खडेरी अन्त्य गर्न बालिकाहरूलाई निर्वस्त्र

अन्धविश्वासमा परेर मान्छेले के सम्म गर्छ भन्ने भारतको एउटा घटनाले देखाएको छ । भारतको मध्य प्रदेशको एक गाउँमा वर्षा नभएपछि ६ बालिकालाई निर्वस्त्र गाउँ घुमाइएको छ । बुन्देलखण्ड क्षेत्रको खडेरी परेको एउटा गाउँमा ती बालिकालाई भ्यागुतो बाँधिएको काठको मुढो बोकाएर हिँडाइएको भिडिओबारे सामाजिक सञ्जालमा चर्चा भएको छ । स्थानीय बासिन्दाहरू सो कार्यले वर्षाको भगवान् खुसी हुने र पानी पर्ने विश्वास गरेका छन् । भारतको बालअधिकार रक्षासम्बन्धी राष्ट्रिय परिषद्ले सो घटनाको बारेमा दामोह जिल्लाका अधिकारीहरूसँग सोधपुछसमेत गरेको छ । मध्य प्रदेश प्रहरीले सो घटनाका बारेमा औपचारिक उजुरी नआएको तर अनुसन्धान सुरु गरेको बताएको छ ।

‘समाचारमा आए अनुसार बालिकाहरूलाई निर्वस्त्र हिँड्न बाध्य पारिएको भए कारबाही गरिनेछ,’ प्रहरी उपरीक्षक डिआर तेनिवारले पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा भनेका छन् । प्रहरीले गलत हो भने पनि त्यस कार्यमा संलग्न कसैलाई कारबाही गरिएको छैन । भिडिओमा ती बालिकाहरू सँगै हिँडेको र उनीहरूको पछिपछि महिलाहरूको एक हुल भजन गाउँदै हिँडेको देखिन्छ । निर्वस्त्र हिँडाइएका बालिकाहरू पाँच वर्षको भएको बताइएको छ । सो यात्रा प्रत्येक घरका रोकिएर अन्नदान लिँदै हिँडेको देखिन्छ । ती अन्न पछि स्थानीय मन्दिरको सामूहिक भान्छाका लागि दान दिइएको बताइएको छ । ‘यसो गर्दा पानी पर्छ,’ एक महिलाले भनेकी छन् ।

दामोह जिल्लाका कलेक्टर एस कृष्ण चैतन्यले बालिकाहरूको अभिभावकहरूसँग स्वीकृति लिइएको र उनीहरूले पनि त्यसमा भाग लिएको बताएका छन् । ‘यस्तो अवस्थामा प्रशासनले गाउँलेहरूलाई यस्तो अन्धविश्वासको सम्बन्धमा चेतना फैलाउने काम मात्रै गर्न सक्छ र यस्ता कार्यले नतिजा नदिने सम्झाउन सक्छ,’ उनले भने । भारतको कृषि मनसुनको वर्षामा भर पर्ने हुँदा धेरै ठाउँमा पानी पार्नका लागि भगवान् खुसी पार्ने अनेक खाले पूजाआजाको चलन छ । कुनै समुदायले भ्यागुतो वा गधाको विवाह गरिदिने वा भजन गाउँदै जात्रा निकाल्ने गर्छन् । अन्धविश्समा परेर यस्ता पूजाआजा हुन यहाँ सामान्य जस्तै हुने गरेको छ ।

कतिपयले यस्ता कार्यले आम मानिसहरूलाई दुःख बिर्सिन सहयोग गर्ने बताउँछन् भने संस्कृतिविज्ञहरूले यसले अन्त कतै सहयोग नपाएपछि मानिसहरूले गर्ने अभ्यासका रूपमा अर्थ्याएका छन । तर, यसरी सडकमा बालिकालाई निर्वस्त्र बनाएर हिडाउनु भनेको गलत कार्य हो । गलत हो भन्ने जान्दा जान्दै पनि यसलाई रोक्न भने सकिएको छैन ।

प्रतिक्रिया