महिला पुरुषले सँगै पढ्न नपाइने

२१औँ शताब्दीमा आइपुग्दा पनि महिलालाई दोस्रो दर्जाका नागरिकको रूपमा गरिने व्यवहारको भने अन्त्य भएको छैन । यसको पछिल्लो उदाहरण हो, अफगानिस्तान । केही समयअघि विद्रोहद्वारा सत्ता कब्जा गरेको तालिबानले विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजन गरिने र पोसाकसम्बन्धी नयाँ नियम लागू गरिने जनाएको छ । उच्च शिक्षासम्बन्धी मामिला हेर्ने मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने तर, पुरुषहरूसँगै बसेर अध्ययन गर्न भने नपाउने बताएका छन् ।

उनका अनुसार विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा भएको छ । सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो । अहिले तालिबानले महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ ।

तर, गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म जनस्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न भनेको थियो । आफ्नो शासनको सुरुआतको संकेत गर्नका लागि तालिबानले राष्ट्रपति भवनमा आफ्नो झण्डा फहराएको भोलिपल्ट तालिबानको उच्च शिक्षासम्बन्धी नीति घोषणा गरिएको हो । तालिबानले एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएको छ ।

पछिल्लो नीतिले अफगानिस्तानमा तालिबान शासनसँगै व्याप्त परिवर्तनको संकेत गरेको छ । यसअघि छात्राहरूले पोसाकसम्बन्धी नियम पालना गर्नुपर्ने थिएन र महिला–पुरुष एकै कक्षामा पढ्न पाउँथे । अहिलेको परिवर्तनसम्बन्धी विषयमा हक्कानीले भने, ‘मिश्रित शिक्षा प्रणाली अन्त्य गर्न हामीलाई कुनै समस्या छैन । जनता मुस्लिम हुन् र उनीहरूले यसलाई स्वीकार गर्नेछन् ।’

तालिबानले सँगै बसेर पढन नपाउने भनेको छ । तर, विश्वविद्यालयहरूसँग महिला र पुरुषका लागि छुट्टै कक्षा उपलब्ध गराउने स्रोत नरहेकाले केहीले पछिल्लो नियमले महिलाहरूलाई शिक्षाबाट वञ्चित गर्ने संकेत गरेका छन् । तर, हक्कानीले भने पर्याप्त महिला शिक्षकहरू रहेको र उपलब्ध नरहेका स्थानमा वैकल्पिक उपाय पहिचान गरिने बताए । ‘यो सबै विश्वविद्यालयहरूको क्षमतामा निर्भर रहन्छ,’ उनले भने, ‘पुरुष शिक्षकहरूलाई पर्दा पछाडिबाट पढाउनेगरी प्रयोग गर्न सकिन्छ वा प्रविधिको प्रयोग गर्न सकिन्छ ।’ छात्रछात्रालाई प्राथमिक र माध्यमिक तहका विद्यालयमा पनि अलग्गै पढाइँदै आइएको थियो ।

प्रतिक्रिया