तयारीमा ‘हिजो आजका कुरा’

काठमाडौं । सामाजिक कथामा बनेको चलचित्र ‘हिजो आजका कुरा’ प्रदर्शनको तयारीमा जुटेको छ । निर्देशक साकार पन्तले शुक्रबार राष्ट्रिय चलचित्र दिवसको सन्दर्भ पारेर सम्पूर्ण चलचित्रकर्मी तथा चलचित्रप्रेमीमा शुभकामना व्यक्त गर्दै आफूहरु चलचित्र प्रदर्शन गर्न आतुर रहेको जनाए । उनका अनुसार चलचित्र प्रदर्शनका लागि सम्पूर्ण तयारी सकेर प्रचार प्रसारलाई तीव्रता दिँदै गर्दा ०७६ चैत ११ देखि भएको लगाइएको बन्दाबन्दीको मारमा परेको हो । ‘हामी फिल्म रिलिज गर्न निकै आतुर छौ । त्यसकारण हल सञ्चालक, वितरकहरुसँग छलफल गरिरहेका छौ,’ निर्देशक पन्तले भने, ‘अहिले कोरोना संक्रमण घट्दै गइरहेको र जनजीवन पनि सामान्य बन्दै गइरहेको छ । सरकारले हल खोल्न अनुमति दिइसकेको छ । त्यसकारण अब हामी फिल्म प्रदर्शनको तयारीमा लागेका छौ । चलचित्र विकास बोर्ड, हल सञ्चालक, वितरक, दर्शक, सबैको साथ भएमा चलचित्र क्षेत्र चलायमान गराउनका लागि आफूहरु अघि बढ्न तयार छौं ।’ उनले केही दिनमै चलचित्रको प्रदर्शन मिति तय हुने जानकारी दिए ।

‘हिजो आजका कुरा’ ०७७ वैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोहीअनुसार प्रचारप्रसार पनि सुरु गरिएको थियो । तर, कोरोना कहरका कारण बन्द रहेका हल अझै पनि सञ्चालनमा आउन सकेका छैनन् । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा साकार पन्त निर्देशित चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य लगायतका कलाकारको अभिनय छ । रवि सायमीको छायांकन रहेको यस चलचित्रमा सन्दीप किस्नाको पटकथा रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सहनिर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । चलचित्रको ‘माया जदौ’ गीत युट्युबमा अहिलेसम्म झण्डै २ करोड ४० लाख पटक हेरिसकिएको छ ।

प्रतिक्रिया