नभेटिएको नाम

निशा सापकोटा

एकदिन अचानक ग्वार्काे चोकमा निशासँग भेट हुन्छ । बिर्सन नसकेको तर सम्झनामा राख्न नसक्ने केटीसँग । बोल्न शब्द फुर्दैनन । म मौन भएर एकोहोरो हेर्छु । उसले बोल्छे म सुन्न चाहान्न । मलाई कता कता अफ्ठ्यारो लागिरहेको छ । हस्याङफस्याङ गरेर एक मुठी कागज झिकेर उ मतिर तेर्साउँछे र केही नबोली नै जान्छे । बोलिरहने मान्छेलाई एक्कासी मौन देख्दा मलाई अवाक हुन्छ । त्यसपछि म कोठामा गएर ती पानाहरु हेर्छु । केही कथाजस्तो, केही चिठीजस्तो लाग्छ । लेख यसरी सुरु गरिएको थियो ।

प्रिय पात्रका लागि
अप्रिय गाथाहरुसँग प्रिय साथ र सँगालोको यो अनौठो कथा छ ।
“लकडाउन भएको पनि धेरै दिन भइसकेको थियो । घरमा बस्दाबस्दा दिक्क वाक्क लाग्ने । के गरेर बस्नु नाँचौ भने पनि आउँदैन । गाउँ भने पनि छरछिमेकी सबै भाग्लान् भन्ने डर । हात बाँधेरै कतिञ्जेल अडिने होला अब त हात पनि नचल्ने भइसके । शरीर अल्छी र आलस्यले अटेरी र अराजक भइसकेको थियो । अराजक यति कि भात पकाउनसम्म नमान्ने ।

काम थिएन । घरमा एक्लै थिएँ । शरीर एक्लै थियो । मनचाँहि दुई तीनवटा थियो । तिनै दुई तीनवटा मनसँग कुरा गरेर बसिरहेको हुन्थें । त्यत्ति कुराले २४ घण्टाको दिन कटाउन सारै गारो परिरहेको थियो । भौतिकरुपी मन बुझाउन एउटा मोबाइल थियो । मोबाइलभित्र केही समय व्यतित गर्नाका लागि फेसबुक थियो । फेसबुक चाँहि थियो घरमा नेट भने थिएन तैपनि बिकल्प थियो एनसेल र त्यसले दिएको फो–जि डाटा ।

फेसबुकमा समय बिताउन पनि कुरा गर्ने कोही हुनुपर्ने रहेछ । कोही थिएन । चिने नचिनेका केही मानिसको समूह भने पक्कै थियो नजिकको र मन मिल्ने भने कोही नाई । त्यसै पनि समाचार र फोटोहरु टाँसिएको फेसबुकको भित्ता त छँदै थियो त्यही घुमाउन मैले डाटा टन्नै तानेको हुन्थें । दिनभर गीत सुन्यो मोबाइलको स्क्रिनमा औँला घुमायो । दिनहरु चल्दै गए । रातहरु बित्दै गयो । त्यत्तिकैमा मेरो प्रेमिल मनले एक थान सपना र प्रेमरुपी आँखा भेटाएका थिए, फेसबुकमा !

अनलाइन भेट थियो । फेसबुकको वालमा औँलाको यात्रामा भेटिएका पात्र । एक प्रिय पात्र । जसले थोरै दिनमा छोटा दिनको लागि मन बुझ्ने प्रयास गर्नुभएको थियो । त्यो पहिलो पटक थियो । मैले पनि उहाँको मन बुझ्दै थिएँ । जति बुझे, बुझेको सही थियो या गलत जान्नका लागि मैले उहाँको प्रतिक्रिया पाउनुपर्छ जुन सम्भव छैन । न उहाँबाट, न मबाट ।

लकडाउनका सुरुको दिन थियो । कोरोना भाइरसका कारण बन्दाबन्दी चलिरहेको थियो । अफिस कलेज काम सबै थाती राखेर घरमा गुम्सनुपर्ने उर्दी जारी भएको थियो सरकारबाट । बाहिर निक्ल्यो भने कि भाटा खायो कि गाली । हुन त रोग डराउनुपर्ने नै थियो किनभने धेरैजनाको मृत्यु यस भाइरसका कारणले भयो भन्ने समाचारहरु प्रशस्तै सुन्न हेर्न पाइएको थियो ।

ठ्याक्कै मिति मलाई याद छैन तर फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । अपरिचित तर सुनुवाइमा प्रशस्त जानेको नामबाट । ‘विशाल नेपाल’ सुनेरै जानेको मान्छे मैले स्विकार गर्न कुनै हिचकिच गरिन् । अँ साँच्चै ! सुनेर जानेको कस्तो होला भन्ने लाग्ला तपाईलाई । खासमा मेरो दिदीले पहिलोपल्ट रक्षाबन्धन मनाएको उहाँको दाई हो । मैले दिदीकै मुखराविन्दबाट उहाँको तारिफ सुनेको हुँ । अब मेरो पनि दाई नसम्झनु होला म बताउँदै छु त्यतिञ्जेल आफ्नो सोच थाती राख्न सकिन्छ होला नि ?मेरो को हो भनेर जान्न कथा पढेपछि मात्र पाइन्छ । पढ्नुहुन्न भने रहस्य बन्नेछ । विचार गर्नुस् है नपढेका कथाहरुले कतै काउकुति लगाउँला !

