१२ करोड पारिश्रमिक सम्मानको विषय हो : करिना

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले आफूले १२ करोड पारिश्रमिक मागेको महिलाप्रतिको सम्मानको विषय भएको बताएकी छन् । केही समयअघि अलौकिक देसाइको नयाँ चलचित्र ‘सीता’ का लागि उनले १२ करोड पारिश्रमिक मागेपछि बलिउडमा निकै चर्चा भएको थियो । अभिनेत्री करिनाले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माण पक्षले अन्य अभिनेत्रसँग पनि छलफलअघि बढाएको छ । ‘रामायण’ को कथामा आधारित रहेर बनाउन लागिएको यो चलचित्रमा करिनालाई सीताको भूमिकाका लागि अनुरोध गरिएको थियो । उनले महँगो पारिश्रमिक मागेपछि यो विषयले बजार तताएको छ । यसबारे अभिनेत्री करिना भनिन्, ‘केही वर्षअघिसम्म पुरुष र महिला कलाकारबीच पारिश्रमिकमा देखिएको भिन्नताको विषयमा कसैले पनि आवाज उठाएको पाइन्थ्यो । तर, अहिले परिस्थिति फेरिएको छ । यस बारेमा बहस हुन थालेको छ । मैले निर्मातालाई म के चाहन्छु भन्ने कुरा पहिले नै स्पष्ट पार्नुपर्ने हुन्छ । यो महिलाप्रतिको सम्मानको विषय पनि हो ।’

यो भूमिकामा काम गर्नका लागि करिनाले ८ देखि १० महिना वर्कसप गर्नुपर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । खबरमा यो उनको करिअरकै सबैभन्दा ठूलो चलचित्र हुने उल्लेख छ । अभिनेत्री करिनाले १२ करोड पारिश्रमिक मागपछि बलिउड अभिनेत्री तापसी पन्नु, प्रियामणी लगायतले समर्थन जनाएका थिए । यसैबीच केही सामाजिक सञ्जाल प्रयोगकर्र्ताले अभिनेत्री करिनाले ‘सीता’ चलचित्रमा काम गरेमा हिन्दु धर्म र सीतामाथि नै अपमान हुने जिकिर गर्दै विरोध गरेका थिए । अहिले करिना अभिनेता आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘लाल सिंह चड्डा’ को छायांकनमा व्यस्त छन् ।

प्रतिक्रिया