कोलकाता सानदार जित

दोहा । युवा ब्याटर वेंकटश ऐर र राहुल त्रिपाठीको उत्कृष्ट ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३४ औं खेलमा मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै कोलकाता चौथो स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १५.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाता जितमा राहुल त्रिपाठीले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा ८ चौका र ३ छक्का सहित ७४ रनमा अविजित रहे । आक्रामक सुरुवात दिलाएका युवा ब्याटर ऐरले ३० बलमा ४ चौका र ३ छक्का सहित ५३ रन बनाउँदै आउट भए ।

यो उनको आइपिएल करिअरको दोस्रो खेलमै पहिलो अर्धशतक हो । कोलकातालाई सुभमन गिल र ऐरले पहिलो विकेटका लागि ३ ओभरमा ४० रनको आक्रामक सुरुवात दिलाएका थिए । गिल ९ बलमा १ चौका र १ छक्का सहित १३ रनमा आउट भए । दोस्रो विकेटका लागि ऐर र त्रिपाठीले ५२ बलमा ८८ रनको उत्कृष्ट साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए ।

कप्तान ओईन मोर्गन ७ रनमा आउट भए । मुम्बईका जस्प्रित बुमराहले ३ विकेट लिए । त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । मुम्बईका ओपनर क्विन्टन डि ककले ४२ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिएका थिए ।

मुम्बईलाई ओपनर रोहित शर्मा र डि ककले पहिलो विकेटका लागि ९.२ ओभरमा ७८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर सुनिल नारायणले रोहितलाई सुभमन गिलबाट ३३ रनमा क्याच आउट गर्दै उक्त साझेदारी तोडेका थिए ।

रोहितले ३० बलमा ४ चौका प्रहार गरे । प्रसिद्ध कृष्णको १३ औं ओभरको पहिलो बलमा नारायणबाट डि कक समातिन पुगेका थिए । १५ औं ओभरको पाँचौं बलमा सूर्यकुमार यादवलाई कृष्णले ५ रनमा क्याच आउट गराए । ईशान किशन १३ बलमा १ छक्का सहित १५ रनमा आउट भए । अलराउन्डर काइरन पोलार्ड १५ बलमा २ चौका र १ छक्का सहित २१ रनमा रन आउट भए । क्रुनाल पान्ड्याले ९ बलमा १ छक्का सहित १२ रन बनाए ।
कोलकाता प्रसिद्ध कृष्णले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सुनिल नारायणको नाममा एक विकेट रह्यो ।

प्रतिक्रिया