‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह’ लाई मदन र थापालाई जगदम्बाश्री

काठमाडौं । भगिराज इङ्नामको ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह’ लाई २०७७ सालको मदन पुरस्कार र जगदम्बाश्री नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्तिमार्फत मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार सार्वजनिक गरेका छन् । नेपाली इतिहासमा प्राथमिक सामग्रीहरूको संकलन र पहुँचलाई विस्तार गरेकाले इङ्नामद्वारा लिखित ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह (सम्वत् १७१९–२०२०)’ लाई मदन पुरस्कार दिने निर्णय गरिएको जनाइएको छ ।

मदन पुरस्कार २०७७ सालको छनोट सूचीमा उक्त संग्रहसँगै एकलव्यको देब्रे हात, करिया, कल्प–ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि र रमिते गरी ९ वटा कृति परेका थिए । नेपालमा विगत सात दशकदेखि नृत्य विधामा काम गर्दै आएका अध्येता थापाले ‘नृत्याक्षर विज्ञान’ ग्रन्थ प्रकाशन गरेका छन् । उनको यो कृतिमा नृत्यको व्याकरण रहेको छ । लामो समयदेखि नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत् यस क्षेत्रमा योगदान दिएका भैरवबहादुर थापालाई ०७७ सालको जगदम्बाश्री दिने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । गतवर्षको मदन पुरस्कार साहित्यकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित उपन्यास ‘महारानी’ ले पाएको थियो । त्यस्तै, जगदम्बाश्री सम्मान गायिका शान्ति ठटाललाई दिइएको थियो । यी दुवै पुरस्कारको राशि चार÷चार लाख रुपैयाँ रहेको छ ।

मदन पुरस्कार गुठी २०१२ सालमा स्थापना भए पनि पहिलोपल्ट २०१३ सालदेखि मदन पुरस्कार दिन थालेको हो । सर्वप्रथम २०१३ सालमा गद्यविधामा सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’, चितरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा बलराम जोशीको ‘अधिकविभक स्थिरविद्युत् उत्पादक’ लाई उक्त पुरस्कार दिइएको थियो । यसैगरी, गुठीले ०४५ सालदेखि जगदम्बाश्री पुरस्कार प्रदान गर्न थालेको हो । जगदम्बाश्री पुरस्कारबाट पहिलोपटक गायक तथा संगीतकार नारायणगोपाल पुरस्कृत भएका थिए ।

प्रतिक्रिया