फेरि पनि ठ्याक्कै भन्न सक्दिन म पहिलोपल्ट हाई भनेर बोलाएको दिन । अनि मैले रिप्लाई नगरेको दिन । तपाईहरु मैले इग्नोर गरेको सम्झँदै हुनुहुन्छ होला तर च्याटमा त्यत्ति एक्टिभ नहुने भएर हो रिप्लाई नगरेको । तर इग्नोर गरेको हैन भन्ने अवस्था पनि हैन किनकी मलाई थाहा थियो त्यो म्यासेज आएको । सिन गरेर नै रिप्लाई गरेको थिइन् अब तपाईहरु आफै बुझ्नुहोला त्यो इग्नोर हो या अरु केही ? किनकी त्यो के गरेको थिएँ मैले ? किन गरेको थिए ? यसको जवाफ मैले आफैलाई सोधेको प्रश्नबाट पनि पाउन सकेको छैन ।

दोस्रो दिन आयो फेरी हेल्लो भन्ने म्यासेज । उही मेरो वेवास्ता म्यासेजलाई छाडेर लागे म आफ्नो न्युजफिड घुमाउन, औँलाहरु नथाकुञ्जेल औँला घुमाइरहें । घरमा बसेको ५–६ दिन भइसकेपछि दिक्क लाग्न थालिसकेको थियो । तेस्रो दिन पनि म्यासेज आयो । मैले पनि एक क्षण भए पनि समय छिटो जाला भन्ने हेतुले रिप्लाई गरें “हाई” । उही मेरो रिप्लाइपछिका केही घटना मेरो यादका हिस्सा बनेका छन् । कथा छुटिनुको छ र पनि यादहरुले कहिल्यै रुवाएनन् । यही मेरो खुसीका केही अंश म सुनाउन चाहन्छु ।

म बोल्न सिपालु भनेर त भन्दिन तर जिस्किन जिस्काउन अहिलेको भाषामा फिल्रिट भन्छन् क्यारे ! मेरो भाषामा चाँहि जस्तालाई तस्तै उत्तर भन्छन् हो त्यही गर्न सिपालु थिएँ । ठाडो रुखो म केही जान्दिन वश कसैले केही सोध्छ भने उनीहरुको मुड अनुसारको उत्तर दिउँझै लाग्छ । त्यसै गर्छु पनि सबैसँग तर मेरो मुड हेरेर ।
पहिलो दिनः
‘सञ्चै छौ ?’ प्रश्न आयो ।
ठिक छु हजुरलाई के छ ?
म पनि ठिक छु अनि के गर्दैछौं ?
लकडाउन मनाउँदै अनि आफू ?
मलाई पनि दिक्क लागिसक्यो घरमा बस्दा बस्दा…
मलाई चिन्नु भ’को छ ?
ठ्याक्कै चिनेको छैन तर उषाको बहिनी है ?
हजुर !
मलाई चिनेको छौ ?
“मैले चाँहि नचिनेको मान्छेको रिक्वेस्ट एसेप्ट गर्ने गरेको छैन तपाईलाई चाँहि सुनेको छु दिदीले कुरा गरिरहनुहुन्थ्यो ।” मैले जवाफ दिएँ ।
पहिलो दिन यस्तैयस्तै कुरा गरियो… सकियो ! किन हो दाई भनिनछु । बेलुका सम्झन्छु । आफैलाई प्रश्न सोध्छु र पनि मैले उत्तर पाउन सकिन । त्यसै सोच्दासोच्दै निदाएछु ।
दोस्रो, तेस्रो, चौथो, पाँचौ दिन गरेर कति दिन कुराकानी हुँदै गयो ।
केही दिनको कुराकानीपछि ‘हाई’ उतैबाट आयो ।

सधै रमाइलो भएको थियो कुराकानी हाँस्न पनि खुबै पाइन्थ्यो । त्यस्तै अरुले जस्तै हामीले पनि आफ्नो, आफ्नो मनको देखि परिवारको अवस्थासम्मका कुराहरु गरी सिध्यायौं । दिनदिनै कुरा लम्बिँदै गएको थियो गन्तव्य नभएको बाटो जत्तिकै ।

सुनेर अचम्म लाग्न सक्छ । कुरै–कुरा गर्दागर्दै हामीहरु च्याट पूरैदिन र आधा रात गथ्र्याैं । मैले २ हप्तासम्म उहाँसँग दिनमा १८ घण्टासम्म च्याट गरेको छु, लेखेरै । भनिन्छ नि चिनी धेरै खायो भने तितो हुन्छ अरे ! म्यासेज लेख्नै अल्छी लाग्ने भइसकेको थियो । नबोली बस्न पनि नसक्ने अवस्थामा थियौं । अब नबोली बस्न नसकेपछि केही उपाय त खोज्नु नै थियो हामीले भिडियो कल रोज्यौ । फोन भनेपछि दिक्क लाग्ने म उहाँसँग नै हो भिडियो कलमा पहिलोपल्ट बोलेको ।

केही साथ हुन्छन् नजिक भएर पनि टाढा भएको हुन्छ । टाढा भएर पनि नजिक हुने कोहीकोही मात्र हुन्छन् । उहाँसँग कुरा गर्दा पनि मलाइ सधै त्यस्तै लाग्थ्यो कोही मेरो आफ्नै हो जो हराएर म जन्मेको १८ वर्षमा फेला पारेकी थिएँ । केही पारिवारिक माहोल नै हो झै हुन्थ्यो हरेक समय । हामीहरु एकअर्काको लागि निकै नजिक भइसकेका थियौ । त्यतिविधि लजाउने म भिडियो कलमा गीतहरु गाउँथे । उहाँले स्वर मिलाउनुहुन्थ्यो । म ताली बजाइदिन्थे ।
एकदिन को कुरा हो ।
कता छौं ? म्यासेज आयो ।
‘घरमा’ मैले भने ।
तिमीलाइ बोलाउने आँट सुरुमा कहाँबाट आएको सोध्दिनौं ? उहाँले भन्नुभयो ।
‘भन्नु न त’ मैले भनें
तिम्ले एउटा मिमि सेयर गरेकी थियौं याद छ ?
कुन ?
फन्नी ब्बोई आर बेटर देन ह्यान्डसम ब्बोई !
हा हा हा मेरो रिप्लाई यत्ति हो ।
त्यो पोस्ट नआएको भए सायद मैले तिमीसँग बोल्ने आँट गर्ने थिइन् । उहाँले भन्नु’भो !
म त्यत्तिसम्म एटिट्युड पनि देखाउँदिन ।
सुरुमा प्रोफाइल हेर्दा त बोलाउने आँट नै आएको थिएन ।
हो र ? त्यस्तो घमण्डी देखिन्छु है म ?
हैन क्या कति ठुलो मान्छेहरुजस्तै लेख्छ्यौ ।
हि हि त्यस्तो हैन होला । हस् अहिले निन्द्राले बोलायो सुत्छु गुडनाइट ।
उताबाट आयो गुडनाइट ह्याब र स्विट ड्रिम !
त्यसपछि म आँखा चिम्लिएर सोच्छु के साँच्चै ममा यस्ता गुण छन् कि मलाई खुसी पार्न मेरो झुटो तारिफ भइरहेको छ ? यो प्रश्नको उत्तर नपाउँदै मेरा आखा बन्द हुन्थे र खुल्दा उज्यालोसँगै नयाँ कुराहरु उदाउन थालिसकेको हुन्थ्यो ।

अस्ताएको सुर्य नयाँ बिहानीको नजिक नै हुन्छ त्यस्तै हाम्रो सम्बन्ध पनि दिनदिनै शब्दकै माध्यमबाट नजिक, झन नजिक भइरहेका थिए । यही नजिक हुने क्रममा धेरै भावना साटियो । धेरै सिक्रेट कुरा पनि गरियो । सिक्रेट भनेर फेरी तपाईहरुलाई सस्पेन्स पर्ला । उही टिनएजका कुराहरु क्या । लवका कुरा जुन परिवारलाई जानकारी गराइएको हुँदैन । अनि केही सपनाहरु ।

दिदीसँगको चिनजानले मेरो परिवारको स्थितिसँग उहाँलाई प्रशस्त जानकारी थियो । मैले खासै जानकारी दिइरहनु पर्दैन्थ्यो । तर मलाई उहाँको परिवारको बारेमा केही जानकारी मागेकी थिइन् । उहाँले बताउनुभएको थियो । यस्तो उस्तो सबै कुराहरु दिनचर्या सुनाउने हुँदा हामीहरु एक अनमेल अनन्त गहिरो सम्बन्धमा पुगिसकेका थियौं ।

साथी हैन साथीभन्दा केही हदमाथि अनि प्रेम हो त ? त्यो पनि हैन त्योभन्दा केही कम । अब त्योबिचको सम्बन्धलाई न कसैले कल्पना गर्न सक्छ न केही नाम दिन । त्यसैले हामी हराएका छौं उही नाम नभेटिएको सम्बन्धमा । एकपटक उहाँसँग कुरा गर्दा म महिनावारी भएको थिएँ । मलाई एकदम गाह्रो हुन्थ्यो ३–४ वटा पेनकिलर नखाइ हुँदै नहुने ।
उहाँले सोध्नुभयो के छ ?
मैले भने बिमारी छु । आज धेरै रिस उठ्छ गाली गरे भने नरिसाउनु ल ।
हुन्छ । हुन चाँहि के भएको ?
पेट दुःखेको ।
फिमेल प्रबलम हो ? तातो पानी खानु । काम नगर्नु । टेक कियर ।
कति सामान्य भएर बोलेको मलाई अचम्म लाग्यो । बोलेको त्यस्तै ३–४ दिन भएको हुँदो हो । म एकदम लजालु स्वभावको मान्छे थिएँ । अझ भनौ मेरो कष्ट मलाई कसैसँग पनि बाँड्न मन लाग्दैन । मलाई म एक्लै हो जस्तो लाग्छ ।

