राष्ट्रिय टोलीमा गुलशनको डेब्यू

काठमाडौं । युवा तीव्र गतिका बलर गुलशन झाले नेपाली क्रिकेट टोलीबाट अमेरिकाविरुद्ध डेब्यू गरेका छन् । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओाडिआई सिरिज अन्तर्गत तेस्रो खेलमा अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा भएको टसमा अमेरिका कप्तान सौरभ नेत्रवालकारले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । युवा तीव्र गतिका बलर गुलशन झालाई डेब्यू दिएको छ । विक्रम सोबलाई बेन्चमा राखेको छ ।

गुलशनलाई तीव्र गतिका बलर सोमपाल कामीले डेब्यू क्याप दिएका थिए । गुलशन नेपालबाट ओडिआईमा डेब्यू क्याप पाउने २७ औं खेलाडी बनेका छन् । गत फागनुमा भएको काठमाडौं मेयर्स कपमा नेपाल पुलिस क्लबबाट खेल्दै गुलशनले राम्रो प्रभाव छाडेका थिए । दुई मात्र खेल खेलेका उनी बाउन्स र गतीका लागि सिपालु छन् ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल अमेरिकामाथि लगातार चौथो जित निकाल्ने सोचमा छ । अमेरिका नेपाल र ओमानसँग सुरुवाती दुबै खेलमा पराजित भएको छ । अमेरिका नेपालमाथि पहिलो जित निकाल्ने सोचमा छ । पछिल्ला ६ खेलमा अमेरिकाले लगातार हार बेहोरेको छ ।

नेपालले २०२० फेब्रुअरीमा टियु मैदानमा भएको प्रतिस्पर्धामा अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । भारतीय मुलका खेलाडीको बाहुल्यता भएको अमेरिका दोस्रो खेलमा ओमानसँग पराजित भएपनि कडा चुनौती दिएको थियो । १ सय ७९ रनको विजयी लक्ष्य ओमानले ४९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

प्रतिक्रिया