६३ मूर्ति फर्काइयो

ललितपुर । विभिन्न समयमा नेपालबाट हराएका ६३ मूर्ति स्वदेश फर्काइएको छ । नेपाल सम्पदा पुनर्जागरण अभियानले आयोजना गरेको कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले गैरकानुनी रुपमा बाहिर पुगेका २१ मूर्ति फर्कने क्रममा रहेको जानकारी दिए । उनले यस कार्यका लागि प्रक्रिया अघि बढिरहेको जानकारी दिए । गौतमले चोरी भएर अन्य मुलुकमा पुगेका मूर्ति सरकारले त्यहाँकै खर्चमा नेपाल ल्याउने नियम बनाउन जरुरी रहेको आँैल्याए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वडा नं १६ पटकोबाट २०४२ सालमा चोरिएको कमलाज विष्णु अर्थात लक्ष्मीनारायणको मूर्ति यही वैशाख १६ गते आफूहरूले पाटन दरबार संग्रहालयमा फर्काउन सफल भएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘यस मूर्ति पुनःस्थापना गरिसकेपछि फेरि हराउन सक्ने भन्दै सिसिटिभी, सडकबत्ती राख्ने खर्च महानगरपालिकाले गर्नेछ ।’ यसैगरी पाटनबाट हराइरहेको उमामहेश्वरको मूर्ति फिर्ता गराउन समेत महानगरपालिकाले खर्च व्यवस्था गर्ने महर्जनले विश्वास दिलाए ।

शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले भेटिएका मूर्ति वास्तविक हुन् कि होइनन् भन्ने विचार गरेर मात्र ल्याउन सुझाव दिए । उनले भने, ‘मूर्ति मानव सभ्यताको चिनो भएकाले अभियानकर्ताले जेनेभा सम्झौता बमोजिम काम गर्नुपर्ने हुन्छ ।’ अभियानका सञ्चालक रोशन मिश्रले आफूहरूले धेरै संग्रहालयलाई पत्राचार गरी चोरिएका मूर्ति फर्काउन अनुरोध गरेको बताए । महानिर्देशक गौतम र प्रमुख महजर्नले संयुक्तरुपमा ललितपुरमा सो अभियानको शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया