लिभरपुलको रोमाञ्चक जित

लण्डन । इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इटालियन प्रतिद्धन्द्धी एसी मिलानमाथि रोमाञ्चक जित निकालेको छ । सुरुवाती अग्रता लिनका बावजुत खेलमा पछि परेको लिभरपुलले घरेलु मैदानमा एसी मिलानलाई ३–२ ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र जोर्डन हेन्डरसनले गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानका एन्टी रेविच र ब्राहिम डियाजले गोल गरे ।

एनफिल्डमा बुधबार राति भएको खेलको नवौं मिनेटमा नै फिकायो तोमोरीको आत्मघाती गोलबाट लिभरपुलले अग्रता लिएको थियो । ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड र सलाहले वान टु वान पास खेल्दा तोमोरीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । १४औं मिनेटमा लिभरपुलले पेनाल्टी प्राप्त गरेपनि मोहम्मद सलाहको पेनाल्टीलाई मिक मेइगनानले बचाउँदा लिभरपुल अग्रता दोब्बर पार्नबाट चुक्यो । एन्ड्रिउ रोबर्टसनको भली प्रहारलाई पेनाल्टी बक्समा इस्माइल बेनासेरले हातले छोएपछि रेफ्रीले लिभरपुललाई पेनाल्टी प्रदान गरेको थियो ।

पहिलो हाफको अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि मिलानले पहिलो हाफमा अग्रता लिन सफल भएको थियो । ४२औं मिनेटमा एन्टी रेविचले राफायल लियोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको शुरुमै मोहम्मद सलाहले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । डिभोक ओरिगीको पासमा सलाहले ४८औं मिनेटमा गोल गर्न सफल भएका थिए । ६९औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई पुनः ३–२ को अग्रता दिलाए । उनले आर्नाेल्डको कर्नरमा हेन्डरसनले गरेको हाफ भली प्रहारलाई गोलमा परिणत गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा ब्राहिम डियाजको प्रहार बाहिरिदा मिलान बराबरीबाट चुक्दा लिभरपुलले रोमाञ्चक जित निकाल्न सफल भएको थियो । यही समूह ‘बी’ को अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पोर्चुगिज क्लब एफसी पोर्टाेसँग गोलरहित बराबरीमा रोकिएको छ । यो नतिजापछि समूह ‘बी’ मा लिभरपुलले ३ अंक जोडेको छ । एट्लेटिको म्याड्रिड र पोर्टाेको समान १ अंक रहँदा मिलान अंकविहीन हुदै पुछारमा छ ।

प्रतिक्रिया