पदयात्रा खुलाउन व्यवसायीको माग

काठमाडौ । पर्यटन व्यवासायीहरुले पदयात्रा खुलाउन सरकारसंग माग गरेका छन । पदमार्गमा जाने पर्यटकका लागि खुकुलो व्यवस्था मिलाउन व्यवसायीले माग गरेका हुन । पर्यटनको ठूलो हिस्सा ट्रेकिङ पर्यटनको रहेको भन्दै विश्वमा चर्चित पदमार्गहरूले समग्र पर्यटन क्षेत्रलाई नै चलायमान बनाएको उनिहरुले बताएका हुन । खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण बढ्दो क्रममा रहेको छ ।

नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ । यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्राको पर्यटनलाई खुला गर्नुपर्छ भन्ने दबाब बढिहरेको हो । नेपाल बाहिर धेरै देशले आफ्ना नागरिकलाई खोपको पूरा मात्रा लगाइसकेको छ । यस्तो पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न पनि व्यवासायीले भनेको छन ।

ट्रेकिङ एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले अन–अराइभल भिसा खुला गर्ने र क्वारेन्टाइन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताएका । एक जना पर्यटक पदयात्रामा जाँदा कम्तिमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ । सहासिक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्न सके पर्यटन सिजनसँगै चलायमान बनाउन सकिने सुवेदीको भनाई छ । डेढ दशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोनाका कारण नराम्रोसँग प्रभावित भएको छ । संक्रमणको जोखिम कम भएका मुलुकबाट नेपाल बारे चासो बढ्न थालेको ट्राभल व्यवसायीले बताएका छन । कोरोना संक्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरेपनि पछि स्थगित गरिएको थियो । सन २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम प्रभावित बनाएको थियो ।

प्रतिक्रिया