हुन पनि आजसम्म दुःखमा नहाँस्ने एकजना पनि भेटेको छैन । हाँस्नको कारण नै अरुको दुखाई हो दुनियाँको लागि त्यो बेलामा उहाँले सम्झाएको सुन्दा, उहाँको व्यवहार कियर देखेर आजसम्म ममीप्रति पनि शंका लाग्छ त्यत्ति माया गर्नुहुन्थ्यो कि हुँदैनथ्यो भनेर । उहाँको शब्द र शब्दको प्रयोग गर्ने तरिका नै त्यस्तो थियो सायद मन पग्लिएको थाहा नै नहुने ।

कोही कोही मानिस हुन्छन् जो आकाशमा देखाएर तारा झारिदिनेमा भरोसा राख्दैनन् जबकी उनीहरु खुसीको तारा दिएर खुसी पार्न खोज्छन् । झुटो हो या साँचो त्यो म जान्दिन तर उहाँको भावनामा मैले मलाई दिने खुसीको सपना त्यसरी नै सजिएको देखेको थिएँ ।

एकदम गम्भीर हँसिलो उहाँको व्यवहार एकदम सहज थियो नजिक हुनका लागि । जोकोहीले हामीले गरेका च्याट बुझ्दैनन । कुरा जतिसुकै गहन भए पनि उत्तर फन्नी हुन्थे । आजसम्म म सोच्छु अचम्म लाग्छ कति धेरै गम्भीर जिन्दगीका कुरा र भविष्यका गहिराइसम्म पुगेर कुरा गर्दा मैले सोच्न र दुःखी हुन परेन ।

उहाँको स्वभाव नै उस्तो थियो जस्तोसुकै अवस्थाको मानिसलाई पनि हँसाउन सक्ने । एक एक शब्दमा कस्को मुड कस्तो छ भनेर थाहा पाइदिनी । यही मुड जानेर कुरा गर्ने बानीप्रति नै हो म आकर्षण भएको पनि । सायद विरलै भेटिन्छ यस्ता मानिसहरु । धन्न म धन्य भएँ उहाँलाई भेटेर । हामीहरुको कुराकानी यति द्रुतगतिमा बढ्यो कि भेट्नेसम्मका कुरा भए । अझ भनौं म त च्याटमा नै रमाइरहेकी थिएँ । उहाँको भेट्ने चाहना तर मेरो पनि अलिअलि चाहनालाई लकडाउन तगारो बनेर बिचमा बसेको थियो । उहाँ र मेरो बसाईको दुरी त्यही ८ किलोमिटर जति टाढा थियो ।

भेट्ने सपना पनि लकडाउन खुल्ने आशालाई सुम्पेर हामी च्याटमा नै रमाउन थाल्यौं । कलमा रमाउन थाल्यौं । यस्तै यस्तै क्रममा हामीहरुको एकअर्काको नम्बर साटफेर भएको कुरा त भन्न भुसुक्कै बिर्सेछु । यसैगरी हाँसेरै रमाएर चल्यो केही समय ।

अनि लकडाउन खुलेपछि उहाँलाई पहिलोपल्ट भेटेको दिन सुनाउन चाहें । बाटोको त्यो अनौठो धुलोसँगको भेट मिठो लाग्छ मिठाइ भन्दा पनि मिठो । त्यो दिन अफिस गएकी थिएँ । अफिसमा सधै कुर्था लगाउनुपर्ने फेरी ज्यान नै कुपोषण लागेको भएर हो कुर्था लगाउन परेको पनि ।
अफिसमा खासै काम नहुने भएर च्याट गरेर बसें । कार्ड हुँदामात्र निस्किन पाउने भएर मचाँहि अफिस आउन पाएँ तर उहाँको त पसल थियो कार्ड थिएन । मलाई मज्जैले सरप्राइज दिउँझै लागेर उहाँको नागरिकताको फोटो मागें ।

पहिलोपल्ट इमान्दारितालाई लुकाउँदै मैले नक्कली कार्ड बनाएँ लुकेर । बेलुका ग्वार्काेको चोकमा भेट्ने कुरा भयो । एक अप्रत्यासिलो भेट जहाँ प्लान नै थिएन । यही प्लान हुँदो हो त म मेकअफ गरेर आउँथे होला या केही फरकता हुन्थ्यो । सेतो कुर्था निलो सुरुवाल र निलै सल ओढेर म अफिस आएकी थिएँ । दिउसो भेट्ने कुरा भएपछि मर्ला कतिबेला ५ बज्लाझैं भइरहेको थियो । पहिलो पटक सप्राइज दिँदै थिएँ भावनामा टाँसिएको मान्छेलाई ।

कुर्दाकुर्दा बल्ल घडीले ५ बजायो । म अफिसबाट निस्के । स्कुटरको गति ५० किमी थियो तर मेरो स्पिड ७० मा थियो । अब मेरो हतारो बुझाउन अरु के भनौं ? ग्वार्काे चोकमा पुगें । फोन लगाएँ र ब्यागबाट विशाल नेपाललको कार्ड निकाली हातमा राखे । फोटो लेराउन पहिल्यै भनिसकेको थिएँ । केही क्षणको पर्खाइपछि उहाँ आइपुग्नुभयो । कालो टिसर्ट, कालो ट्राउजरमा साधारण ठिक्क हाइट गोरो मान्छे आएको देखेर मलाई अचम्म लाग्यो ।

अचम्म लाग्नुको पनि कारण छ किनकी म सानै थिएँ । सानै भन्नाले कक्षा ९ मा पढ्थे । दिदी ११ मा पढ्दा जागिर खाएकी थिइ । उही अफिसको उसको दाई हो विशाल नेपाल । सधै बिशाल दाईले यस्तो गर्यो, बिशाल दाईले उस्तो भन्यो भनेर मलाई कथा सुनाइरहेकी हुन्थी । मेरो अचम्मको बानी थियो जसले जसको तारिफ गर्छ उसको चित्र मनमा कोरेर बसेको हुन्थें । उसले मलाई भनेअनुसार विशाल दाइको चित्र मैले काले होला, लम्बु होला, नबोल्ने लजाउने होला सोचेको थिएँ । तर भेट्दा ठ्याक्कै उल्टो रहेछ ।

एकअर्कालाई देखेर हामीहरु मुस्कुरायौं । उहाँ नजिकै आएर उभिनुभयो । मैले स्कुटरको सिट देखाउँदै बस्न अनुरोध गरें । उहाँ केही अपठ्यारो नमानी बस्नुभयो । सिटमा बसेर नर्मल कुराकानी भयो । मैले कार्ड दिए । उहाँ छक्क पर्नुभो । बदलामा मैले धेरै धन्यवादसहितको एकभारी खुसी भिरें ।

केहीबेरपछि हामी छुट्टिएर आफ्नो आफ्नो गुँडमा लाग्यौं । बाटोभरि सोचे सिम्पल ट्राउजरमा सुर्यझै चम्कने हँसिलो नमिलेको दाँत देखाएर हाँसेको अनुहार । उहाँले मेरोबारेमा के सोच्नुभयो यो मैले वास्ता गरिन् । त्यही बेलुकाको च्याटमा हामीहरुले एकअर्काको खुब तारिफ गर्यौं । त्यही प्रसंगमा उहाँले सुनाउनुभएको थियो उहाँको पूर्वप्रेमिका पनि उहाँलाई भेट्न सेतो कुर्था लगाएर आएकी थिइन् रे ! अनि एकपटक भेटेपछि फेरी पटकपटक भेट्न मन लागिरह्यो । दोस्रो भेट शंखमुल पार्कमा हो कि झैं लाग्छ । त्यसपछिका भेटहरु सबै याद छ तर कुन भेट कहिलेको हो भन्ने कुरा भुसुक्कै बिर्सिसकेँ ।

एकपटकको भेट अलिक गाढा छ । हामीहरु शंखपार्कमा गएका थियौं । कुरैकुरामा उहाँले खाजा खाएको छैन भनेर भन्नुभयो त्यसपछि हामी खाजा रेस्टुरेन्टमा गयौं । उहाँसँग म पहिलोपल्ट क्याफे गएको थिएँ । कुनै रेस्टुरेन्टमा गएर कोही केटासँग बसेको पहिलो अनुभव होला त्यो । उहाँले मःम खानुभयो मैले चिसो खाएँ । त्यो दिनको अनौठो भावना मैले शब्दमा भनेर सुनाउन सक्दिन ।

यसरी हामीहरुको आत्मियता मात्र हैन सामिप्यता पनि बढ्दो क्रममा थियो । सम्बन्ध त अगिनै सुनाइहाले साथीभन्दा माथि प्रेमभन्दा तल । केही समयपछि केहीदिन उहाँसँग कुराकानी भएन । मनमा कति धेरै छटपटी भए । हुन पनि सधै बोलिरहने मान्छे एक्कासी नबोल्दा त पापी मन न हो नानाभाँती सोचिहाल्ने । मलाई लाग्यो उहाँ बिरामी हुनुभयो होला भनेर । एकदिन कुराकानी हुन नपाउँदा पूरै दिन खल्लो हुन्थ्यो ।

