एनभीए भलिबल च्याम्पियनसिप असोजमा

काठमाडौं । छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि आयोजना हुने भएको छ । नेपाल भलिबल संघले बुधबार एक पत्रकार सम्मेलन गर्दै असोज १० देखि १६ सम्म हुने च्याम्पियनसिपको आवश्यक तयारी भइरहेको जानकारी दिएको छ । यस च्याम्पियनसिप डिसेम्वरमा आयोजना हुने एनएसएल भलिबलको लागि खेलाडी छनोट र आगामी चैतमा हुने क्लब लिग च्याम्पियनसिपको लागि टिम छनोटको रुपमा रहनेछ ।

प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ६ टोली हुने छन् । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली लिगका लागि छनोट हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब, मणि मुकुन्द भलिबल क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, नयाँबजार सामाजिक युवा क्लब र कर्णाली प्रदेश गरि १२ टोलीको सहभागिता रहनेछ ।

महिलातर्फ होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, एभरेष्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लब गरि ७ टोलीको सहभागिता रहनेछ । ६ असोजसम्म टिम दर्ता गराउने समय रहेकाले टिमको सङ्ख्या बढ्न सक्ने संघले जनाएको छ । यसपटक पुरस्कार राशिमा पनि दोब्बर वृद्धि भएको छ । च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । गत सिजनका शीर्ष तीनले २ लाख, १ लाख र ५० हजार पुरस्कार प्राप्त गरेका थिए । गत वर्ष चैतमा भएको क्लब लिगको विजेताले ३ लाख रुपैयाँ हात पारेका थिए ।

च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघले क्लब च्याम्पियनसिपका लागि सरकारसँग स्वीकृति लिइसकेको जनाएको छ । यसपटक च्याम्पियनसिपमा सहभागी हुने टोलीले खर्चको व्यवस्थापन आफैं गर्नुपर्ने भएको छ । यसअघि संघले केही खर्च व्यवस्थापन गर्दै आएको थियो । च्याम्पियनसिपमा सहभागी हुन इच्छुक देशैभरका क्लबले सहभागिताका लागि आवेदन दिन सक्ने संघले जनाएको छ । नियम अनुसार हरेक टोलीले बढीमा ३ विदेशी खेलाडी राख्न पाइने छ। विदेशी खेलाडीले श्रम स्वीकृतिसँगै आफ्नो राष्ट्रिय संघको पत्र समेत पेश गर्नुपर्ने हुन्छ ।
पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा भने हेल्प नेपाल र होंगान्जी न्यू डायमन्ड च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया