दूधको महत्व बुझाउन ‘छैटौं विश्व स्कुल दूध दिवस’ मनाइदैं

काठमाडौं । दूध पूर्ण आहार हो भन्ने कुरा बुझाउन तथा दूधको उपभोग बढाउने उद्देश्यले छैटौं विश्व स्कुल दूध दिवस कार्यक्रम आयोजना हुने भएको छ । नेपाल डेरी एसोसिएशनको आयोजनामा दूध दिवस कार्यक्रम हुने भएको हो । असोज १३ गते एसोसिएसनका सबै प्रदेश, जिल्ला, पालिका लगायत ठाउँमा विभिन्न कार्यक्रम गरि असाेज ११ गतेदेखि १३ गतेसम्म भब्य रुपमा मनाउन परिपत्र जारी गरिएको बताइएको छ । त्यस्तै, बागमती प्रदेशमा भने राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवको उपस्थितिमा काठमाडौंका विभिन्न विद्यालयमा बालबालिकालाई दूध सेवन गराई सरोकारवाला निकायको सहयोग र सहभागीतामा मनाईने कार्यक्रम तय गरिएको एसोसिएशनले जनाएको छ ।

दूधको महत्व जन्मेदेखि मर्दासम्म रहेको छ भन्ने कुरा बुझाउनको लागि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने एसोसिएसनले उल्लेख गरेको छ । कार्यक्रममार्फत बालबालिकादेखि वृद्ध वृद्धासम्मका लागि दूधको महत्वपूर्ण तथा दूधले बालबालिकाहरुको मष्तिस्क विकास, शारिरिक विकासमा महत्व राख्छ भन्ने बुझाउने बताइएको छ ।

एसोसिएनका अनुसार दूधलाई पूर्ण भोजनका रुपमा लिइन्छ । मानिसको जन्मने बेलाको प्रथम आहार दूध नै हो । जन्मेको ६ महिनासम्म मानिसलाई दुध मात्र दिइन्छ र दूध मानिसको जीवनको महत्वपुर्ण कुरा हो । जन्मेको दिनदेखि मर्ने बेलासम्म र मरिसकेपछि पनि हाम्रो संस्कारको लागि समेत दूधको आवश्यकता पर्दछ । विश्व इतिहास हेर्दा पनि जो जति विश्व प्रख्यात भए ती अधिकांश व्यक्ति शाकाहारी विशेष गरि दूध सेवनलाई महत्व दिने कुराको पुष्टि भईसकेको छ ।

दूध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । जापान, कोरिया र चीन जस्ता विकसित देशहरुमा बालबालिकाहरुलाई दूध सेवन अनिवार्य गरिएको छ । त्यस कारण त्यहाँका बालबालिकाहरुको दिमाग तेज छ र त विश्वमा हरेक कुरामा ती देशहरु आज अग्र पंक्तिमा छन् ।

विश्वमा कुनै पनि बालबालिकाहरुले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विगत २१ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउने गरेको तथ्यांक छ । यस वर्ष विश्वमा २१औं र नेपालमा छैटौं विश्व स्कुल दुध दिवस भव्यताका साथ मनाइने भएको छ । नेपालमा वि.सं. २०७३ सालदेखि नेपाल डेरी एसोसिएशनले पहिलो पटक शुरु गरेको थियो ।

हाम्रो देशको तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेकोले अब आगामी दिनहरुमा कम्तिमा बालबालिकाहरुको लागि मात्र भए पनि ९२ लिटर पुरयाउनु पर्ने अनिवार्यता देखिएकोले सरोकारवालाहरु यसमा लाग्नु पर्ने देखिन्छ । बालबालिकालाई दूधको महत्व बारे बताउँदै अनिवार्य दूध सेवन गर्न प्रेरित गर्नुपर्ने एसोसिएसनले जनाएको छ । दूधको बारे अभिभावकहरुले र शिक्षक शिक्षिकाहरुले पनि राम्रोसँग बुझेर सबै बालबालिकाहरुलाई दूध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्नेमा जोड दिइएको छ । विद्यार्थीहरुलाई दैनिक रुपमा दूध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा पनि शिक्षक शिक्षिकाको भुमिका महत्वपुर्ण हुनेछ । साथै विद्यालयले पनि दुध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई दुधको जानकारी सहित आग्रह गर्नुपर्नेमा एसोसिएसनको जोड छ ।

प्रतिक्रिया