त्यही बेलादेखि मैले जानेको हुँ प्यारो मोबाइल हैन मोबाइलभित्रका प्यारा पात्रहरु प्यारा हुन् । चिन्ता मोबाइलको हैन मोबाइलका पात्रहरु टाढिने को हो । यसैबीच म उहाँप्रति यति आकर्षित भइसकेकी थिएँ कि आफूलाई अस्विकार्ने हुँदा पनि उहाँको तर्क स्विकार्य लाग्थ्यो । हाम्रो कुरा नहुँदा बोलिराख्न मिल्ने एउटा बाहना थियो । ट्रथ, डियर गेम । एकदम भनेको मान्नैपर्ने सोधेको जवाफ दिनैपर्ने हुन्थ्यो ।
एकदिन को कुरा हो,
ट्रुथ कि डियर ? उताबाट म्यासेज आयो ।
डियर ठुलै हिम्मत गरेर मैले भने ।
मलाई तिम्रो घरमा लगेर आफै चिया बनाएर खुवाउँ
तिम्रो घरमा चिया खान जान्छु भन्दा त म झसँगै भएकी थिएँ । अचम्म लाग्यो । एकछिन रिस पनि उठ्यो किन जानुपरेको होला मेरो घर ? फेरी गेममा हारिसकें नलगे पनि नहुने । लान पनि मन थिएन तर दिदीले राम्रोसँग चिन्ने हुँदा मलाई त्यत्ति अपठ्यारो भने लागेन । कहिले जाने ? मैले भने भोलि उहाँको जवाफ आयो । भोलिपल्ट अफिसबाट घर जानेबेलामा उहाँलाइ पनि बोलाएँ । उहाँकै बाइकमा हामी लुभु गयौं ।

घरमा दिदी र भाइहरु मात्र हुनुहुन्थ्यो । ममी गाउँमा जानुभएको थियो । दिदीकै दाई बनाएर मैले उहाँलाई घरमा लगेर चिया खुवाएँ । यहाँसम्म पढ्दा तपाईहरुलाई म अनौठो लाग्यो होला । दिदीले दाईभन्दा भन्दै किन दाई नभनेकी होला ? मलाई पनि किन भनिन् भन्ने पटक्कै थाहा छैन ।
यसैगरी दोस्तीको क्रममा उहाँले एकदिन मलाई प्रेम प्रस्ताव राख्नुभयो । कुन्नि के सोचेर हो त्यो त म जान्दिन तर उहाँको त्यो प्रस्ताव मलाई एकदमै राम्रो लाग्यो तर स्विकार्य लागेन ।

मलाई थाहा छ म यहाँनिर एकदमै झुटको पर्दामा थिएँ । मलाई मेरो सोचको राज्यबाट पटक्कै बाहिर निस्कन मन लागेन । उहाँलाई मैल्ने भ्रममा राखेको थिएँ योबेलामा किनकी त्यो सत्य उहाँलाई जानकारी गराउन म असमर्थ थिएँ । मेरो चरित्रमाथिको सवाल थियो । उहाँको प्रेम प्रस्ताव जब आएको थियो म एकजना साथीलाई ठुलै आश दिएर राखेकी थिएँ । खै साथी भनौ उसलाई वा प्रेमी ? हामी बेस्ट फ्रेन्ड थियौं ।

उ र मेरो साथ धेरै गाढा पनि थियो । एकअर्कालाई नबुझे पनि हामीहरुले बुझ्ने प्रयास गरेका थियौं । उसले मलाई बाँधेको थियो उसका प्रस्तावमा । म बाध्य थिएँ बाँधिन पनि किनकी मैले कहिल्यै सोचिन मेरो भावना पनि जरुरी हुन्छ सम्बन्धका लागि भनेर । मलाई थाहा थियो त्यो समय म गलत थिएँ किनकी म उसलाई दुःखी देख्न सक्दिन थिएँ । उसलाई खुसी दिनकै लागि मैले मेरो भावना लुकाउन खोजेको थिएँ ।

सायद त्यो मेरो कम्प्रमाइज थियो होला एज ए टेम्पोररी गर्लफ्रेन्ड भएर म बसेको थिएँ । यदि मैल्ो भावना जमाउन सके सम्बन्ध अगाडि बढ्ने नत्र क्यान्सिल हुने हामी दुईको सम्झौता थियो त्यही समय भएर मैले उहाँलाई नो भनेको थिएँ । किन राम्रो लागेन भन्ने कुरामा मलाई जानकारी छैन तर मैले त्यस्ता सम्बन्ध राख्ने कुराहरु सोचेकै थिइन् । विवाहका कुराहरु सुन्दा त सातो जान्थ्यो किनकी एकपटक नराम्रोसँग हार खाइसकेकी थिएँ यो मायाको खेलबाट ।

मेरो प्रस्तावको अस्विकारपछि हामीहरुबिचको सामिप्यता, आत्मियता पातलिँदै गयो । मलाई सम्बन्ध नचाहिएको उहाँलाई आफ्नो नामको तोक लगाउनुपरेको कुरै मिलेन । मैले पनि रेगुलर कुरा गर्न छाडिदिएँ । उहाँ पनि खासै चासो देखाउन छाड्नुभयो । यसरी हामीहरु अब दिनदिनै बोल्न छाडेर हप्तामा वा महिनामा मात्र बोल्न थाल्यौं ।

केही समयपछि हामीले कुराकानी गर्यौ । अन्तिम भेट गर्ने सल्लाह गर्याैं । पाइलट बाबा भन्ने ठाउँमा हामीहरु घुम्न जाने भएका थियौं । उहाँ लुभु आउनुभयो । घरमा केहीबेर बसेपछि हामीहरु पाइलट बाबाको गन्तव्यतिर निस्कियौं ।
मैले भने : जान सकिन्न जस्तो छ ।
किन ?
बाटो हेर्नु न कस्तो चिप्लो ?
जान्छ नडराउन न । म लान्छु ।
उही हिलोबाट हामीहरु गइरहेका थियौं । उकालो र चिप्लो चिम्टाइलो माटोको हिलो बाइक कसरी गुडोस् ?
बल्लबल्ल हिलोबाट माथिसम्म पुगेको के थियो अर्कै जंगलको बाटो परेछ । एकजना अन्टीलाई सोधेको त तलतिरको बाटो जानुपर्ने माथितिर आइएछ ।
ला अब कसरी फर्किने ? मैले भने ।
उताबाट जवाफ आएन
बाइकलाई धकेल्दै पेल्दै समात्दै बल्लबल्ल हिलोबाट निकालेर अर्काे बाटो गइयो । त्यो बखत कष्टकर थियो तर अचेल सम्झिँदा निकै हाँसो उठ्छ । पछि तल्लो बाटो पनि हराइयो । बाटो खोज्दा र सोध्दा गरेर बल्लबल्ल गएका थियौं । हामी पनि हरायौं । हाम्रो पाइलट बाबा पनि हरायो । थकित भएर बस्ने एउटा चउरी फेला पर्यो । राम्रो हरियो चउरीमा गएर बस्यौं । त्यो त पाइलट बाबाभन्दा पनि रमाइलो थियो गल्फ खेल्ने चउर । मलाई चाँहि निकै खुसी लाग्यो उहाँले के सोच्नुभयो मैले सोधिन् ।
बसेर चाउचाउ, बिस्कुट र जुस खाँदै हाम्रो कुराकानी हुँदै थियो ।
मैले भने : मलाई तपाईको साथ प्यारो लाग्छ ।
उहाँ भन्नुभो : मलाई पनि ।
मैले भने : आज हाम्रो लास्ट भेट ।
निराश भएर उहाँले भन्नुभो : थाहा छ मानिस सबैको अगाडि हाँस्छ तर सबैको अगाडि रुन सक्दैन नि । रुन उही विशेष मुटुमा टेकेको मानिसमात्र चाहिन्छ । यसो भन्दै गर्दा उहाँको आँखामा आँसु छचल्किएको थियो । म भावुक धेरै नै भएको थिएँ तर ती सबै भावनालाई आफूभित्रै लुकाएँ । सेतीले पानी लुकाएझै गरी । मैले आजसम्म त्यत्ति दुःखी कसैलाई बनाएको थिइन् । आज पनि त्यो पल सम्झेर बारम्बार माफी मागिरहेको हुन्छु मनमनै ।

त्यसपछि हामीहरुले हामी दुवैका भावना दबाएर निकै टाढा भयौं । उहाँले मलाई इन्टरनेट वा मोबाइलको सहायताले हुनसक्ने सबै कुराकानीबाट टाढा राख्नुभयो । मैले उहाँको ब्लक वा अनफलोलाई सहजै स्विकारे । तर जब हामी छुट्टिदै थियौं उहाँको जन्मदिन नजिक आउँदै थियो । मेरो बर्थ डे मा उहाँले १२ बजे उठेर विस गर्नुभएको थियो मैले त्यही रिन तिर्नका लागि उहाँलाई बहिनीको फेसबुक खोलेर एड गरें । सिधै जन्मदिनको १२ बजे विस गरेर फेरी मैले ब्लक गरिदिएँ ।

मलाई कसैको केही पनि उधारोमा राख्न मन पर्दैन । चाहे दोस्ती होस् कि प्रेम दुवैको हक अधिकारी माया सम्मान बराबर हुनुपर्छ भन्ने सोच थियो । त्यसैले मैले उहाँलाई बहिनीको फेसबुक मागेर विस गरेको थिएँ रातीको १२ बजे नै । त्योबेलामा लागेको थियो सबै भावनात्मक ऋण उहाँको चुक्ता गरे भनेर तर अहिले सोच्दा लाग्छ उहाँको माया मैले कहिल्यै फिर्ता गरिन् ।

त्यसपछि हामीहरुको सामिप्यता सायद अन्त्य भएको हुँदो हो र हामी फेरी अपरिचित भएका थियौं । कुराकानी नभएको धेरै समय भइसकेको थियो । उहाँको एकदिन म्यासेज आयो । कुराकानी गर्दै जाँदा थाहा पाएँ उहाँको प्रेम सफल भएछ । मसँग हैन अरु कोहीसँग…. एउटी आकाशको तारा छाडेको मैले त जुन भेट्टाए भन्ने भावले उहाँले मलाई सुनाउनुभयो ।

मैले सुने तर ईष्या, डाहा, छटपट केही भएन मलाई झन् आनन्द पो आयो । अब उहाँ पनि खुसी हुनुहुने’भो । उहाँ पहिला पहिला भन्नुहुन्थ्यो म कोही एकजनासँग बोल्न थालेपछि अरु कोहीसँग बोल्दिन । उहाँको सम्बन्ध अरु कसैसँग हुँदा पनि मसँग कुरा गर्नुभयो । त्यो उहाँको मप्रतिको सद्भाव हुनुपर्छ । मैले गर्दा उहाँको सम्बन्धमा अपठ्यारो होला भनेर म सकेसम्म टाढा हुन खोज्थे । मलाई थाहा थियो विछोड हुँदा सहने तरिका । तर उहाँलाई दुःखी देख्न सक्दिनथें । उहाँको प्रेमिका पनि मसँग फेसबुकमा फ्रेन्ड हुनुहुन्थ्यो । उतैबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो ।
म्यासेज पनि पहिलोपल्ट उतैबाट आयो ।
हेलो
मैले हाई भनिदिएँ ।
उहाँले भन्नु’भो सरी
किन ?
तपाई र विशालको बिचमा म आएँ । उहाँ तपाईकै कुरा गर्नुहुन्छ । मैले उहाँलाई खुसी दिन सकेको थिइन् । किनकी म उहाँको कोही हैन ।
हजुर ? केही नबुझेझै गरी उताबाट म्यासेज आयो । म र उहाँ साथीमात्र हो । पहिला कुरा हुन्थ्यो तर आजकल हुँदैन । तपाई दुईको बिचमा म आएको हुँला सरी तर मेरो गल्ती छैन । उहाँले दयाले हि डिजर्भ यु भनेझै गर्नुभएको थियो ।

मलाई उहाँसँग प्रेम या दिलचस्पी छैन मैले बताइदिएँ । त्यसपछि म निदाएँ । निन्द्राको तालमा मैले के बोले भन्ने लागेर बिहानै उठेर म्यासेज हेरेँ उहाँले पनि ब्लक गर्नुभएको थियो । म ढुक्क भएँ । त्यसपछि हाम्रो कुराकानी हुँदैन । उहाँ बोल्न खोज्दा पनि मलाई म आफू तगारो भएझै लाग्छ । मलाई उहाँले मन दोधार हुन्छ तिमीसँग बोल्न थालेपछि आफ्नो प्रेमिकालाई धोका हुन्छ भनेर ब्लक गरिदिनुभयो । म केही असहज र खुलदुली मन लिएर टारेँ । दुःख मलाई असाध्यै लागेको थियो तर के गर्नसक्थे ।

सायद गल्ती मेरो थियो, उहाँलाई अपनाउन नसक्नु भनेर मन बुझाउँथे । बल्ल मेरो एक्लोपनमा आफै रमाउन सिकेकी थिएँ । फेरी उहाँको म्यासेज आयो । रिप्लाई नगरी म बस्न सकिन । नर्मल भएर फेरी सबै कुराहरु भयो अनि फेरी भोलिपल्ट हेर्दा ब्लक भएछु यस्तो दुई तीन पटकसम्म भयो । म सहेरै बोलिदिन्छु जबकी मलाई थाहा छ फेरी ब्लक हुनुछ भनेर ।

आज पनि दिदीले फेसबुक खोलेर देखाउनुहुन्छ मेरो प्रिय पात्रको स्टोरीमा उहाँकी भाग्यमानी प्रेमिकाको तस्बिर सजिएको हुन्छ । म हेर्छु, खुसी पनि हुन्न दुःखी हुन पनि मन लाग्दैन । लाग्छ सायद ढिला गर्यो नियतिले छुट्याउने समय बरु नभेटाएकै भएँ हुन्थ्यो । यो सोच्नु नि गलत हो किनकी मलाई एक असल मित्र मात्र चाहिएको थियो अनि उहाँलाई प्रेमिका ।

म यति आशावादी छु कि मैले सम्झे जतिका पललाई शब्दमा समेलेर एउटा लेख तयार पारेकी छु । त्यो खेस्रा प्रिन्ट गरेर सधै साथमा बोकेर हिँडेकी हुन्छु । हाम्रो बिछोडको अप्रियताको प्रिय पात्रसँग सायद को–इन्सिडेन्स भेट भयो भने दिन्छु जो मेरो दोस्रो उपहार हुनेछ । निशा सापकोटा यति पढिसक्दा मेरो आँखाभरी आँसु र मनभरी विगतमा सम्झना मडारिन थाल्यो ।

मैले ढल्केर र सोचेर त्यो रात बिताएँ । मेरो माया, उप्रतिको लगाव सबै कुरा फेरी पनि मेरो दिमागमा ताजा बन्यो । भनौं मेरो खाटो बस्न लागेको मनको घाउ फेरी पलायो । उज्यालो भयो । त्यसपछि उठेर मुख धोएँ र कामतिर लागेँ । त्यसपछि लाग्यो जतिसुकै खुसी र दुःखी भएता पनि समय अडिदैंन । हामीले श्वास फेर्न छाड्दैनौं । त्यसैले सहनु नै जिन्दगी हो । त्योभन्दा धेरै जिन्दगीको परिभाषा सबैको सोच सोचमा विकास होलान् तर मेरा लागि जिन्दगी एक यस्तो भोगाइ र अनुभव हो जुन सिकाइ हुनेछ ।

प्रतिक्रिया