा छाइसक्नुपर्छ ।

अभिनेता राजेश हमालले क्यानभासमा आफ्नै आकृति झल्कने चित्र कोरेपछि कार्यशाला औपचारिक रूपमा प्रारम्भ गरिएको थियो । सहभागी चित्रकारले परम्परागत पौभा कला, मिथिला कला, क्यालिग्राफिक, समकालीन तथा आधुनिक कलामा, कार्टुन, सेरामिक, धर्म, संस्कृति, समाज, प्रकृति, सम्पदा र मानवीय पक्षलाई आ–आफ्ना शैलीमा विचार एकअर्कामा आदानप्रदान गरे । यसैक्रममा सातघुम्तीलाई ‘कलामार्ग’ को रूपमा परिचित गराउनको लागि सोही दिन काठमाडौं आर्ट हाउसको डा.सन्दुक रुइतले उद्घाटन गरे । यहाँ एउटै छानामुनि दर्जनौं नेपाली कलाकारको कलाका विभिन्न स्वरूप र शैलीहरू एकीकृत हुनेछ । यो आर्ट हाउस नेपालका सर्वोत्कृष्ट कलाकारका कला÷सिर्जना प्रदर्शन तथा बिक्री गर्ने साझा थलोको रूपमा विकसित हुनेछ, जो पक्कै पनि भविष्यको नयाँ कोसेढुंगा हुनेछ ।

कार्यक्रममा पौभा कलालाई क्यानभासमा उतार्दै गरेका लोकचित्रकारले यो जमघटलाई उत्सवका रूपमा लिएको सुनाए । उनले भने, ‘हामीले आफ्नो कला मात्र नभएर अरूको कला पनि बुझ्ने मौका पायौँ । सबै कलाकारका कलाकृति हेर्ने एक आपसमा भलाकुसारी तथा कला विषयमा छलफल गर्ने अवसर मिल्यो । यो हाम्रो लागि अविस्मरणीय क्षण रह्यो । यसरी चित्रकार किरण मानन्धरले यस्तो कार्यशालाले कला विस्तारका साथै चित्रकारबीच सुमधुर सम्बन्ध विस्तार गर्ने अवसर प्रदान ग¥यो । यसरी एकैथलोमा जम्मा भई काम गर्दा नयाँ उर्जाको सञ्चार भएको पाएँ । हामीकहाँ अग्रज तथा नवपुस्ता कलाकारबीच असाध्यै दुरी रहेको छ । यस्ता खाले कार्यक्रम भएमा एकले अर्काेलाई कलासँगसँगै सम्बन्ध विस्तार गर्ने मौका मिल्छ । यसले हाम्रो कलाको फाँट नै फराकिलो हुँदै जाने विश्वास गर्न सकिन्छ । यो कार्यशाला नवपुस्तालाई सिकाइको अवसर पनि दिएको छ ।

के का लागि कला ? सामान्य प्रश्न हुन । जवाफमा, आशाको लागि कला, समाजको लागि कला, देशको लागि कला । नेपाललाई कला गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने र बालबालिकालाई क्यान्सरसँग जुध्न पनि सहयोग गर्ने उद्देश्यले आयोजित उक्त कला महोत्सव कार्यशाला तथा प्रदर्शनीमा बिक्रीको ५० प्रतिशत रकम कान्ति बाल अस्पतालको क्यान्सर वार्डमा क्यान्सर पीडित बालबालिका जो निम्न वर्गका छन्, उनीहरूको उपचारमा उक्त रकम खर्चिन हस्तान्तरण गरियो । यो कला महोत्सव कल्याणकारी कार्यमा सहयोग गर्दै नेपाली कला र कलाकारलाई प्रकाशमा ल्याउन गरिएको सफल प्रयास हो । देशको पहिचान कला र संस्कृतिको धनी देशमा चित्रित हुनुमा कलाकारको ठूलो योगदान रहेको छ । हाम्रा पुरातात्विक धरोहर कति कलात्मक छन । कलाकारको योगदानबाट देशको पहिचान बनेको छ यसलाई जगेर्ना गर्नु हरेक पुस्ताको दायित्व हो ।

कलाकार लोक चित्रकार किरण मानन्धर, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, समुन्द्रमान सिंह श्रेष्ठ, अनिल थमन, प्रकाश पुन मगर, उजय बज्राचार्य, रवीन्द्र श्रेष्ठ, रवी श्रेष्ठ, प्रदिप बज्राचार्य, आशा डंगोल, संगी श्रेष्ठ, विनोद गौतम, पूर्ण ह्योजु, रजनी सिंख्वाल, मनीस धोजु, रोशन डंगोल, रितेश शाही, रसना बज्राचार्य, प्रमिला बज्राचार्य, रामप्रकाश श्रेष्ठ, सुशिला सिंह, सागर मानन्धर, राज प्रकाशमान तुलाधर, गोपाल कलाप्रेमी श्रेष्ठ, मुना भँडेल, एरिना ताम्राकार, विकास कालिकोटे, विनोद प्रधान, राजन साङ्गाछे, मुकेश श्रेष्ठ र पंक्तिकार एससी सुमन गरी ३३ कलाकारले उक्त महोत्सवमा सहभागी भएर आफ्नो कला प्रदर्शन गरेका छन् । आगन्तुक बालबालिकाको उत्साहबर्धक सहभागिता थियो ।
लोक, परम्परागत र आधुनिक नेपाली कलामा संसारमा अन्यत्र कतै पनि नभेटिने विचार र गुणहरू छन् । कलाकारका कृतिले आधुनिक कलाको नवशैली, मान्यता र नौलो जागरणलाई आत्मसात गर्दै क्रमशः नौलो सैद्धान्तिक वाद स्थापित गरेका र गर्न प्रयत्न गरिरहेका छौँ । परम्परागत मान्यतालाई उल्लंघन गरेर कुर्बेले अपनाएको नवकलाशैली स्वतन्त्रताले आधुनिक कला बीजारोपणको मार्गलाई प्रशस्त गरेका थिए । एडुवाई माने त आधुनिक कला आन्दोलनको प्रभाववादी शैलीका महान अगुवा नै हुन् । यस्ता धेरै कारणहरू छन् जसले कलाकारका कलाकृतिलाई विश्व सम्पदाका रूपमा परिभाषित गर्न सघाउँ पु¥याए । पश्चिमी देशमा आधुनिकता र नवप्रयोगको प्रक्षेपण हुँदै सफलता हात पर्दा नेपालीका कलाकृति दैवी वर्णन, प्राकृतिक प्रविधि र वंशाणुगत मौलिक अनुभूतिमा नै केन्द्रित रहेकाले पनि समसामयिक कला चेतना र विकासका पक्षमा यस्तो निरिहता छाएको हुनसक्छ । कलामा धनी देश भनेर चिनिने हाम्रो देशलाई समसामयिक कला विकासको सन्दर्भमा भारत, बंगलादेशजस्ता छिमेकी मुलुकले पनि उछिनिसक्नुको कारण पनि यही हो । यसमा हामी र हाम्रा आन्तरिक कारणहरू पनि दोषी छन् । कलाभित्रको आशामा वहस र गतिविधिको निरन्तरताले लक्ष्य समक्ष पुर्याउँछ ।

प्रतिक्रिया