पर्यटन व्यवसायीमाथि प्रहरीको गिद्देदृष्टि

बिमान लिम्बु

सानो क्षेत्र ठमेलमा करिब ६ हजार होटल रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बन्धित व्यवसाय छन् । जहाँ डेढ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । घरभाडाका दृष्टिले विश्वका महँगो सहरहरूसँग ठमेललाई तुलना गर्ने गरिन्छ । पर्यटन व्यवसायी शिथिल भएको बेलामा पनि नेपाल प्रहरीको गिद्देदृष्टि जारी रहनु झन् ठूलो दुर्भाग्य हो । यस्तो संकटको बेला हप्ता असुली गर्न त लाज लाग्नुपर्ने हो ।

यतिखेर कोरोनाको कारण ठमेलका पर्यटन व्यवसायी महँगो भाडामा लिइएका खाली घर कुरेर बस्न बाध्य छन् । विदेशी पर्यटक आउन ठप्प भएको ठ्याक्कै दुई वर्ष भयो । कूटनीतिक नियोगमा काम गर्ने विदेशीसमेत ठमेल घुम्न आउन छाडिसके । अब सरकारले पर्यटन व्यवसायीलाई के राहतको प्याकेज देला र यी पर्यटन व्यवसायीको लगानी सुरक्षा गर्ला ? कर घरभाडा छुट दिने कुरा चले पनि केवल नारामै सीमित छ । ठमेलका पर्यटन व्यवसायीहरू र घरधनीहरूको पहलमा ५० प्रतिशत घरभाडा छुट दिने सहमति भएको थियो । तर सकारले सहयोग नगर्दा यो सहमति पनि कार्यान्वयन हुन सकेको छैन । बेरोजगार हुन पुगेका कारण घरभाडासमेत तिर्न नसक्ने अवस्था उत्पन्न भएपछि पर्यटन व्यवसायी ठमेलबाट भागेर अन्यत्र क्षेत्रमा लगानी गर्ने सोचमा पुगिसके ।

कोरोना भाइरसको संक्रमण फैलिनु अगाडि ठमेल नेपालको सबैभन्दा गुल्जार पर्यटकीय बजार थियो । ठमेललाई विश्वस्तरीय पर्यटकीय बजारका रूपमा लिइन्थ्यो । स्वदेशी विदेशी पर्यटकको मुख्य आकर्षण केन्द्र, ठमेल क्षेत्र राज्यलाई बढी राजस्व तिर्ने ठाउँ हो । ठमेलमा होटेल, लज, रेस्टुरेन्ट र अन्य पर्यटन पूर्वाधार तयार पार्न खर्बाैं रुपैयाँ लगानी भइसकेको छ । सानो क्षेत्र ठमेलमा करिब ६ हजार होटल रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बन्धित व्यवसाय छन् । जहाँ डेढ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । घरभाडाका दृष्टिले विश्वका महँगो सहरहरूसँग ठमेललाई तुलना गर्ने गरिन्छ ।

पर्यटन व्यवसायी शिथिल भएको बेलामा पनि नेपाल प्रहरीको गिद्धेदृष्टि जारी रहनु झन् ठूलो दुर्भाग्य हो । यस्तो संकटको बेला हप्ता असुली गर्न त लाज लाग्नुपर्ने हो । अबैध रूपमा लागू औषध बेच्ने, जवरजस्ती माग्ने, लुटपाट गर्ने र अन्य अवाञ्छित काम गर्नेहरूलाई प्रहरीले पक्रन सक्दैन कि, पक्रन चाहँदैन ? भन्ने प्रश्न यथावत छ । तर, सोझो तरिकाले दालभात, नास्ता बेच्न र लज चलाउने व्यवसायीहरूलाई प्रहरीले अनेक प्रकारका निगरानी गरी सोधपुछ गर्ने प्रवृत्ति यथावत छ । स्वतन्त्र रूपमा व्यापार गरेर जीविका चलाउने व्यवसायीलाई सताउने गर्नाले निराशा बढेको छ । कोठा बुकिङ गरेर बसेका यात्रुलाई बढी शंकाको दृष्टिले हेर्ने र कुसमयमा छापा मार्ने प्रहरीको व्यवहारले एक÷दुई जना पर्यटक आए पनि डराइडराइ बस्नुपर्ने बाध्यता छ । प्रहरीको काम त शान्ति सुरक्षा दिने हो । ठमेलमा कार्यरत प्रहरीको व्यवहार आतंकवादी छ । जीविका चलाउन ठमेलका केही पर्यटन व्यवसायीले व्यापारका स्वरूप बदल्न थालेका छन् । व्यवसायीलाई यतिखेर भाडा कसरी तिरुँ र ठाउँ ओगटी राखुँ भन्ने छ । ऋणमा व्यापार व्यवसायी गर्दै आएकालाई ऋणको किस्ता र व्याज तिर्न समस्या छ । घरबेटीले यस्तो अवस्थामा पनि पुरै भाडाको आश राख्छन् । ठमेलमा सानातिना काम गर्ने, पसल चलाउने, वेटर, गाइड अन्य पर्यटन व्यवसायी रुनु न हाँस्नु स्थितिमा छन् । पर्यटन व्यवसायीका यी पीडा कसले सुन्ने ? कसले समाधान गर्ने ?

ठमेल क्षेत्र ८० प्रतिशत वाह्य पर्यटक र २० प्रतिशत आन्तरिक पर्यटकहरूले गुल्जार बनेको हो । निषेधाज्ञा खुकुलो हुँदै गएपछि आन्तरिक पर्यटन बढ्ने अपेक्षा गरिएको थियो । आन्तरिक पर्यटक बढाउन नेपालीको आर्थिक अवस्थाले धान्न सक्ने उत्पादन तथा सेवा उपलब्ध गराउने प्याकेज पर्यटन व्यवसायीले ल्याएका पनि थिए । आन्तरिक पर्यटकका लागि सर्वसुलभ प्याकेज आइसकेको अवस्थामा काठमाडौं उपत्यकाका प्रमख जिल्ला अधिकारीहरूले कुरा नबुझेका हुन् या जानजान थप खाडलमा हाल्ने रणनीति लिएका हुन् केही बुझ्न सकिएन । बेलुका आठ बजेपछि मात्रै कोराना एकाएक सक्रीय हुने पक्कै पनि होइन होला । राती आठ बजेपछि भिडभाड स्वतः कम हुन्छ । तर, सिडिओ सापहरूले बेलुका ८ बजेपछि सवारी साधनमाथि प्रतिबन्ध लगाउने उल्टो कदम चाल्नुभयो । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा ६ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । यो यथार्थतालाई सिडिओ सापहरूले बुझ्नुपर्ने होइन ?

अब त विकसित मुलुकहरूका ८० प्रतिशतले कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेका छन् । भ्याक्सिन लगाएका पर्यटकलाई सिधै आउन दिने नीति कतिपय देशले ल्याइसकेका छन् । नेपालले पनि यो नीति ल्याउनेहरू भने विदेशी पर्यटकहरूको संख्या ह्वात्तै बढ्छ । दुवै डोज भ्याक्सिन लगाएका विदेशी पर्यटक क्वारेन्टाइनमा नबसी आफ्नो गन्तव्यमा जानसके भने पर्यटन क्षेत्र अगस्ट, सेप्टेम्बरदेखि पुनः पुरानै लयमा आउन सक्छ । कहिलेबाट क्वारेन्टाइन हट्छ, स्वास्थ्य अवस्था कस्तो छ, स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ÷छैन, ट्रेकिङमा जान सकिने अवस्था छ÷छैन लगायत विषयमा जिज्ञासा राखेर इमेल पठाउने पर्यटकहरूको संख्या उल्लेख्य छ । गतवर्षको मौद्रिक नीतिमा पर्यटन व्यवसायीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गरे पनि सोही ऋण पहुँचवाला व्यवसायीको हातमा मात्र पुग्यो । अबको मौद्रिक नीतिमा यस्तो नहोस् भनेर पर्यटन व्यवसायीहरूले सरकारसँग हारगुहार गरे । तर, यसपटकको मौद्रिक नीतिले पनि पर्यटन व्यवसायीलाई राहत दिने संभावना देखिएन ।

ठमेल काठमाडौँ महानगरपालिकाको वडा–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा–२६ मा पर्दछ । नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । वार्षिक अर्बौंको कारोवार हुने ठमेललाई नबचाउने हो भने नेपालको पर्यटन व्यवसाय बाँच्न सक्दैन । संघीय सरकार र प्रदेश सरकारमा रहेका नीति निर्माताहरूको त दृष्टिकोण पुगेन पुगेन, स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरूको पनि दृष्टिकोण पुगेको देखिँदैन । काठमाडौं महानगरपालिका र वडा–१६, १७, २६ र २७ ले पर्यटन व्यवसायमा लाग्ने कर र घरबहाल करमा छुट दिने नीति अगाडि ल्याउने अपेक्षा गरिएको थियो । तर, गफ र आस्वासनमै सीमित रहने भएको छ । स्थानीय जनप्रतिनिधिहरूले कम्तिमा पनि ठमेलका पर्यटन व्यवसायीसँग अन्तरक्रिया गर्नुपर्ने थियो ।

पर्यटकले उपहारका रूपमा किन्ने गरेका हस्तकलाका सामग्रीको बिक्री ठप्पसरह भएपछि अहिले यस्ता सामग्री उत्पादन गर्ने उद्योगहरू सुस्ताएका छन् । हस्तकलाका सामग्री बनाउने कालिगढ र कलाकारहरू बेरोजगार बनेका छन् । पर्यटक आवगमन ठप्प हुँदाका आन्तरिक वायुसेवा कम्पनी र हेलिकोप्टर सेवा प्रदायक पनि थलिएका छन् । कोरोना भाइरसकै कारण यो वर्ष नेपालका आन्तरिक वायुसेवा कम्पनीहरूलाई चार अर्ब नोक्सान पुगेको आँकलन एसियाली विकास बैंकले गरेको छ । झण्डै ६० प्रतिशतसम्म आन्तरिक यात्रु घटेपछि आन्तरिक उडानको भाडा दर आधासम्म घटेको छ ।

एउटा कुरा पक्का हो कि ठमेलको पर्यटन व्यवसाय स्थानीय सरकारको मात्रै सरोकारको कुरा होइन । ठमेल धरासायी हुँदाको असर काठमाडौंमा मात्रै पर्दैन । यसको चक्रीय असर पर्ने एरिया ठूलो छ । चक्रीय असर कृषि र स–साना उद्योगमा पनि पर्छ । होटलमा खाद्यान्न, तरकारी, पेय पदार्थ लगायतका अन्य सामग्रीका आपूर्तिकर्तासँग हुने कारोबार बिथोलिन्छ । यसले पर्यटनसँग साइनो जोडिएका अनेकौँ क्षेत्रसँग सम्बद्धहरूको खल्तीमा चाप पार्न थालेको छ । उदाहरणका लागि ठमेलको पर्यटकीय बजार सुकेका कारण नयाँ बजार, खुसीभुँ, समाखुसी, बालाजु क्षेत्रमा घरहरू खाली हुन थालेका छन् । घरभाडा लगाएर जीविकोपार्जन गर्नेहरूको आम्दानी घटेको छ । ठमेलमा रोजगारी गर्ने करिव डेढ लाख श्रमिक पलायन हुँदा आसपासका क्षेत्रसमेत सुकेका छन् । यति मात्रै होइन यसको असर नुवाकोट, रसुवा, धादिङ, गोरखासम्म पुगेको छ ।

पर्यटकले उपहारका रूपमा किन्ने गरेका हस्तकलाका सामग्रीको बिक्री ठप्पसरह भएपछि अहिले यस्ता सामग्री उत्पादन गर्ने उद्योगहरू सुस्ताएका छन् । हस्तकलाका सामग्री बनाउने कालिगढ र कलाकारहरू बेरोजगार बनेका छन् । पर्यटक आवगमन ठप्प हुँदाका आन्तरिक वायुसेवा कम्पनी र हेलिकोप्टर सेवा प्रदायक पनि थलिएका छन् । कोरोना भाइरसकै कारण यो वर्ष नेपालका आन्तरिक वायुसेवा कम्पनीहरूलाई चार अर्ब नोक्सान पुगेको आँकलन एसियाली विकास बैंकले गरेको छ । झण्डै ६० प्रतिशतसम्म आन्तरिक यात्रु घटेपछि आन्तरिक उडानको भाडा दर आधासम्म घटेको छ ।
(लिम्बू पर्यटन व्यवसायी हुन्)

प्रतिक्रिया