झापा गाउँपालिकाको कांग्रेस सभापतिमा सागीरथ चयन

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । १५ पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो ।

कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिए । ‘सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन गरियो’, उनले भने, ‘विधि र प्रक्रिया बाँकी छ, असोज ९ गते उहाँलाई आधिकारिक सभापति भएको घोषणा गर्छौं ।’

सो गाउँपालिकाको सबै सात वडामा यसअघि सर्वसम्मत वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको छ । आदिवासी मधेशी समुदायको बाहुल्य सो पालिकामा गणेशको नेतृत्वमा गाउँ कार्य समिति नै सर्वसम्मत भएको कांग्र्रेसका क्षेत्रीय सभापतिसमेत रहेका झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

गणेशका नेतृत्वमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल, सचिवमा सञ्जय गणेश र प्रताप विश्वकर्मा र सहसचिवमा सफिउल्ला अन्सारी छन् । पार्टीका जिल्ला सभापति थापाले अन्य पालिकाले नेतृत्व चयनका लागि झापा गाउँपालिकाबाट शिक्षा लिनुपर्ने बताए । गाउँ सभापति सर्वसम्मत भएका उनी यसअघि क्षेत्रीय सदस्य रहेका थिए । पालिकामा २५६ क्रियाशील सदस्य छन् ।

जिल्लामा १५ पालिका छन् । अन्य पालिकामा गाउँ तथा नगर सभापतिका लागि हरेक पालिकामा तीनभन्दा बढी आकांक्षीले उम्मेदवारी घोषणा गर्दै मत मागिरहेका छन् । झापा गाउँपालिकामा वडा तहको निर्वाचनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाका सभापतिको संयुक्त भेलामा गाउँ सभापति पदमा गणेशको एक मात्र नाम आएको थियो ।

‘उहाँ जुझारु, इमान्दार र सबैका प्रिय नेता हुनुहुन्छ’, गाउँपालिकाका अध्यक्ष साहले सर्वसम्मत चयनका बारेमा भने, ‘सबै क्षेत्रीय प्रतिनिधि र अरु साथीहरुले उहाँलाई सर्वसम्मत सभापति बनाउने विषयमा निर्णय नै गरिसक्नुभयो ।’

पार्टीको निर्वाचन कार्यतालिका अनुसार नगर तथा गाउँको अधिवेशन यही असोज ९ गते हुँदैछ । झापा गाउँपालिकाको सभापतिसहित कार्य समितिका सबै पदमा सर्वसम्मत उम्मेदवारी दर्ता गरेर निर्विरोध निर्वाचित गराउने स्थानीय पार्टी कार्यकर्ताको सहमति भएको छ ।

सर्वसम्मत गाउँ सभापति चयन भएका गणेशले २०४६ सालदेखि पार्टीमा क्रियाशील भएको र २०४८ सालमा क्रियाशील सदस्यता पाएको बताए । उनले आफू कुनै गुटमा नलागेको जनाउँदै आम कार्यकर्ताले सर्वसम्मत गाउँ कार्य समिति चयन गरेर पार्टी एकढिक्का भएर सहमतिमा अघि बढेको सन्देश दिन चाहेको बताए ।

झापा गाउँपालिकाबाट उत्साहित जिल्लास्तरीय नेताहरु अन्य नगर तथा गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्न सकिन्छ कि भनेर दौडधुप गरिरहेका छन् । जिल्लामा १३१ वडामा एक जना पनि महिला सभापति पार्टीले निर्वाचित गराउन सकेन । हालसम्म गाउँ तथा नगरस्तरमा समेत पुरुषले आकांक्षा देखाइरहँदा एकजना महिलाले पनि सभापतिमा दाबी गरेको देखिँदैन ।

प्रतिक्रिया