यूरो २०२० को पदक चोरियो

लण्डन । आफ्नो घरबाट च्याम्पियन्स लिग र यूरो २०२० को पदक भएको सेफ चोरी भएको भन्दै रिस जेम्सले फुटबल समुदायलाई चोरीमा संलग्नहरूको पहिचान गर्न मद्दत गर्न अपिल गरेका छन् । चेल्सीका फूलब्याकले आफ्नो इन्सटाग्राममा पोस्ट गर्दै आफ्नो घरमा गत सेप्टेम्बर १४ मा चोरीमा भएको जानकारी दिएका हुन् । त्यतिबेला उनी जेनिट सेन्ट पिटर्सबर्गविरुद्ध खेल्न बाहिर रहेका थिए । उनले सामाजिक सञ्जालमा चोरीको घटनाको सीसीटिभी फुटेज पनि जारी गर्दै चोरहरु पहिचान गर्नका लागि मद्दत मागेका छन् ।

मंगलबार राति च्याम्पियन्स लिगमा जेनिटविरुद्ध १–० को जीत हासिल गर्ने क्रममा जेम्स घरबाहिर रहेका थिए । त्यतिबेला केही अज्ञात व्यक्तिहरू घरमा पसेर उनको सेफ चोरी गरेका थिए । उक्त सेफमा च्याम्पियन्स लिग र यूईएफए सुपर कप तथा यूरो २०२० को उपविजेताको मेडल रहेको उनको जानकारी दिएका छन् । चोरहरूको पहिचान गर्नका लागि २१ वर्षीय खेलाडीले उक्त घटनाको चारवटा सीसीटिभी फुटेज जारी गरेका छन् ।

प्रतिक्रिया