कांग्रेसको पालिका अधिवेशनमा अड्को !

काठमाडौं । नेपाली कांग्रेसको पालिका अधिवेशन फेरि अनिश्चित भएको छ । गत २५ भदौमा अन्तिम पटक संशोधित कार्यतालिका अनुसार वडा अधिवेशन सकेर यही असोज ९ गते देशभरका पालिकामा एकैपटक महाधिवेशन गर्ने कार्यतालिका बनेको थियो । तर १३ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान नहुँदा पालिका अधिवेशन पुनः प्रभावित हुन लागेको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार अहिलेसम्म बाँकी १३ जिल्लाका क्रियाशील सदस्यको सूची विवाद मिलाएर पार्टीले हस्तान्तरण गरेको छैन । त्यसैले वडा अधिवेशन भएका ठाउँमा मात्रै अघि बढ्ने निर्णय पार्टीबाट नभए आगामी ९ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन गर्न सम्भव छैन ।

पालिका अधिवेशन प्रभावित भए प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन स्वतः प्रभावित हुने छ । त्यसको असर प्रदेश र केन्द्रीय महाधिवेशनसम्म पर्न सक्छ । केन्द्रीय निर्वाचन समितिले यही अवस्थामा पालिका अधिवेशन असम्भव भएको ठहर गरिसकेको छ । ‘यही अवस्थामा त कसरी अधिवेशन सम्भव हुने भयो र ?,’ केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले भने, ‘अहिलेसम्म क्रियाशील सदस्यता नै हामीले पाएका छैनौँ । बाँकी जिल्लामा वडा अधिवेशन नै ९ गते सम्भव हुनेमा ढुक्का हुन सकिने अवस्था छैन ।’

उनले पालिका अधिवेशन हुने नहुने विषयमा भने आफूलाई टिप्पणी नगराउन आग्रह गरे । निर्वाचन समितिका सदस्यहरु पनि महाधिवेशन हुने नहुने विषयमा बोल्न तयार छैनन् । ‘पार्टीका नेताहरु बसेर निर्णय गर्नुहोस् कि वडा अधिवेशन सकिएका जिल्लामा पालिका अधिवेशन अघि बढाउने कि १३ जिल्लाको कुरेर बस्ने भनेर,’ समितिका एक सदस्य भन्छन्, ‘नेताहरुबीच नै झगडा छ भने निर्वाचनको प्रक्रिया हामीले कसरी अघि बढाउने ?’

ती सदस्यका अनुसार निर्वाचन समितिमा पनि प्रक्रियासंगत रुपमा अघि बढ्ने कुरा भइराखेको छैन । समिति संयोजक महादेव यादव समितिमा आएका गुनासो सम्बोधन गर्नेभन्दा बेवास्ता गर्ने र संस्थापनको पक्षमा निर्णय गर्नेमा लागेको उनको आरोप छ । नेपाली कांग्रेसको कार्यतालिका अनुसार काम भएको भए गत भदौ २७ गते नै पालिका अधिवेशन सकिनुपर्थ्यो । गत साउन केन्द्रीय समितिले गरेको निर्णयअनुसार भदौ २ गतेभित्र टुंग्याउने भनेको क्रियाशील सदस्यता अहिलेसम्म नटुंगिदा २७ गते हुने भनिएको पालिका अधिवेशन आगामी ९ गतेका लागि सारिएको छ ।

तर त्यो तालिका प्रभावित हुने निश्चित भइसकेको छ । पाँच दिनअघि असोज १ मै प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन भइसक्नुपर्ने थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मंगलबार अधिवेशन हुनुपर्ने थियो । आगामी १० गते हुने भनिएको जिल्ला अधिवेशन १८ गतृका लागि सारिए पनि अब पुनः तालिका प्रभावित हुने अवस्था सिर्जना भएको निर्वाचन समितिकै एक सदस्य बताउँछन् ।

प्रतिक्रिया