मत-विमत

स्मृतिमा बाल्यकालको दसैँ तिहार

सुवास घिमिरे २०७८ असोज २१ गते ७:३९ मा प्रकाशित

सुवास घिमिरे

समयले बेखबर नेटो काटे पनि सम्झनामा ताजै छन् रोटे र लिंगे पिंगमा मच्चिएर आफँैमा हराइरहेका युवायुवती र केटाकेटीको मुहारमा छचल्किएको खुसी; एकअर्कासँग शुभकामना पोस्टकार्ड आदान–प्रदान गर्न आतुर चुलबुले मनहरू; आकाशमा चंगासँगै विचरण गरिरहेका स्वच्छन्द, उन्मुक्त, कोमल हृदयहरू; नयाँ कपडाको मीठो सुवास अनि टीका र जमराले रातै पहेँलै भएको जगत; घरतिरभन्दा मामाघरतिरै तानिएको शिशु मन; अनि रेडियोमा गुन्जिरहने मालश्रीको सुमधुर धुन ।

मेघाच्छन्न आकाश रित्तिएला झैं पानी बर्सिइरहेको छ धरतीमाथि । निकैबेरदेखि असजिलो भारीपन समेटेर बसेको गगन अब गडगडाउँदै स्वतन्त्र गर्दैछ आफूलाई त्यो भारबाट । धूमिल आकाशमा यदाकदा चम्किइरहेको बिजुली झैँ ममा पनि स्मृतिका झिल्काहरू उदाउँदैछन्, अस्ताउँदैछन् । वर्षाको यो साक्षात्कारमा म नोस्टाल्जिक हुन थाल्छु, मलाई नोस्टाल्जियाले झपक्क छोप्न थाल्छ र म तानिन्छु बालापनको उही वर्षा र सप्तरंगी इन्द्रेणीतिर, आफ्नै जीवनसँगका गुनासाहरूबाट मुक्त तिनै निर्दोष पलहरूतिर ।

वृष्टिमा म हमेशा रोमाञ्चकतासँगै जोडिएर आउने एउटा विश्रान्तिको महसुस गर्दछु, चलायमान दुनियाले अनायाँस एउटा चिर प्रतिक्षित विश्राम पाएजस्तो । मान्छे परापूर्वकालदेखि विभिन्न गन्तव्य तय गरेर निरन्तर हिंडिरहेकै छ । कुन युगमा कहाँबाट नेपालको भूमिलाई बासस्थान बनाउन आइपुगेका पूर्खाका सन्तती हामी अहिले जन्मभूमिबाट हजारौँ माइल पर अमेरिकाको भूमिमा जीवन खोजिरहेका छौँ । मान्छेको खोजीको युगानुयुगदेखिको यो सिलसिला यहीं थामिने छैन, रोकिने छैन । किनभने सीमाहरूले मान्छेलाई परिभाषित गर्न सक्दैनन् । उसका अपरिमित आकांक्षाहरूलाई छेक्ने कुनै घेरा छैन । मान्छेभित्र रहेको यही फैलावटको चाहनाले हुनुपर्छ उसलाई हिमालहरूले आकर्षित गर्छन्, उसलाई समुद्रहरूले लोभ्याउँछन् । त्यसैले त ऊ कहिले हिमालको उचाइ छुन पुग्छ त कहिले समुद्रको गहिराइ नाप्न । यी दुबै पर्याय हुन् महानताका । आज घटस्थापनाको दिन । हरेक शरदको आगमनसँगै अतीतको सम्झना गाढा हुन थाल्छ । जीवनको उषाकालमा भोगेको दसैँतिहारको तृष्णा आजकल मनमा पुनः जागेर उठेको छ ।

स्कूल जानु नपर्ने खुसीले त्यसै त्यसै प्रफुल्लित मन दसैँको आगमनसँगै वातावरणमा व्याप्त भएको सुगन्धले झन् मन्त्रमुग्ध हुन्थ्यो । हरेक बिहानीले दसैँको आगमनको उद्घोष गर्दथे दमाहाको ध्वनिसँगै । बदलिएको मौसमसँगै भरखरैदेखि टल्किन थालेका शीतका मोती दानामा टल्किन्थ्यो मेरो आफ्नै सानो संसार । स्मृतिपटलमा गाढा पोतिएका छन्, सयपत्री अनि मखमलीले ढकमक्क आँगन, कमेरो माटोले सेतो रातो पोतिएका सुन्दर घरहरूको मनोहर बस्ती, चोकचोकमा थापिएका जुवाका खाल अनि खुद्रा पैसाले जुवा जित्ने नसामा संसार बिर्सिएर लठ्ठिएका मनहरू, ‘दसैँ’ लागेर लर्बरिँदै हिँड्ने दुई÷चार वयस्कहरूको बर्बराहट । समयले बेखबर नेटो काटे पनि सम्झनामा ताजै छन् रोटे र लिंगे पिंगमा मच्चिएर आफैँमा हराइरहेका युवायुवती र केटाकेटीको मुहारमा छचल्किएको खुसी; एकअर्कासँग शुभकामना पोस्टकार्ड आदान–प्रदान गर्न आतुर चुलबुले मनहरू; आकाशमा चंगासँगै विचरण गरिरहेका स्वच्छन्द, उन्मुक्त, कोमल हृदयहरू; नयाँ कपडाको मीठो सुवास अनि टीका र जमराले रातै पहेँलै भएको जगत; घरतिर भन्दा मामाघरतिरै तानिएको शिशु मन; अनि रेडियोमा गुन्जिरहने मालश्रीको सुमधुर धुन ।

सम्पूर्ण रूपले पूर्ण ती दसैँहरूको तुलना आजकलका दसैँहरूसँग कसरी गरौँ ? वास्तविक मानिने संसारको सुदूर पृष्ठभूमिमा कल्पना गरिने प्लेटो दर्शनको ’विचारको सर्वोत्तम’ संसारमा सायद त्यस्तै दसैँको परिकल्पना गरिएको हुँदो हो । यतातिर अहिले त दसैँ परम्पराको निरन्तरताको औपचारिकता बोकेर भित्रिन्छ अनि त्यसरी नै बिदा हुन्छ । अवसर उही, तर कति ठूलो भिन्नता अनुभूतिको ! जीवनबाट ओझेल भएर विलीन भइसकेका तिनै दसैँहरूको सम्झना गर्दै यस विजयादशमीमा पनि सबैमा हृदयभरिको मंगलमय शुभकामना ! दसैँपछिको दोस्रो ठूलो चाड भनिए पनि देउसी–भैलो, झण्डी–बूर्जा, आतिशबाजी, सेलरोटी र भाइटीकाले झंकृत गरेको बालापनको मेरो मनले तिहारलाई कहिल्यै दोस्रो मानेन ।

अँगेनाको कराइको तेलमा डुबेर उत्रिएको तातो सेलरोटीले चिल्लै बनाएका हात–मुख लिएर जूवाको नसामा लठ्ठिएर झण्डी–बूर्जाको खालमा दिनरात हराउनु, सबैलाई बाँड्दा आफ्नो भागमा मुस्किलले तीन÷चार रुपैयाँ पर्ने देउसी भैलोको लागि पटकाको बारूद गन्ध सुँघ्दै पूरा गाउँ घुमेर चीसा रातहरू छर्लंग काट्नु, दिदीबहिनीको स्नेही हातको तेलले टाउको छपक्क भिजाउनु अनि सयपत्री र मखमली मालाको मुलायम स्पर्शले पुलकित शरीर लच्काउँदै हिँड्नु, त्यस्ता थिए तत्क्षणको सम्पूर्णतामा चुर्लुम्म डुबेका निर्दोष बाल्यकालका तिहारहरू ! जिन्दगीका ती सपाट भोगाइहरू थिए, न विगतप्रति पश्चाताप थियो न त भविष्यप्रति चिन्ता । वर्षभरको अवधिपछि पुनः फर्की आउने उही तिहारको अर्थ पनि त अब फेरिएको छ । सबैमा आउँदै गरेको तिहारको पनि मंगलमय शुभकामना ! (बाल्टिमोर अमेरिका)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय