खोजखबर

आधुनिक विकसित नेपाल कम्युनिष्ट पार्टीले मात्रै बनाउँछ : अध्यक्ष ओली

सौर्य अनलाइन २०७८ भदौ ३० गते १७:५३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कम्युनिष्ट पार्टीले मात्रै सक्ने दाबी गरेका छन् ।

बुटवलमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा कम्युनिस्ट पार्टीले मात्र पूरा गर्छ । कम्युनिस्ट पार्टीबाट देशलाई तीव्र विकासको बाटोमा अघि बढाउन, सुशासन र विकासको माध्यमबाट अघि बढाउन, समृद्धि हासिल गराउन सम्भव छ ।’

ओलीले कम्युनिस्ट पार्टीले मात्र विकसित नेपालमा रुपान्तरित गर्न सक्छ भन्ने कुरा पुष्टि भएको जिकिर गरे । ‘गरिबी, पछौटेपन, अशिक्षा र बेरोजगारीजस्ता कुरा हटाउन, देशलाई पूर्वाधारहरुको विकास गर्दै आधुनिक विकसित नेपालमा रुपान्तरित गर्न कम्युनिस्ट पार्टीले मात्र गर्न भन्ने कुरा केही वर्षयता झन् प्रष्ट देखियो,’ उनले भने, ‘यो देशको सार्वभौमसत्ता, स्वाधीनता, गर्वका साथ कुनै पनि देशसँग बराबरी सम्बन्ध राख्ने, राष्ट्रिय हितको संरक्षण गर्न, गुमेको भूभाग फिर्ता लिन कम्युनिस्टबाहेक कसैले सक्दैन भन्ने देखिएको छ ।’

एमालेले बाटो, पुल बनाउनेमात्र होइन सुरुङ केबलकारको युगमा नेपाललाई प्रवेश गराएको ओलीको दाबी थियो । ‘दुनियाँका पर्यटकहरु भैरहवामा झर्छन्, लुम्बिनी हेर्छन् । पर्यटक खुसी हुने खालका होटलहरु बनाउनुस्,’ उनले भने ।

कार्यकर्ता भेलामा ओलीले एमाले पार्टी कब्जा गर्न, ध्वस्त पार्न, त्यो पनि नसके प्रतिक्रियावादीको पाउमा चढाउन माधव नेपालहरुले खोजेको भन्दै नेता कार्यकर्तालाई तपाईहरुले बचाउनुभयो सलाम छ भनेका थिए ।

अब घन्टाघर भत्काउँछन्, हामी आएर भव्य बनाउँछौँ

एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले भत्काउने काम मात्रै गरेको आरोप लगाएका छन् । ओलीले अब घन्टाघर पनि भत्काउन लागेको भन्दै आपत्ति जनाए । घन्टाघर भत्काए पनि बनाउन नसक्ने उनको भनाइ छ।

‘हामीले धरहरा बनायौँ । रानीपोखरी बनायौ,’ उनले भने, ‘अब यिनीहरूले घन्टाघर भत्काएर नयाँ बनाउने रे । यिनीहरूले भत्काउलान् तर बनाउँदैनन् । यिनीहरूले भत्काए भने हामी आएर भव्य घन्टाघर बनाउँछौँ, एमालेले बनाउँछ ।’

स्वास्थ्यमन्त्री छैन, डाइरेक्टर हटाए, नजान्नेलाई जागिर खुवाइयो

अध्यक्ष ओलीले वर्तमान सरकारले ल्याइदिएको कोभिड – १९ विरुद्धको खोप वितरण गर्न नसकेको आरोप लगाएका छन् । कोभिड महामारीका बेला स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्री नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले खोपबारे बुझेको महानिर्देशक हटाएर केही नजानेको मान्छे राखेको भन्दै आक्रोश पोखे ।

‘खोप उत्पादक नभए पनि भारतपछि साउथ एसियामा हामीले खोप सुरु गर्यौँ । करोडौँ खोप ल्यायौँ । अहिले यो सरकारलाई त्यो खोप बाँड्न हम्मेहम्मे परेको छ,’ उनले भने, ‘मन्त्री पनि छैन, डाइरेक्टर पनि हटाए । केही पनि नजाने मान्छे ल्याएर जागिर खुवाएर राख्या छ ।’

आफूले ल्याएका विकास निर्माणका योजनाहरु काम गर्न नसकेर सरकारले धमाधम रद्ध गरिरहेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय