खोजखबर

महाप्रलयमा डाइनोसर मासिए तर सर्पहरू जोगिए

हेलेन ब्रिग्स २०७८ असोज १ गते ७:३८ मा प्रकाशित

डाइनसोर नै लोप हुनेगरी एउटा क्षुद्रग्रह बजारिएका कारण पृथ्वीमा सर्प फैलिन सफल भएको एउटा नयाँ अध्ययनले देखाएको छ । क्षुद्रग्रहका कारण पृथ्वीमा ठूलो विनाश भएको अनि अधिकांश पशु र वनस्पतिहरू मासिएको ठानिन्छ । तर, जोगिन सफल केही प्रजातिका सर्पहरू भुइँमुनि लुकेर अनि लामो समय निराहार बसेर महाप्रलयपछिको समयमा फस्टाएको विश्वास गरिएको छ । ती सहनशील सरीसृप तीन हजारभन्दा बढी प्रजाति बनेर पृथ्वीभरि फैलिए । आजभन्दा ६.६ करोड वर्षअघि एउटा क्षुद्रग्रह पृथ्वीमा खस्दा डाइनसोरहरू लोप भएका विश्वास गरिन्छ । त्यतिबेला भूकम्प, सुनामी र डढेलोको प्रकोप उत्पन्न भएको अनि खरानीयुक्त बादलले सूर्य छेकेको हुँदा दशकौँसम्म पृथ्वीमा अन्धकार छाएको मानिन्छ । वैज्ञानिकहरूले त्यो महाप्रलयका कारण पृथ्वीमा ७६ प्रतिशत वनस्पति र जीव मासिएको अनुमान गरेका छन् । तर, केही स्तनपायी जीव, चरा, भ्यागुता र माछाजस्तै सर्पहरू जोगिएका थिए ।

‘आहाराचक्र नासिएको यस्तो परिस्थितिमा सर्पहरू जोगिन र मौलाउन सक्षम छन् अनि ती नयाँ महादेशमा फैलिन तथा आफ्नो पर्यावरणमा नयाँ किसिमले अन्तरक्रिया गर्न सक्षम छन्’, युनिभर्सिटी अफ बाथमा गरिएको अनुसन्धानको नेतृत्व गरेकी डा. क्याथरिन क्लाइनले भनिन् । ‘क्षुद्रग्रहको प्रभावविना ती (सर्प) आज जहाँ छन् सम्भवतः त्यहाँ हुँदैनथे ।’
मेक्सिकोमा उक्त क्षुद्रग्रह बजारिएको बेला सर्पहरू आज हामी जुन रूपमा देख्छौँ लगभग त्यस्तै थिए ः खुट्टाविहीन अनि सिकार निल्न लामो च्यापु भएका । आहारा अभाव हुँदा एक वर्षसम्म निराहार बस्न सक्ने अनि महाविनाशपछि अन्धकारमा सिकार गर्न सक्ने तिनको क्षमता सर्पको अस्तित्वका लागि सहायकसिद्ध भएको हुनसक्छ । जोगिएका थोरै प्रजातिका सर्पहरू भुइँमुनि वा जंगलको सतहमा अनि पानीमा बस्ने खालका थिए ।
अरू जीवसँग प्रतिस्पर्धा कम हुँदा तिनलाई उद्विकासका विभिन्न मार्गबाट पृथ्वीभरि फैलिन ठूलो स्थान उपलब्ध थियो । ती पहिलोपटक एसियामा पनि पुगे र फैलिए । समयक्रमसँगै सर्प अझ ठूला भएर धेरैतिर फैलिए । तिनले नयाँ वासस्थान र नयाँ सिकार फेला पारे । अनि १० मिटर लामो समुद्री सर्पसहित नयाँ प्रकारका सर्प पनि देखा परे । अनुसन्धानकर्ताहरूले सर्पहरूको जीवांशशेषको आनुवंशिक अध्ययन गरेका थिए । यससम्बन्धी शोध वैज्ञानिक जर्नल नेचर कम्युनिकेशन्समा प्रकाशित भएको छ । यो शोधले अहिले अस्तित्वमा भएका सबै सर्पहरूको सम्बन्ध क्षुद्रग्रह बजारिएपछि बाँच्न सफल प्रजातिसँग भएको देखाएको छ । रूखमा बस्ने, समुद्रमा पाइने, विषालु भाइपर र गोमन अनि बोआ र अजिंगरजस्ता अहिले भेटिने विविध प्रकारका सर्पहरू सबै त्यतिबेलाको महाविनाशपछि उत्पन्न भएका हुन् ।

छोटो अवधिमा कम्तीमा आधाजति प्रजाति मासिने घटना पृथ्वीमा केहीपटक मात्र भएको छ । युनिभर्सिटी अफ बाथको मिल्नर सेन्टर फर इभालुसनका वैज्ञानिक डा. निक लङ्रिचका अनुसार विध्वंसपछिको समयमा उद्विकास अनियन्त्रित रूपमा ‘प्रयोगात्मक र नवीन’ हुन्छ । उक्त अध्ययनले पृथ्वी न्यानो अवस्थाबाट अलि चिसो जलवायु भएको अवस्थामा पुग्दा दोस्रोपटक सर्पहरूको उद्विकासको लहर आएको पत्ता लगाएको छ । त्यतिबेला पृथ्वीको ध्रुवमा बरफ जमेर आइसक्यापहरू बनेका थिए अनि पृथ्वीमा हिमयुग सुरु भएको थियो । एन्टार्कटिकाबाहेक सबै महादेशमा सर्प पाइन्छ । समुद्रदेखि मरुभूमिसम्म सर्प पाइन्छ । रूखदेखि जमिनमुनिसम्म ती बस्छन् । सानामा केही सेन्टिमिटर र ठूलामा ६ मिटरभन्दा लामा सर्प पनि हुन्छन् । पारिस्थितिक प्रणालीका लागि सर्पलाई एकदमै महत्वपूर्ण मानिन्छ । तिनले साना जीवजन्तु नियन्त्रण गर्न सघाउँछन् । तर, मानिससँगको द्वन्द्वका कारण धेरै प्रजातिका सर्पहरू लोप हुने जोखिममा छन् । (बिबिसी)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय