अनु, रशिला र जेसिका दोस्रो चरणमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन तथा नेपाल एपिएफ क्लबकी जेसिका गुरुङ र सुनैना मुखियासँगै फिलिट नेपालकी सीमा राजवंशीले प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईभ लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको पहिलो चरणमा आर्मीकी अनुमायाँ राईले नेपाल एपिएफ क्लबकी शोभा गौचनलाई २१–१७ र २१–११ ले पराजित गरिन् । आर्मीकी रशिला महर्जनले नखिपोट युथ क्लबकी नविना राईमाथि २१–२ र २१–६ को एकपक्षीय जित निकालिन् ।

एपिएफकी सुनैना मुखियाले आर्मीकी प्रेक्षा राईलाई २१–७ र २१–१५ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाइन् । एपिएफकी जेशिका गुरुङले आर्मीकी प्राथना देउवामाथि २१–९ र २१–१५ को सहज जित निकालिन् । यस्तै फिलिट नेपालकी सीमा राजवंशीले हरिसिद्धि क्लबकी सुनेना महर्जनलाई २१–५ र २१–२ को सोझो सेटमा हराईन् ।यस्तै नेपाल पुलिस क्लबकी नीता लम्सालले बीबीसीकी प्रतिष्ठा अर्याललाई २१–१० र २१–७ ले तथा आर्मीकी रोज पाण्डेले जेस्ट ब्याडमिन्टन एकेडेमीकी तारा आलेमगरलाई २१–५ र २१–१० ले हराइन् ।

पुरुष डबल्सतर्फ शनिबार राउन्ड अफ ६४ को ३१ खेल सम्पन्न हुदा ८ जोडीले वाक ओभर पाउँदै अन्तिम ३२ को यात्रा तय गरेका छन् । आइतबार पुरुष एकतर्फको राउन्ड अफ ३२ को सबै १६ खेलमा प्रतिस्पर्धा हुदैछ । पुरुष युगल र ४० वर्षमाथिको भेट्रान्समा राउन्ड अफ ३२ को सबै १६ खेलको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा खुल्ला प्रतिस्पर्धा हुने छ । करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया