मङ्गल ग्रहको चट्टान किन महत्त्वपूर्ण ?

वासिंगटन । मङ्गल ग्रहमा अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोभरले गत साता चट्टानको दोस्रो नमुना संकलन गरेपछि वैज्ञानिकहरू निकै उत्साहित बनेका छन् । पर्सिभिअरन्सले सेप्टेम्बर ६ मा मङ्गलको चट्टानमा प्वाल पारेर औँलाजत्रो नमुना संकलन गरेको थियो । त्यसको दुई दिनपछि फेरि अर्को नमुना संकलन गरियो । संकलित नमुना ज्वालामुखीबाट बनेको वैज्ञानिकहरूको विश्वास छ । अनि ती चट्टान उत्पत्ति भएको समय निर्धारण गर्न सकिन्छ । उक्त चट्टानमा लवण पनि छ । त्यसले पानी परिवर्तन भएको संकेत गर्छ अनि अन्ततः त्यहाँ जीव अस्तित्वमा भएको सम्भावना पनि ।

अथवा कम्तीमा पहिला जीवको अस्तित्त्व थियो भन्ने संकेत । पानी हुँदैमा जीव अस्तित्वमा आउँछ भन्ने छैन । तथापि बिनापानी जीवको अस्तित्व हुने कुरा बुझ्न गाह्रो छ । जेजेरो क्रेटर अर्थात् खाडलमा अर्बौँ वर्षअघि जीवलाई बस्नयोग्य परिस्थिति भएको देखिएकाले नासाले त्यहाँ पर्सिभिअरन्स रोभर पठाएको हो । स्याटलाइट तस्बिरहरूले ४५ किलोमिटर चौडा उक्त खाडलमा कुनै बेला एउटा ताल भएको संकेत गर्छन् ।
त्यहाँ एउटा विशाल नदी र पश्चिम भागमा त्रिवेणी बनेको र थिगर जम्मा भए जस्तो देखिन्छ । अहिले संकलन गरिएका चट्टानका नमुनाबाट त्यतिबेलाको जलीय पर्यावरणको कालखण्ड गणना गर्न सकिने अपेक्षा गरिएको छ ।

नमुना संकलन गर्न प्वाल पारिएको ‘रोशेट’ शिला जेजेरोको पीँधमा छ । अनि त्यो शिला उक्त खाडलमा भएको पुरानोमध्येको चट्टान भएको अनुमान छ । यदि संकलित नमुनाहरूमा भएका खनिज पदार्थको समय निर्धारण गर्न सकियो भने तिनले उक्त तालको अधिकतम आयु आकलन गर्ने सकिनेछ । सम्भवतः त्यहाँ क्याल्सीअम सल्फेट वा क्याल्सीअम फस्फेटजस्ता लवणहरू छन ्। ती लवणले पानीका साना फोका धारण गर्न सक्छन् । ‘यहाँ पृथ्वीमा प्राचीन जीवनको संकेत संरक्षण गर्न लवणहरू गजबका खनिज हुन् । अनि मङ्गलका चट्टानमा पनि त्यही कुरा सत्य होस् भन्ने हाम्रो अपेक्षा छ,’ पर्सिभिअरन्स प्रोजेक्टकी वैज्ञानिक डा. केटी स्ट्याक मोर्गन भन्छिन् । अनुसन्धान गर्न सबैभन्दा पहिला ती नमुना पृथ्वी आइपुग्नुपर्छ ।

प्रतिक्रिया