कियाको सोरेन्टो हाइब्रिड एसयुभी आउदै

काठमाडौं । कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटो निर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । कारको हकमा ‘द लार्जेस्ट हाइब्रिड एसयुभी’ शब्दमा मात्र सीमित नभएर यसले पारखीलाई उत्साहित पनि गर्न सक्ने उल्लेख छ । कोरियाली अटो निर्माता कियाले आफ्नो सात सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा उक्त अवधारणालाई लागू गरेको छ ।

नयाँ किया सोरेन्टो हाइब्रिड सडक ओगट्ने मात्र नभएर आम कल्पनाभन्दा बाहिरको वातावरणीय पहल पनि भएको दावी कम्पनीले गरेको छ । २०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४ दशमलव २ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटर सहितको १ दशमलब ४९ किलोवाट आवर ब्याट्री छ । यस्ले २०२१ सोरेन्टोलाई जुनसुकै कठिन भूभागमा लैजान सकिने पनि जनाइएको छ ।

यो हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टिएमइडी संरचनामा आधारित छ । नयाँ सोरेन्टोमा अतुलनीय शक्ति मात्र नभई यसमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक रहेको छ । नयाँ सोरेन्टोमा स्टेसनरी पोजिसनमा छलाङ मार्न विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै छ । सुरुमा किया सोरेन्टोले २५ किलोमिटर प्रतिघन्टा दौडिन विद्युतीय मोटर प्रयोग गर्छ, त्यसपछि टिजिडिआई पेट्रोल इन्जिनले यसलाई अघि बढाउने र गति बढाउँदा यसले पावर स्प्लिट ट्रान्समिसनमार्फत विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै प्रयोग गर्ने पनि उल्लेख छ ।

२०२१ किया सोरेन्टोमा इन्जिन र हाइब्रिड प्रविधि मात्र छैन यसको बाहिरी आवरण ज्यादै चित्ताकर्षक छ । ७ वटा एयरब्याग रहेको गाडीमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यु मोनिटर, लेन फलोइङ असिस्ट र अन्य थुप्रै सुरक्षा विशेषता रहेका छन । नयाँ सोरेन्टो हाइब्रिड एययुभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन् । किया सोरेन्टो इको हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया