अर्जुन इपिएलमा पोखराबाट छनोट

काठमाडौं । नेपाली घरेलु क्रिकेटका युवा स्टार अर्जुन कुमालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन् । पोखराले अर्जुनलाई ट्यालेन्ट हन्ट मार्फत टोलीमा राखेको जनाएको छ । अर्जुन नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा स्टार हुन् । १५ वर्षिय अर्जुन गत चैतमा नेपालको राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा समेत परेका थिए ।

अर्जुन पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । अर्जुनको उमेर कलिलो छ । तर मैदानमा उनले ब्याट चलाउने शैली परिपक्व खेलाडीको भन्दा कम छैन । उत्कृष्ट सट छनोट, धैर्यवान अनि जिम्मेवारी ब्याटिङले सबैलाई प्रभावित पार्दछ । गत माघमा भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा अर्जुनले गण्डकी प्रदेशबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले भरिभराउ आर्मीविरुद्ध ३६ रनको इनिङ खेल्दै यादगार डेब्यू गरेका थिए । त्यसपछि अर्जुनले प्रदेश एक विरुद्ध ३५ र कर्णालीविरुद्ध ४६ रनको इनिङ खेलेका थिए । उनले ओपनिङ गर्दै राम्रो प्रर्दशन गरे । अर्जुनले सन् २०१९ अप्रिलमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन यू१६ प्रतियोगिता खेलेका थिए । उक्त प्रतियोगितामा म्यानमारविरुद्ध १५ बलमा ४ चौका प्रहार सहित २६ रनमा अविजित रहेका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध ४७ बलको सामना गरि १ चौका सहित १६ रन बनाएका थिए ।

त्यस्तै पोखरा मुख्य प्रशिक्षमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल रहने भएका छन् । पोखरामा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, बिक्रम शोब, बिपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव र विपिन रावल लगाएतका खेलाडी छन् । विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभी आउने पक्का भईसकेको छ । गतवर्ष क्रिस गेलको नाम सार्वजनिक गरेपनि टि२० विश्वकपको कारण उनी आउने छैनन् । इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया