१२औँ राष्ट्रिय जनगणना र मेरो अनुभव

शकुन्तला आचार्य

सम्पूर्ण पूर्वतयारी आरम्भ भइसक्दा एक्कासि रोकिएको जनगणना भदौ अन्तिमदेखि प्रारम्भ भयो । केरोना संक्रमण मत्थर भए पनि जनगणनाको काम प्रारम्भ गरिए पनि डर त्रास अझै बाँकी छ । कोरोना महामारीको परिस्थितिमा जनगणना कार्य सहज छैन । गणक तथा सुपरिवेक्षकहरू घरघरमा डुल्नुपर्ने भएकोले कोरानाका संवाहक त होइनन् भन्दै कतिपय मानिसहरू नजिक आउन हिच्किचाएको समेत देखियो ।

नेपालमा विक्रम सम्बत १९६८ देखि जनगणना गर्ने काम सुरु भएको हो । प्रत्येक १०/१० वर्षको अन्तरमा जनगणना सञ्चालन हुँदै आएको छ । आसन्न राष्ट्रिय जनगणना ०७८ नेपालको इतिहासको १२औँ र संघीय गणतान्त्रिक नेपालको पहिलो हो । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक विवरण संकलन कार्य दुई चरणमा सञ्चालन गरिएको छ । पहिलो चरणमा ३० भदौदेखि १८ असोजसम्म सुपरिवेक्षकबाट घर तथा घरपरिवार सूचीकरण गरिएको छ । यसअन्तर्गत प्रत्येक घरपरिवारको दैलोमा पुगी परिवारमा अक्सर बसोवास गरेका सदस्यदेखि लिएर महिला पुरुष अन्य लिंगी संख्या परिवारको विवरण, कृषिसम्बन्धी विवरणहरू परिवारबाट सरकारी अनुदानमा आवासीय घर निर्माण, परिवारका सदस्यको बैंक वा वित्तीय संस्थामा खाता, पारिवारिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका व्यक्ति संख्या र बैंक तथा सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधासम्बन्धी विवरणहरू संकलन गरिसकिएको छ ।

जनगणनासम्बन्धी विविध कुराहरूको जानकारी जनगणनामा संलग्न सबै अधिकृत सुपरिवेक्षक तथा गणकले जनसंख्याको परिचय कानुनी प्रावधान जनगणनामा प्रयोग हुने शब्दहरू अवधारणा र परिभाषा घर र घरपरिवार सूचीकरण अध्यावधिक कार्य, सुपरिवेक्षक र गणकको काम कर्तव्य र जिम्मेवारी आचरण तथा अनुशासनजस्ता कुराहरूमा निकै ध्यान दिनुपर्ने रहेछ ।

०६८ को जनगणनाको तथ्यांकअनुसार १ सय २५ जातजाति र १ सय २३ भाषाहरू बोल्ने मानिसहरू हाम्रो नेपालमा बसोवास गर्दछन् । त्यसैले सबै व्यक्ति फरकफरक परिवेश र वातावरणमा हुर्केका हुनाले रहनसहन सामाजिक सांस्कृतिक परिवेश आदि कुराहरू आआफ्नै रहेको हुन्छ । जसको कारण हामीलाई सही तथ्यांक लिन सोचेजस्तो सजिलो छैन । यही परिवेशमा १२औँ जनगणनाको सुपरिवेक्षक पदमा रही ‘काठमाडौं जिल्ला जनगणना कार्यालय स्वयम्भु ङ’ क्षेत्रबाट काठमाडौं महानगरपालिका–१५ को मुटु मानिने छाउनीस्थित वीरेन्द्र मार्ग किमडोल भानु मार्गमा मैले घर तथा घरपरिवार सूचीकरण कार्य सुरु गरेकी थिएँ । यसै त ७७ जिल्लाको ७८औँ रूप भन्निछ काठमाडौंलाई । त्यसमा पनि काठमाडौंको बास्तविकता सोचेभन्दा पृथक रहेछ । काठमाडौंवासीका, घरघरमा जाने क्रममा कसैले माग्ने आयो भनेर पैसा दिन खोज्ने, त कसैले गेट नखोल्न्ने । खोले पनि घरमाथिबाट बोल्ने, भाडामा बसेका व्यक्तिहरूको सही तथ्यांक दिन हिच्किचाउने व्यक्तिहरू प्रसस्त पाइयो । सरकारले घरभाडा कर लिन्छ भनेर भाडामा बस्नेहरूको विवरण दिन कतिपय घरधनीहरूले नमानेका कारण सही तथ्यांक संकलनमा समस्या पर्ने पो हो कि ? भन्ने आशंकासमेत छ ।

सरकारले जनगणना ०७८ को प्रारम्भ नयाँ वर्षसँगै गर्ने तयारी अघि बढाएको हो । तर कोरानाको दोस्रो लहर एक्कासि बढेका कारण जनगणनाको काम एक्कासि रोकियो । सम्पूर्ण पूर्वतयारी आरम्भ भइसक्दा एक्कासि रोकिएको जनगणना भदौ अन्तिमदेखि प्रारम्भ भयो । केरोना संक्रमण मत्थर भए पनि जनगणनाको काम प्रारम्भ गरिए पनि डर त्रास अझै बाँकी छ । कोरोना महामारीको परिस्थितिमा जनगणना कार्य सहज छैन । गणक तथा सुपरिवेक्षकहरू घरघरमा डुल्नुपर्ने भएकोले कोरानाका संवाहक त होइनन् भन्दै कतिपय मानिसहरू नजिक आउन हिच्किचाएको समेत देखियो । नजिकै पर्न नचाहे पनि सही तथ्यांक लिन सहज हुँदैन । तथ्यांक सही तथ्यांक दिन झ्याउ मान्ने कतिपयलाई संझाउँदा संझाउँदै दिनै बित्ने, एक दिनमा दुई/चार घरभन्दा नभ्याइने अवस्थासमेत देखियो ।

यस्ता समस्याको सामना गर्दै गर्दा ३० भदौदेखि १८ असोजसम्म २० दिन फिल्डमा खटिएर बोकेका तीतामिठा घटनाहरूलाई उल्लेख गर्ने जमर्को मात्रै हो यो । जसका कारण दोस्रो चरणमा गणकहरूलाई मुख्य प्रश्नावलीमार्फत घरपरिवारका सदस्य तथा व्यक्तिको लिंग, उमेर, जातजाति, भाषा, धर्म, वैवाहिक स्थिति, अपांगता, बसाइँसराइ र शिक्षा, आर्थिक क्रियाकलाप लगायतको विवरणहरू संकलन गर्दा आउने परिवेशसँग सामाना गर्न केही हदसम्म यो लेखले सहयोग गर्नेछ । किनकी अझै पनि तेस्रो लिंगीको विवरण दिन कतिपय घरपरिवारहरू हच्केको देखियो । जबसम्म सही र यथार्थ तथ्यांक आउँदैन तवसम्म राज्यबाट अघि बढाइने योजनाहरू असफल हुन्छन् । जनगणनामार्फत सही तथ्यांक देशको योजना तथा नीति निर्माणका लागि पहिलो खुड्किलो हो ।

प्रश्नावली फाराम भरेर जनगणनाको मुख्य काम २५ कात्तिकदेखि ९ मंसिरसम्म १५ दिन हुँदैछ । जसमा आउने विभिन्न अप्ठ्यारा परिवेशसँग गणकहरूले सामना गर्नुपर्ने हुन्छ । यसका लागि गणना पुस्तिका मिहीन ढंगले अध्ययन गर्न र तालिममा सिकेका कुरा स्मरण गर्नु जरुरी छ ।
यस क्रममा काठमाडौं जिल्ला जनगणना कार्यलय स्वयम्भु ‘ङ’ का कार्यालय प्रमुख सत्य आचार्यलगायत देवराज लामिछाने, रविचन्द्र ढकाल, जीवन गौतम लगायतलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । सम्पूर्ण देशमा कार्यरत कर्मचारी, सुपरिवेक्षक र गणकहरूले आगामी दोस्रो चरणको गणकको कार्यका लागि सेतुको रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘हाम्रो गणना हाम्रो सहभागिता’ नाराका साथ भएको राष्ट्रिय अभियानका साथ १२औँ राष्ट्रिय जनगणना २०७८ सफल पारौँ ।

प्रतिक्रिया