महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेका छन् ।
सोमबार एक कार्यक्रममाझ टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह र महासचिव इन्द्रमान तुलाधरलगायतले बिदाई गरे । छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेका छन् । स्वास्थ्य स्थितिका कारण टोलीका नियमित सदस्य डिफेन्डर पुनम जर्घा मगर उज्वेकिस्तान भ्रमणमा हुने छैनन् । उनले दशरथ रंगशालामा आयोजना भएको बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेल समेत गुमाएकी थिइन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल रहेको समूह ‘एफ’ मा र फिलिपिन्स र हङकङ रहेको छ । नेपालले फिलिपिन्ससँग २ असोजमा खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेल ५ असोजमा हुने छ । यस समूहको फिलिपिन्स र हङकङबीचको ८ असोजमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ । नेपालले सन् १९९९ मा फिलिपिन्ससँग एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५–० को हार बेहोरेको थियो । यस्तै हङकङसँग सन् १९८६ मा १–० र १९८९ मा ३–० को हार बेहोरेको थियो । नेपालको एपीएफ महिला टोलीले भने हङकङको राष्ट्रिय टोलीलाई सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ३–१ ले पराजित गरेको थियो ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको लागि नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपुर्ण खेलमा नेपालले सविता रानामगर र प्रीति राईले डेब्यु खेलमै गोल गरेपछि नेपालले २–१ को जित निकालेको थियो । दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

बंगलादेशसँगको दुई खेलबाट ५ खेलाडीले सिनियर टोलीमा डेब्यु गरेका थिए । प्रशिक्षक ग्यारीले सविता रानामगर, प्रीति राई, रश्मी कुमारी घिसिङ, सिर्जना सिंह ठकुरी र रजनी ठोकरलाई डेब्यु दिएका थिए । रजनीले दोस्रो खेलको अन्त्यतिर डेब्यु पाएकी थिइन् । अब टोलीमा रहेका डिफेन्डरद्वय विमला विक र निशा थोकरले डेब्यु गर्न बाँकी छ ।

टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स, सहायक प्रशिक्षकमा चेतन घिमिरे, भगवती थापा, अरुणा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा श्रीप्रकाश वैद्य छन् । टोलीसँगै महिला फुटबल विभागका प्रमुख हरि खड्का पनि रहेका छन् । फिजियोमा नविना श्रेष्ठ वैद्य र मनिषा महर्जन, इक्विपमेन्ट म्यानेजरमा दुर्गा बुढा तथा मिडिया अफिसर शिवानी थापा रहेकी छिन् ।

प्रतिक्रिया