‘जीवनको सपना’ विमोचित

काठमाडौं । साहित्यकार रमेश रेग्मीको दोस्रो उपन्यास ‘जीवनको सपना’ सार्वजनिक भएको छ । वासु शशी स्मृति परिषद्को आयोजनामा अग्रज कवि कृष्ण जोशीले उक्त उपन्यासको विमोचन गर्दै वैदैशिक रोजगारमा जानेको पीडालाई मार्मिक रुपमा उठाएको बताए । परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परिषद्का सचिव प्रद्युम्न जोशीले स्वागत गर्दै उपन्यासकार रेग्मी अस्वस्थका कारणले अनुपस्थित भएको जानकारी दिएका थिए ।

साहित्यकार ध्रुव मधिकर्मीले उपन्यासले मानवीय समस्यालाई राम्रोसँग उजागर गरेको बताए । कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले नेपाली साहित्यमा उपन्यास विधा सशक्त रुपमा अगाडि आइरहेको धारणा राखे । उनले उपन्यासकार रेग्मीले वैदेशिक रोजगारीको विषयलाई कलात्मक रुपमा उपन्यासमा उतारेको जिकिर गरे । साहित्यकार श्याम प्रधान साहित्यले समाज र मानवको पक्षमा बोल्नुपर्ने धारणा राख्दै उपन्यासकार रेग्मीको कृतिमा यी पक्ष सबल रुपमा आएको बताए । यो उपन्यास लोक प्रकाशनले प्रकाशन गरेको हो ।

प्रतिक्रिया