ऊर्जामन्त्री र यूएई राजदूतको भेट, पेट्रोलियम एक्जिविसनमा सहभागी हुन निमन्त्रणा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सइद हम्दन अल–क्वाबीले शिष्टाचार भेट गरेका छन । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र यूएईबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।

सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनाका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताए । उनले आगामी नोभेम्बर १५–१८, २०२१ मा अबुधाबीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरे । सो अवसरमा राजदूत अल–नाक्बीले मन्त्री भुसाललाई यूएई सरकारको निमन्त्रणापत्र हस्तान्तरण गरे ।

जवाफमा मन्त्री भुसालले अबुधावीमा हुने सम्मेलनमा आफूलाई निमन्त्रणा गरेकोप्रति त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गर्दै सम्मेलनको सफलताको कामना गरिन । उनले आफ्नो सहभागिताबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी पठाउने बताइन । सो अवसरमा मन्त्री भुसालले रोजगारीका सिलसिलामा दुई लाखभन्दा बढी नेपाली यूएयीमा रहेको र उनीहरूले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गरिन ।

उनले कोभिड–१९ महामारीमा पनि त्यहाँ रहेका नेपालीलाई रेखदेख गरेको जनाउँदै मन्त्री भुसालले यूएई सरकारप्रति धन्यवाद व्यक्त गरिन । उनले नेपालको ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको उल्लेख गर्दै त्यहाँका इच्छुक लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरिन । सो अवसरमा ऊर्जा मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया