दसैँ नजिकिँदै गर्दा छैन फुर्सद

नेपालीहरूको प्रमुख चाड बडादसैँ नजिकिएसँगै विनय लखेरको दौडधुप बढेको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का लखेर बिहानै झिसमिसेमा माटोसँग भेट गर्छन र आधी रातसम्म त्यहीँ माटोमै खेल्छन् । यो वर्ष कोरोना संक्रमण दर नियन्त्रणमा आउँदैगर्दा दसैँको पूजाको लागि मूर्ति बनाउने कालिगढलाई अहिले भ्याइनभ्याइ छ । कोरोना संक्रमणको कारण गतवर्षको चाडपर्व खासै उत्साहपूर्ण रहेन । कोरोनाले थलिएको समयमा नेपालगञ्जमा चाडपर्वसँगै चाडपर्व लक्षित व्यवसायसमेत थला परेका थिए । यो वर्ष भने अवस्था अलि फरक भएको छ ।

यो वर्ष ४० भन्दा बढी मूर्तिको अर्डर पाएका खेरले दसैंको दुर्गा पूजाको मूर्तिको सेट तयार गर्न उनले दुई महिना अगाडिदेखि नै काम गर्दै आएको बताए । ‘यो वर्ष कोरोना कम भएर पनि होला, धेरै मूर्तिको अर्डर आएको छ, लिएको अर्डर पूरा गर्न रातभरि भए पनि काम गर्नै पर्छ ।’ किन्चित उज्यालो अनुहार पार्दै लखेरले भने, ‘फेरि यो मूर्तिको काम अरू बेला हुँदैन, यहि दुई÷तीन महिना मात्रै त हो यो काम हुने ।’ पछिल्ला केही वर्ष नेपालगञ्ज बजारमा मात्रै होइन बाँके, बर्दिया, दाङ तथा कर्णाली प्रदेशको सुर्खेतका गाउँगाउँमा समेत मूर्ति स्थापना गर्ने प्रचलन बढेको छ । सहरमा मात्रै होइन गाउँमा समेत दसैँमा मूर्ति स्थापना गर्ने र पूजा गर्ने चलन बढेकोले मूर्तिको माग बढी हुने गरेको लखेरको अनुभव छ ।

नेपालगञ्जका रैथाने लखेर १० वर्षको उमेरदेखि नै मूर्ति बनाउँदै आएको बताउँछन् । उनले मूर्ति बनाउन सुरु गरेकै करिब ३० वर्ष बढी भयो । यति लामो समयावधिमा गत वर्षको दसैँ उनको लागि बिर्सन नसकिने निरश दसैँ बन्यो । कोरोनाको इपिसेन्टर बनेको नेपालगञ्जमा कोरोनाले लखेरको मूर्तिको व्यवसायलाई समेत थला पा¥यो । गतवर्ष मुस्किलले १० वटा मूर्ति बेचेको उनी बताउँछन् । लखेरले बनाउँदै गरेको मूर्तिको मूल्य १२ हजारदेखि ३५ हजारसम्मको छ । १२ हजारको मूर्तिको अर्डर खासै धेरै नभएको उनले सुनाए । यो वर्ष सबै गरेर आठ देखि १० लाखको मूर्तिको अर्डर आएको लखेर बताउँछन् । विनय लखेर मात्रै होइन नेपालगञ्ज बागेश्वरी मन्दिर र न्युरोडको बीचमा रहेको खाली जमिनमा उभिएर दसैंका लागि मूर्ति बनाउने काममा व्यस्त अंकित मिश्रालाई आफ्नै साथिभाइसँग बोल्नसमेत फुर्सद छैन । यो वर्ष लगातार रूपमा परेको पानीले पनि उनको मूर्ति बनाउने कामलाई अप्ठेरो पारेको उनको गुनासो छ । ‘दसैँ नजिकिसक्यो तर अर्डर लिएको मूर्ति तयार हुनै बाँकी ।’ २९ वर्षीय मिश्राले दुर्गाको मूर्तिमा माटो पोत्दै बोले । गत वर्ष कामै भएन, यो वर्ष पनि पानी परेर भने जति मूर्तिको सेट तयार गर्नै नसकिएकोमा उनको दुःखेसो छ । मिश्राले भने, ‘सिलिन्डर ग्यासको प्रयोग गरेर माटो सुकाउनुपरेको छ ।’ मिश्रा मूर्ति बनाउने पेसामा करिब ८/१० वर्षदेखि छन् । उनले यो वर्ष ४०/५० वटा सानाठूला मूर्तिकोे सेटको अर्डर पाएको बताए ।

