इजरायल जाने आवेदनमा २८ सय कागजात नक्कली

काठमाडौं । इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेस गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा करिव २ हजार ८ सय नक्कली आवेदन परेको पत्ता लगाएको हो ।
संसद्को उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले नक्कली आवेदन परेका जानकारी गराएका हुन् । महानिर्देशक काफ्लेका अनुसार ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका थिए । तर, परीक्षामा ७ हजार ९ जना मात्रै सहभागी हुन योग्य ठहरिएका थिए ।

आवेदकले प्रमाणपत्रहरू, उचाइ, तौल, शेक्षिक योग्यतालगायतका कुुरा स्वघोषणा गरी निवेदन दिएका थिए । तर, प्रमाणीकरणका क्रममा कागजातमा त्रुटि देखिएपछि रद्ध गरेको र अहिलेसम्म एक जना पनि आफ्नो आवेदन किन रद्ध भयो भनेर सोध्न नआएको उनको भनाइ थियो ।
यसले आफूहरूले नक्कली भनेर गरेको विश्लेषणसहितको प्रमाणीकरण ठीक थियो भन्ने देखाएको महानिर्देशक काफ्लेले बताएका छन । विभागका अनुसार गत २८ भदौमा भएको परीक्षामा ६ हजार ३ सय १७ जना परीक्षामा सहभागी भएका थिए भने कागजपत्र प्रमाणीकरण भएकामध्ये ६ ससय ९२ जना अनुपस्थित रहेका थिए । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियो ।

यसैगरी, उनले उत्तरपुस्तिकालाई चिकित्सा शिक्षा आयोगमा लगेर मेसिनले नै जाँच्ने प्रविधिको प्रयोग गरेर जाँच गरिएको बताए । ‘सचिवज्यू र इजरायलका राजदूतज्यूले पोको खोलिदिनुभएपछि रातभर लगाएर हामीले भोलिपल्ट १० बजेसम्म नतिजा तयार गरेका थियौं,’ उनले भने, ‘११ बजे हामीले परीक्षाफल प्रकाशित गरेका हाैं ।’

सो परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन् । भाषा परीक्षा पास भएकाहरूको अन्तर्वार्ता लिइनेछ । अन्तर्वार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ । छनोट भएकाहरूको सूची इजरायल सरकारलाई पठाइनेछ । इजरायलले सो सूचीबाट कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको छनोट गर्नेछ । छनोट प्रक्रिया सकिएपछि ७ सय महिला र ३ सय पुरुष इजरायल रोजगारका लागि जान पाउनेछन् । यसरी जाने नेपाली कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ । खानाको खर्च भने कामदार आफैंले गर्नुपर्नेछ ।

सुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७ सय रुपैयाँ बराबरको खर्च कामदार आफैंले बेहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ । इजरायल जाँदाको भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ । तर, बिमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने कामदारले नै तिर्नुपर्ने व्यवस्था छ । इजरायलमा नेपाली कामदार लैजानेगरी २०७७ सालको ८ माघमा दुई मुलुकबीच समझदारी भएको थियो ।

प्रतिक्रिया