प्रदेश–२ प्रदेशसभाको खर्च : फिनेल, हार्पिक खरिदमा ६८ लाख !

जनकपुर । प्रदेशसभा सचिवालयले मसलन्द तथा कार्यालय सञ्चालनसम्बन्धी फिनेल, हार्पिकलगायत विभिन्न सामग्री खरिदमा आर्थिक वर्ष ०७६–७७ मा ६७ लाख ४९ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनमा प्रदेश २ को प्रदेशसभा सचिवालयले मसलन्द तथा कार्यालय सञ्चालनसम्बन्धी फिनेल, हार्पिकलगायत विभिन्न सामग्री टुक्रा–टुक्रा गरी विभिन्न ३५ आपूर्तिकर्ताबाट सीधै खरिद गरी ६७ लाख ४९ हजार रुपैयाँ अनियमित रुपमा भुक्तानी गरेको उल्लेख गरेको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ (१)मा स्वीकृत कार्यक्रम र खरिद योजना अनुसार २० लाख रुपैयाँसम्म लागत अनुमान भएको मालसमान ऐनको दफा ४० बमोजिम सिलबन्दी दरभाउपत्र आह्वान गरी मात्र खरिद गर्नसक्ने व्यवस्था रहेको छ । प्रदेश २ को प्रदेशसभा सचिवालयले विविध खर्च अन्तर्गत आर्थिक वर्ष २०७६–७७ मा १ करोड ३१ लाख ३६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

अतिरिक्त समयमा काम गरेको खाजा–खाना, होटल तथा पार्टिप्यालेसमा भएका सभा समारोहको भुक्तानीबाहेक यो रकम खर्च गरिएको हो । खर्च लेख्दा खर्चको बिल संलग्न गरे पनि खर्च गर्नुपर्ने आधारसहितको प्रमाण संलग्न गरिएको छैन । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ९५ मा कार्यालय मातहतबाट समेत सम्पादन गरिने कार्यक्रमलाई मितव्ययी बनाउन आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयन गर्नुपर्ने र नियम ३६(३)अनुसार खर्चको पुष्टिहुने प्रमाण कागजात संलग्न गरेर खर्च लेख्नुपर्ने व्यवस्था छ ।

महालेखाले विविध खर्चको स्पष्ट उद्देश्य र खर्चको यथार्थता पुष्टि हुने प्रमाणबेगर खर्च लेख्ने कार्यमा नियन्त्रण गर्न सुझाब दिएको छ । प्रदेशसभा सदस्यहरुले आफ्नो निजी प्रयोजनका लागि खरिद गरेका तौलिया, गम्छा, जुत्ता, ट्रयाकसुटलगायत खेलकुद सामग्रीको भुक्तानी प्रदेशसभाबाट लिएका हुन् । सचिवालयले स्वीकृत वार्षिक कार्यक्रममा समावेश नभएका व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने जुत्ता, ट्रयाकसुट, तौलिया, गम्छालगायत सामानको बिल संलग्न गरी १६ लाख ७१ हजार विविध खर्च शीर्षकबाट भुक्तानी गरेको देखिएको छ ।

प्रतिक्रिया