नेपालगञ्जका मूर्ति सुर्खेत र दाङसम्म
विनय लखेर र अंकित मिश्रासँगै नेपालगञ्जमा मूर्ति बनाउने पेसामा करिब ८÷१० जना संलग्न छन् । उनीहरूले दसैँको समयमा चार÷पाँच जना सहयोगी राखेर दुर्गाको मूर्ति तयार गर्दै आएका छन् । उनीहरूले तयार गरेको मूर्ति कर्णाली प्रदेशको सुर्खेत तथा बर्दिया, दाङ र आसपासका जिल्लामा समेत जाने गरेको छ । लखेरका अनुसार यो वर्ष पनि उनले दाङ र सुर्खेतका लागि मूर्तिको अर्डर लिएका छन् । पहिले–पहिलेका वर्षमा काठमाडौंको लागिसमेत मूर्ति बनाएको उनले बताए ।

नेपालगञ्जमा भारतबाट मूर्ति
चाडपर्वमा मात्रै मूर्तिकोे माग आउने हुँदा नेपालगञ्जमा मूर्ति बनाउने पेसामा आश्रित कालिगढ अन्य पेसा अँगाल्न बाध्य छन् । त्यसैले एकैपटक आउने माग धान्न यहाँका कालिगढलाई हम्मे पर्छ । चाडपर्वको समयमा मागअनुसार मूर्ति तयार हुन नसक्दा भारतीय सिमावर्ती बजार रुपईडिया तथा नानपारादेखि मूर्ति नेपालगञ्ज ल्याउने गरिन्छ । भारतीय सीमावर्ती जिल्ला बाँके तथा बर्दियाका विभिन्न गाउँ तथा सहरका लागि भारतबाट मूर्ति भित्र्याउने गरिन्छ । केही सस्तोसमेत पाउने भए पनि रुपईडिहाबाट मूर्ति ल्याउन सहज नभएको डुडुवा गाउँपालिका–२ का रामकुमार धोबी बताउँछन् ।

गत वर्ष कोरोनाको कारण नेपालगञ्जमै बनेका मूर्तिले बजार नपाएको समयमा भारतबाट मूर्ति नल्याइए पनि यो वर्ष करिब दुई देखि तीन सयको हाराहारीमा दुर्गा पूजाको लागि मूर्ति भित्रिने जानकारहरू बताउँछन् । पहिलेका वर्षमा समेत तीन÷चार सयको हाराहारीमा दुर्गा मूर्तिको सेट भारतीय सीमावर्ती बजार रुपईडिहाबाट भित्रिने गरेको थियो । पछिल्लो केही वर्षदेखि सहरमा मात्रै होइन गाउँघरका चोक तथा टोलटोलमा दुर्गाको मूर्ति स्थापना गर्ने प्रचलन बढ्दै गएको छ । पहिलेका वर्षहरूमा गाउँघरका मन्दिरहरूमा पूजा गर्ने गरे पनि हालका वर्षहरूमा भने दुर्गाका मूर्तिको सेट राखेर टोलटोलमा पूजा गर्ने प्रचलन बढ्दै गएको छ । घटस्थापनाको दिनदेखि दुर्गाको मूर्ति स्थापना गरिँदै आएको छ ।

प्रतिक्रिया