मर्मस्पर्शी दशैं गीत

काठमाडौं । दर्जन चलचित्रमा अभिनय गरिसकेका अभिनेता दिनेश केसी र आशा केसीको स्वर रहेको दशैं गीत ‘परदेश बस्न मन छैन’ सार्वजनिक भएको छ । अमृत भारतीको शब्द तथा राजकुमार नेपालीको संगीत रहेको गीतको भिडियोमा चाडपर्वका बेला परदेशमा रहेका परदेशीको अवस्थालाई देखाइएको छ ।

चेतनाथ दंगालले निर्देशन गरेको भिडियोमा गाउँघर र परिवारको सम्झनालाई मर्मस्पर्शी ढंगबाट प्रस्तुत गरिएको छ । गीतको भिडियोमा दिनेश केसी, अभिनेत्री उषा खनाल, सरिता राजोपाध्याय, पुरुषोत्तम दंगाल लगायतका कलाकारको अभिनय छ । मदन कास्यप घिमिरेले छायांकन गरेको भिडियोको सम्पादन लिगेश भट्टराईले गरेका हुन् । ‘परदेशमा रहने नेपालीले दशैं, तिहारमा घरपरिवारलाई कसरी सम्झिन्छन्, गीतमार्फत मैले त्यही भाव प्रस्तुत गर्ने जमर्को गरेको हुँ, आशा छ गीतले दर्शक, स्रोताकोे मन छुनेछ,’ गायक केसीले भने ।

प्रतिक्रिया