जिरी सभ्यता

देवशंकर पौडेल

आजभन्दा सयौं वर्ष पहिलेको कुरा हो । त्यसवेला लिखु खोला उपत्यकामा सुनुवारहरूको बसोवास थियो । जो आजसम्म छ । त्यस वेला आजको जस्तो दिगो घर बनाएर स्थायी रूपमा बसोवास गर्ने चलन थिएन । भस्मे फाँड्यो आगो सल्कायो । त्यहाँ बाली लगायो । अर्को वर्ष त्यो ठाउँ छाड्यो नयाँ ठाउँमा स¥यो । त्यसै गरी भस्मे फाँड्यो अन्न छ¥यो । बाली उठायो, फेरी अर्को ठाउँमा स¥यो, यस्तै थियो जनजीवन ! भस्मे फाँडेर थुपारेको उरुङमा आगो सल्काउने क्रममा आगो दन्कियो । त्यसैगरी भस्मे फाँडेर बस्ने अर्को परिवारकी बूढी आमै भ्यासको उरुङमा घामको तातोमा बस्तै गरेकी रहिछन् । सल्किँदै आएको आगाको ज्वालाले भेटेर जलिछन् । जसले आगो सल्काएको हो, उसलाई बुढी आमै बसेको थाहा भएन छ ! बेलुका बजै खोज्न जाँदा त जलेर खरानी भइछिन् ।

यस घटनाले उनीहरूको भस्मे फाँडेर खेतिपाती गर्ने अभियान त्यहीँ रोकियो । परिबन्धले गाउँ छाड्नुपर्ने बाध्यता आइपर्यो । त्यसवेला आजको जस्तो देशै छाडेर मुग्लान पस्ने चलन थिएन । यतै अनकण्टारतिर लुक्नु पथ्र्याे । उनीहरूले बूढी आमै पोलिएको ठाउँबाट खेती गर्न ठिक्क पारेको भस्मे र आफ्ना परिवार छाडेर हिँडे । जाँदाजाँदा तामेको जंगलतिर पुगे । त्यताबाट जिरी, च्योर्दुङ्ग आसपास शेर्पाका चौँरी गोठतिर हानिए । डिलपरी मार्बु गाउँतिर पनि पुगे । ती दुई भाइ जे पायो त्यहि खाने, जसका घर गोठमा आश्रय पायो, त्यहिँ बस्ने अवस्थामा पुगे । उनीहरूको जीवन कष्टकर बन्यो ।

आगो मानव जीवनको लागि अभिन्न अंग बनिसकेको थियो । आगो पार्नका निम्ति त्यसबेला आजको जस्तो लाइटर, सलाई इत्यादिको विकास भएको थिएन । लेकाली एक किसिमको च्याउको झुरिएर सुकेको टुक्रा झुलोको रूपमा प्रयोग गरिन्थ्यो । कडा प्रकृतिको दर्शन ढुंगाको आडमा झुलो राखेर फलामे चकमकले बेसरी रगेट्दा झिल्का निस्किन्थ्यो र आगो पथ्र्यो । त्यही आगोमा सुकेका दाउरा मुडा जोरजाम गरेर पहराका ओडार आड लिएर आगो तापेर वर्षा, शीत, तुषारो, हिउँ, असिना आदिबाट सुरक्षित भएर बस्नुपर्ने अवस्था आयो । उनीहरूका खुकुरीका दापमा कर्द, चकमक र झुलो च्याप्ने सानो बासा वा च्याप समेटेर बनाइएको हुन्थ्यो । झुलो त्यहिँ राखिन्थ्यो । ती दुई भाइ मार्बु, सुरी, झ्याकु, सिमी, मन्थलीआदि गाउँतिर त्यसै गरी भस्मे फाँडेर कागुनु, कोदो, मकै आदि खाद्यान्नको जोहो गरेर कष्टकर जीवन गुजार्न थाले ।

एकदिन कसैले दिएका भुटेका मकै भटमास जंगलमा बसेर खाँदै थिए । मकैमा एउटा काँचो सिमीको दानो फेला पर्यो । टिपेर त्यहिँ फाले । अनुकूल मौसम आएपछि सिमी उम्रियो, लहरायो, झाँगियो, लटरम्म फल्यो । त्यहीँ बिउ पाक्यो । बर्सेनि त्यहिँ झ¥यो, त्यहिँ उम्रियो । त्यस खोरियाको ठूलो क्षेत्रफलमा सिमी नै सिमी फैलियो । पछि त्यहाँ मानिसको बसोवास भयो । त्यो सम्पूर्ण ठाउँलाई नै सिमी गाउँ भन्न थालियो ।
त्यतै च्योर्दुङतिरको यात्रामा हिमाली गोठका कन्याहरूसँग शारीरिक सम्पर्क भएछ । ती फिरंगा कहाँ पुगे कहाँ थाहा भएन ! हुन त गोठ डुलाउने हिमाली परिवार पनि खर्क सारीसारी हिँड्थ्यो । ऊ पनि एक प्रकारको फिरंगा नै थियो । ती कन्याबाट सन्तान जन्मिए । उनीहरूबाट जन्मिएका सन्तान न शेर्पा, न सुनुवार भए । शेर्पा परिवारमा हुर्किए । च्योर्दुङको रमणीय उपत्यका जिरीतिर उत्पति भएकाले उनीहरूलाई ‘जिरेल’ भनियो । आज जिरी र जिरेल पर्यायवाची जस्तै भएको छ । भनिन्छ, जिरेलको संस्कृति र संस्कार पक्ष शेर्पासँग अनि जात–थर पक्ष सुनुवारसँग मिल्दाजुल्दा हुन्छन् !

अर्को कथनअनुसार जिरेल किरात जातीको एउटा प्रमुख हाँगो हो । पाँच भाइ मध्ये राई लिम्बु, सुनुवार हायुजस्तै एक भाइको सन्तान जिरेल हुन् । उनीहरूको संस्कार हिन्दू र बौद्ध दुवैसँग मिल्दोजुल्दो छ । लामा र पुरेत दुवै लगाउँछन् । यसरी जिरेल जातिको विशिष्ठ प्रकारको मौलिक संस्कार छ । जिरीको सभ्यतामा जिरेल जातिको महत्वपूर्ण भूमिका छ । मानव समाजको समकालीन दुनियाँमा जिरेल निकै सभ्य छ । शैक्षिक चेतना अग्रस्थानमा छ । दोलखाको जिरी उपत्यकामा पढेलेखेका जिरेल जातीको बसोवास छ ।

माथि कथाको सिलसिलाका फिरंगीहरू भिर ओडारको कष्टकर जीवन व्यतित गरिरहेका थिए । ती साहसी र बलवान सुनुवार दाजुभाइ रितिरिवाज, भाषा, धर्म, संस्कृति र आफ्नो जनजीवनको खोजी गर्न थाले । खोज्दै खोज्दै कालान्तरमा खिम्ती खोलो तरेर सुनुवारका बस्तीतर्फ फर्किए । सुनुवार कन्यासँग विवाह गरेर त्यतै खिम्ती खोला पूर्व घरजम गरे । यस प्रसंगले खिम्तीखोला, लिखुखोला र मार्बुखोलाको परापूर्व कालदेखि आफ्नै खालको सांस्कृतिक सम्बन्ध कायम भएको देखिन्छ । श्रुति–स्मृति भए पनि यो घटना अन्दाजी पाँच सय वर्षभन्दा पुरानो अनुमान गरिएको छ ।

प्रतिक्रिया