‘थाडम’ मा आदित्य र मृणाल

मुम्बई । तमिल चलचित्र ‘थाडम’ को हिन्दी रिमेकमा अभिनेता आदित्य रोय कपुर र अभिनेत्री मृणाल ठाकुरको मुख्य भूमिकामा देखिने भएका छन् । भुषण कुमार र मुराद खेतानीले निर्माण गर्न लागेको यस चलचित्रको अहिलेसम्म नाम भने राखिएको छैन । यसअघि थुप्रै राम्रा चलचित्रमा काम गरिसकेकी अभिनेत्री मृणाल यस चलचित्रमा भने प्रहरीको भूमिकामा देखिने छन् ।

वर्धन केतकरले निर्देशन गर्ने यो चलचित्र अक्टोवरबाट छायांकनमा जाने तयारी रहेको छ । चलचित्र सत्य घटनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा काम गर्ने पक्का भएपछि अभिनेत्री मृणालले आफूले हालसम्म गर्दै आएको रोलभन्दा यो भिन्न हुने जनाएकी छन् । उनले भनेकी छन्, ‘जब मैले चलचित्रको कथा पढेँ, तत्कालै मलाई लाग्यो कि म यो चलचित्रको हिस्सा हुनुपर्छ । मेरो पात्र निकै रोचक रहेको छ र चलचित्रमा प्रहरीको भूमिकामा खेल्नु मेरो गर्नुपर्ने सूचीमा नै रहेको थियो ।’

भुषण कुमारले चलचित्रमा प्रहरीको भूमिकाबारे मुरादसँग कुराकानी गर्दा नै मृणालको नाम आएको बताए । उनले अभिनेत्री मृणालले आफ्ना चलचित्रमा निकै रमाइला रोलहरू खेलेको जनाउँदै भने, ‘त्यसमा उत्कृष्ट प्रदर्शन पनि गरेकी छन् । हामीलाई यो भूमिकामा उनी नै फिट हुन्छन् भन्ने लाग्यो । साथै, उनी पनि यो चलचित्र खेल्न त्यति नै उत्साहित छन् ।’

प्रतिक्रिया