‘उचाई’ को छायांकन मनाङमा

मनाङ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘उचाई’ को छायांकन मनाङमा हुुने भएको छ । कोरोना र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा उक्त चलचित्रको छायांकनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली पुगेको हो । अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट उनी मनाङ पुगेका थिए । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायांकनका लागि विभिन्न स्थानको स्थलगत अवलोकनसमेत गरेका छन् ।

टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको दुई दिनसम्म अवलोकन गरेर टोली बुधबार काठमाडौं फर्किएको हो । साथै उक्त टोलीले सगरमाथा आधारशिविरमा पनि छायांकनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्रि विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज अचार्यले जानकारी दिए । उनले मनाङ छायांकनका लागि निकै उपयुक्त स्थान रहेको बताए । पर्यटन व्यवसायी विनोद गुरुङले मनाङमा करिब १० दिन सो चलचित्रको छायांकन हुने बताए । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो चलचित्रको छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।

यस चलचित्रमा अभिनेता अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन इरानी, परिणिती चोपडा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । दुई साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ । यस चलचित्र छायांकनले कोरोनाका कारण थला परेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्नसक्ने अनुमान गरिएको पर्यटन व्यवसायी गुरूङले बताए । उनका अनुसार यस बलिउड चलचित्र प्रदर्शनपश्चात् मनाङ मात्र नभइ सिंगो नेपालकै प्रचारप्रसचार हुने र नेपाललाई विश्वसामु चिनाउन मद्दत पुग्नेछ ।

प्रतिक्रिया