गीत ‘चट्ट माया’ सार्वजनिक

काठमाडौं । विदेशमा रहेर शब्द रचना र संगीत भरिएको गीत ‘चट्ट माया’ सार्वजनिक भएको छ । लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा र गायिका समिक्षा अधिकारीले आवाज दिएको गीत शुक्रबार (आज) राजधानीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।

रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका भावना पराजुली (बस्ताकोटी) र कल्पना लम्सालले शब्द लेखेको उक्त गीतमा अष्ट्रेलियामै रहेका गोविन्द भण्डारीले संगीत भरेका हुन् । गीतको विमोचन प्रमुख अतिथिको रुपमा सहभागी भएका गायक एवं संगीतकार बिबी अनुरागीले गरेका थिए ।

गीतको विमोचन गर्दै गीतकार अनुरागीले ‘चट्ट माया’ को शब्द र भिडियो पनि उत्कृष्ट रहेको प्रतिक्रिया दिए । साथै, उनले गीतको भ्युज तान्नेतर्फ लाग्नुभन्दा त्यहाँ कस्ता शब्द प्रयोग गरेर मौलिताको गरिमा बढाउनेतर्फ गायक गायिका र सर्जकले ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा सहभागी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव शिव हमालले उक्त गीतको प्रशंसा गर्दै पछिल्लो समय केही कलाकार आफ्नो गीतले कसरी डलर झर्न सक्छ भन्दै नेपाली मौलिक लोक संस्कृतिलाई धमिल्याएको धारणा राखे ।

गायक कुलेन्द्र विश्वकर्माले विदेशी भूमिबाटै गीत सिर्जना गरेर आफूलाई गीत गाउन अवसर दिएकोमा रचनाकारलाई धन्यवाद दिए । उक्त गीतका संगीतकार गोविन्द भण्डारीले आफूहरु विदेशमा रहे पनि नेपाली पहिचान र गीत संगीतलाई निरन्तरता दिनेतर्फ लागेको बताए ।

साथै, उनले यसभन्दा अगाडि पनि केही गीत बजारमा ल्याइसकेको जानकारी दिए । प्रिज्म स्टुडियोमा गरिएको उक्त गीतमा कृष्ण बिकले संगीत संयोजन गरेका हुन् । त्यस्तै भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा आफैं र मोडल रञ्जिता गुरुङले अभिनय गरेका छन् ।

प्रेम थापाले निर्देशन गरेको भिडियोलाई करन चैसिरको छायांकन रहेको छ भने नविन घर्तीमगरले सम्पादन गरेका हुन् । भावना इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया