संविधानविरुद्ध राष्ट्रपति !

प्राडा बद्रीविशाल पोखरेल

ओली सरकारले विगत सरकारका तुलनामा अतुलनीय काम गरेको हेर्नुहोस् र राम्रोलाई राम्रो भन्न सकिन्न भने चुप लाग्नुहोस् टाउको हल्लाउनुहोस् । ओली सरकारले हिमाल, पहाड तराई मधेसको विकास भावी सन्ततिका लागि गरेको हो । घर भइभइ घर भाडा लिने र खाने नियत वर्तमान राष्ट्रपति र पूर्व प्रधानमन्त्री ओलीको छैन । आफ्नो भएको चलअचल सम्पत्ति ट्रस्टमा विधिवत जिम्मा दिने ओलीलाई धारे हात लगाउन छाड्नुहोस् ।

असोज ३ गते पूर्वराष्ट्रपति डा.रामवरण यादव सातौँ संविधान दिवसका अवसरमा मौखिक र लिखित मन्तव्य व्यक्त गर्दै हुनुहुन्थ्यो । अमुक पार्टीको नेता वा कार्यकर्ता जस्तो अति संकीर्ण यादवका अभिव्यक्ति सुन्दा गणतन्त्रकै उपहास भएको जस्तो लागेको छ । उहाँ भारतीय सहमतिमा मात्रै संविधान जारी गर्नुपर्ने पक्षमा कटिबद्ध हुनुहुन्थ्यो भन्ने कुरा जवर्जस्त रूपमा पुष्टि हुन्छ । उहाँ संविधान समयमै जारी नगर्ने पक्षमा हुनुहुन्थ्यो । संविधान त्यस बेला जारी नभएको भए देश कुन भड्खालोमा जाकिन्थ्यो भन्ने कुरा राम्ररी बुझेरै यादव असन्तुष्ट हुनुभएको हो । भरसक संविधान जारी गर्न संविधानसभामा आउन उहाँ मानिरहनुभएको थिएन । तर, उहाँ नआए पनि संविधान जारी गर्ने आन्तरिक तयारी पछि बाध्य भएर यादव संसद्मा आउनुभएको हो ।

ओली सरकार पाँच वर्ष स्थिर रहन दिएको भए धेरै उल्लेख्य उपलब्धि थपिने थिए । यादवज्यूले अहिलेसम्म ओलीले जस्तो भूकम्प, प्राकृतिक लगायतका कारण घरबारविहीन जनताको अढाइ वर्षमा आठ लाख घर बनाएर हस्तान्तरण गरेको कहिल्यै सुन्नुभएको थियो ? भारतबाट पाइप लाइनबाट डिजेल नेपालले ल्याउँदा वार्षिक डेढ अबृ ढुवानी खर्च जोगिएको सुन्नु जान्नु भएको थियो ? थिएन भने सुन्ने बानी बसाउनुहोस् । यो पाइपलाइन दक्षिण एसियामा दोस्रो हो नि । १ सय ४० वटा तुइन मध्ये १ सय ३० वटा तुइन विस्थापित भएको हेर्नुहोस् । धरहरा, रानीपोखरी हेर्न जानुहोस् मेलम्चीको पानी त खानु नै भयो होला । त्यसै राजनीतिक आग्रह र दुराग्रहका आधारमा राम्रा काम नदेखेझैँ बैगुनी नबन्नुहोस् ।

यादवले प्रधानमन्त्री र राष्ट्रपतिको मिलीभगतमा भएको सम्म भन्न भ्याउनुभयो । मिलीभगत जस्तो अत्यन्त भद्दा आरोप राष्ट्रपतिलाई लगाउनु भनेको यादवले आफैँतिर तथा नाम बोल्नु् हो । जनादेशलाई कुण्ठित गर्ने अनि परमादेशबाट टिके प्रधानमन्त्री बनाउनुचाहिँ संवैधानिक देख्ने यादवको चश्माकै दोष मान्नुपर्ने हुन्छ । कालो चश्मा लगाएपछि उज्यालो देखिँदैन । महाकालीमा भारतीय एसएसपीले तुइन खुस्काइदिएर मारिएका निहत्था नेपाली सपूत धामीका विषयमा सरकारले त वास्ता गरेन यादवले किन के कारणले समवेदनाको एकशब्द उल्लेख गर्नु भएन । के धामी तराई मधेसी होइनन् भनेर हो ? अनि सभामुखका जालीझेली कीर्ते दोहोरो मापदण्डका घीनलाग्दा चरित्रचाहिँ संसदीय हुन् ? कसैलाई र कुनै दललाई दल वा पार्टीका ह्विप लाग्ने कुनैलाई नलाग्ने सर्वोच्च अदालतको फैसला लोकतान्त्रिक हो यादवज्यू ? मन्त्रीमण्डल अहिलेसम्म विस्तार हुन सकेको छैन यो चाहिँ कसले रोकेको र ओलीले नै छेकेको हो ? आफ्नो मान, प्रतिष्ठा र थान्कामा बस्दा मात्र कुनै पनि मानिसलाई सुहाउँछ ।

पूर्वराष्ट्रपति रामवरण यादवप्रति यो लेखक अत्यन्त सम्मान गर्छ किनकि व्यक्तिलाई भन्दा संस्थालाई अझ कम्तीमा औपचारिक रूपमा आदर कदर र यथोचित सम्मान गर्नुपर्छ भन्ने बुझेको छ । तर, कमजोरी उपर चर्चा गरियो भने भोलि आउने महामहिम सतर्क हुने अवस्था आउँछ भनेर मात्र यो लेख लेखिएको हो । पूर्वराष्ट्रपति महामहिम रामवरणले पहिले झैँ अहिले पनि वर्तमान राष्ट्रपति र पूर्व प्रधानमन्त्रीलाई संसद् विघटन गरेको विषयमा भद्दा आलोचना गर्दै हुनुहुन्थ्यो । उहाँ कुपात्रका कारण संसद् विघटन भएको भन्दै हुनुहुन्थ्यो । लोकतन्त्र, संविधान, संघीयता सबैमाथि ओलीलाई हमलावर भन्दै हुनुहुन्थ्यो । अमुक पार्टीको सामान्य कर्यकर्ताका स्तरमा ओर्लिएर उहाँले बोल्दा गणतन्त्र बदनाम हुँदै थियो । वर्तमान राष्ट्रपतिलाई आफूले जस्तै कहिले नेकाका नेता कार्यकर्ताहरूलाई शीतलनिवासमा बोलाएर महाधिवेशनलाई प्रभावित पार्ने दहीचिउरा खुवाएर, कहिले भूपू प्रम सुशील कोइरालालाई २३ पन्ने आदेश पत्र थमाउनुहुन्थ्यो भने कहिले आफ्नै छोरालाई सभासद् बनाउन र निर्वाचनमा जिताउन सक्रिय भूमिका निर्वाह गर्नुहुन्थ्यो । ठीक यस्तै खालको भूमिका वर्तमान राष्ट्रतिबाट होस् भन्ने चाहना हो यादवज्यूको ? यति मात्र होइन यादवले गरेको सबैभन्दा संगीन भूमिकाका बारेमा । प्रसिद्ध मानव अधिकारवादी कृष्ण पहाडीले एक पत्रिकामा उहिल्यै उल्लेख गरेका छन्,
‘संविधान आउँदाका बेला राष्ट्रपति निवासमा बसेर षड्यन्त्र नगरेको भए मधेस आन्दोलनमा यति धेरै मान्छे मारिने थिएनन्, सत्तामा बस्ने, सर्वोच्च पदमै बसिसकेका न्यायिक पृष्ठभूमिका मान्छेले समाजमा दुरी बढाउँदै हिँडेपछि कसरी हुन्छ ?’

अरूलाई एक औँलो देखाउँदा चारऔँलाले आफैँलाई देखाइरहेको यादवले देख्नुभएन । २०७३ पुस १७ गते महामहिम पूर्वराष्ट्रपति डा.रामवरण यादवको नागरिक पत्रिकामा एक महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित छ । उक्त पत्रिकामा प्रकाशित राष्ट्रपतिका अन्तर्वार्ता आधारित भनाइहरू मात्र होइन यसभन्दा अघि पनि उहाँका अभिव्यक्ति र व्यवहारमा देखिएको असंगति केलाउनु यस लेखको उद्देश्य हो । यस लेखको आरम्भमा उल्लिखित पहाडी लिखित अभिव्यक्ति सत्य संगत र तथ्य परक देखिन्छ । किन पनि भने जतिबेला केही मधेसी नामका नेता ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिले लोकतान्त्रिक र विधिसम्मत रूपमा प्रस्तावित र पारित संविधानविरुद्ध तराईमधेसका रैथाने र आदिवासी जनतालाई भड्काएर संघर्षमा उत्रिन लाग्दा पूर्वराष्ट्रपति डा.रामवरण यादवले बेलैमा शीतलनिवास बोलाएर सार्थक संवाद गर्नुभएन । उहाँले आन्दोलनकारीहरूलाई फोन गरेर सम्झाएको मात्र प्रचार गरियो । संविधानविद् तत्कालीन सभामुखलाई संविधान विषयक सुझसमझ दिएजस्तै प्रभावकारी रूपमा मधेसी नेतालाई यादवले सम्झाउनु भएन । बरु शीतलनिवास संविधानविरुद्ध दिलोज्यानले उत्तेजना बढाउने काममा गोप्य रहस्यमय आश्रयस्थल बनेको स्पष्ट भयो ।

यादवज्यूले अन्तर्वार्तामा भनेजस्तो नेपाली भाषी नेताबाट तराई छाड्नै नहुने, तराईका नेताबाट पहाड जोड्नै नहुने दुवै अतिवादी कुरा हुन् ? यसमा राष्ट्रिय एकता र अखण्डताको कुरा किन यादवले नगरेको ? उहाँले नेपाली भाषी नेताले राष्ट्रिय एकता, अखण्डता र सद्भाव कायम गर्न खोजेको कुरामा किन समर्थन नगरेको किन उल्टो ती विचारमा संकीर्ण खालको सोच राख्नुभएको हो । तराईमधेस छोडेर वा मधेसलाई अलग राष्ट्र बन्न दिने कुरा एउटा सच्चा देशभक्त पार्टी, व्यक्ति र नेतृत्वले यस्तो कुरा सोच्न सक्छ ? राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र सद्भावजस्ता विषयमा तर, तथापि, परन्तु आदि घुमाउरो र काइते कुराको कुनै अर्थ छैन । देशलाई प्रेम गर्ने कुरा पनि घुमाएर गर्नुपर्छ ? एउटा राष्ट्रवादीले सत्य कुरा सोभैm गर्दा हुन्छ । अझ राष्ट्रपतिज्यूले त मधेस पहाडबाट अलग रहे पनि हुन्छ भन्ने कुरा गरेर घुमाउरो रूपमा नेपाललाई दुई राष्ट्र (अर्थात् पहाड र मधेस राष्ट्र बनाउने ) कुरामा परोक्ष रूपमा स्पष्ट दृष्टिकोण अघिसारेको देख्दा अचम्म लागेको छ । प्रक्रियामा विश्वास गर्ने भएकाले असन्तुष्टिलाई थाती राखेर पद्धतिलाई स्वीकार गरेको बताउने यादवले मधेसी दललाई किन राम्ररी सम्झाउन भन्दा आफ्नै असन्तुष्टि पो छर्न थाल्नुभयो ।

दक्षिण छिमेकीको कपटपूर्ण स्वार्थ नै के हो भने नेपालको संविधान नबनोस्, बनिहाले बिथोलियोस् र लागू नहोस् भन्ने नियत त खुल्ला भएकै थियो । प्रथम महामहिम राष्ट्रपतिजस्तो शीर्षस्थ व्यक्तित्वले नेपाली एकतालाई अलगथलग पार्ने खालका विचार अझै बारबार प्रवाह बोलिरहनु जाति हुन्छ ? तामाम नेपाली जनता सबका सबको चित्त बुझ्ने वा सर्वसम्मत संविधान कहाँ जारी भएको छ ? एउटासम्म उदाहरण दिन सक्नु हुन्छ ? तर अहिलेसम्म यो दुनियाँमा संविधानसभाले बनाएको संविधान मध्ये नेपालले बनाएको ९० प्रतिशतभन्दा बढीको अनुमोदन कुन देशमा कहाँ छ देखाउन सक्नुहुन्छ ? हामी आफ्नै घरपरिवारमा पनि भनेजस्तो चित्तबुझ्दो काम गर्न सकिरहेका छैनौँ । तपाईं आफैँले चाहेअनुसार, सोचे अनुसारको सबै कुरा परिपञ्च, प्रबन्ध र पौल भएको जिन्दगी बिताउन सकिरहनुभएको छ ?

भारत अनुकूल वा कन्फर्टेबल सरकार बनाउन ओली सरकार हटाएको त घामजत्तिकै छर्र्लंग भो नि । धामी मारिएको विषयबारे भारतसित सोझो संवाद गर्न नसक्ने हुतीहारा सरकारको पक्षपोषण गरेर आफूूलाई धेरै तल नझार्नु होस् महामहिमज्यू । ओली सरकारले विगत सरकारका तुलनामा अतुलनीय काम गरेको हेर्नुहोस् र राम्रोलाई राम्रो भन्न सकिन्न भने चुप लाग्नुहोस् टाउको हल्लाउनुहोस् । ओली सरकारले हिमाल, पहाड तराई मधेसको विकास भावी सन्ततिका लागि गरेको हो । घर भइभइ घर भाडा लिने र खाने नियत वर्तमान राष्ट्रपति र पूर्व प्रधानमन्त्री ओलीको छैन । आफ्नो भएको चलअचल सम्पत्ति ट्रस्टमा विधिवत् जिम्मा दिने ओलीलाई धारे हात लगाउन छाड्नुहोस् ।

प्रतिक्रिया