नाडाको ४५ औँ वार्षिक साधारण सभा मसिंर २२ र २३ गते

काठमाडौं । नाडा मोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औँ वार्षिक साधारण सभा तथा निर्वाचन यहि मसिंर २२ र २३ गते हुने भएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ। नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशन समेत गठन गरिसकेको जनाएको छ ।

सो बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एशोसिएशनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्कसमेत हस्तान्तरण गरेको नाडाले जनाएको छ । नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्नेछन् । नाडाले गत भदौ २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।

प्रतिक्रिया