खोजखबर

कर्णालीमा बालश्रमको स्थिति भयावह

सौर्य अनलाइन २०७८ असोज ३ गते ६:४६ मा प्रकाशित

कर्णाली । बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–०८५ का अनुसार ०८२ सम्म सबै प्रकारका बालश्रमको निवारण गरिसक्ने लक्ष्य थियो । त्यसका लागि पाँच वटा रणनीतिहरु अपनाइएको थियो । ती हुन्, बालश्रम निवारण सम्बन्धी नीतिगत, कानुनी र संस्थागत व्यवस्थापनमा सुधार, बालश्रमका परेका बालबालिकाको नियमित खोजी, अनुगमन, उद्धार र पुनस्र्थापना इत्यादि । यी रणनीतिले भने कर्णालीमा सार्थकता पाउन सकिरहेको अवस्था छैन । अझै पनि कर्णालीमा बालश्रमको अबस्था जटिल बन्दै गएको छ । कर्णालीको शिक्षा विकास निर्देशनालयको एक तथ्यांक हेर्दा कर्णालीका ६७ प्रतिशत बालबालिकाहरु कुनै न कुनै श्रम गर्न बाध्य छन् । यसतर्फ न त सरकारले नै ध्यान दिन सकेको छ न त सरोकारवाला अन्य निकायले नै ।

सामाजिक विकास मन्त्रालयले गरेको अध्ययनमा विद्यालय जाने उमेर समूहका बालबालिका भारी बोक्नेदेखि ढुंगा खानीमा काम गर्नेसम्मका छन् । तथ्यांक अनुसार कर्णालीका १५ वर्षमुनिका ६७ प्रतिशत बालबालिका श्रम गर्न बाध्य भएका कारण उनीहरू विद्यालयको पहुँच बाहिर छन् । २४ प्रतिशत बालबालिका आर्थिक गतिविधिमा र ४३ प्रतिशत श्रममा संलग्न भएको तथ्यांक मन्त्रालयसँग छ । अझ बालिकाहरू धेरै विद्यालयबाहिर रहेको मन्त्रालयको भनाइ छ ।

कर्णालीका धेरै जसो बालबालिकाहरु भारत जाने र होटेल, रेष्टुराँहरूमा भाँडा धुनेदेखि सडक योजनाहरुमा पनि श्रम गर्ने गरेको देखिन्छ ।
यसैपनि कर्णालीका ५२ प्रतिशत नागरिकहरु गरिबीको रेखामुनी छन् । कुल जनसंख्यामध्ये ७० प्रतिशत मानिहरु हरेक बर्ष भारतका विभिन्न सहरहरुमा कामको खोजीमा जाने गर्दछन् । त्यसबाट बालबालिका पनि अछुतो भने छैनन् ।

कर्णालीका सरोकारवालाहरूले भने बालबालिकाका लागि आवश्यक नीति, र भनिएका कुराहरु पनि कार्यान्वयन नगरिँदा अबस्था ज्युँकात्यूँ रहेको बताउने गरेका छन् । अझ, कोरोनाभाइरस (कोभिड–१९)को यो अवधिमा यो तथ्यांक भयावह देखिन सक्ने अनुमान गरिएको छ ।
कर्णालीको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार झण्डै २० प्रतिशत बालबालिकाहरु कोभिडबाट प्रभावित बनेका छन् । कर्णालीका बालबालिकाहरु हरेक अबस्थाबाट कुनै न कुनै समस्याबाट समस्यामा छन् । अहिले शिक्षाको अबस्था नाजुक छ । अझ, कर्णालीमा निकै दयनिय अबस्था छ भन्दा फरक पर्दैन । तर, पनि प्रदेश सरकारले शिक्षा क्षेत्रमा गतिलो बजेट छुट्याउन नसकेको सरोकारवालाहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय