नेपालमा आर्थिक विकासको अपेक्षा र मनोविज्ञान

एनपी रिजाल

राजनीतिक प्रणाली परिवर्तनको मूल कारण आर्थिक रूपान्तरणका लागि व्यवस्था बाधक भएको बताइयो । तर, सत्तामा पुगेका राजनीतिक दल/शक्तिहरू कहिल्यै स्थिर बन्न सकेनन् । लामो समयसम्म अस्थिर राजनीतिक संस्कारको पीडा भोगेका हामी नेपालीको मानसिकता नै राजनीतिक दलहरू विकासमैत्री छैनन् भन्ने छ । जुनसुकै राजनीतिक व्यवस्था आए पनि सम्पन्न नेपालको लक्ष्य धेरै टाढा छ ।

किन नेपालको आर्थिक विकास निम्न स्तरको छ ? विश्व मानचित्रमा एक स्वतन्त्र देशको पहिचान बनाउन सफल नेपालको आर्थिक विकास भने किन अपेक्षित रूपमा हुन सकेको छैन ? के नेपाल युरोपको स्विटजरल्यान्डजस्तो सम्पन्न देश हुन सक्दैन ? किन युवा पुस्ता नेपालमा भविष्य देख्दैनन् र अस्ट्रेलिया, अमेरिका, जापानका ठूला सडक, उच्च भवन भएको संसारमा रमाउने सपना देख्छन् ? हामी नेपालमै बसेर पनि किन नेपालमा केही भएको छैन भनिरहेका छौँ ? यी माथिका प्रश्नहरूको एउटै उत्तर छ, हाम्रो अपेक्षा धेरै ठूलो सम्पन्न नेपालको छ तर नेपालमा भएका भौतिक प्रगति भने निम्न गुणस्तरका भइदिए ।

सम्पन्न हुन खोज्नु ठूलो कुरा होइन । नेपालमा पनि विश्वका सम्पन्न देशमा जस्तै फराकिला मोटर बाटो, विद्युतीय रेल, ठूला ठूला भवन भइदिएको भए हुन्थ्यो । प्रतिव्यक्ति आय उच्च भए, शिक्षा, स्वास्थ्यको सुविधा उच्च कोटीको हुने थियो । अर्थशास्त्री लियोनेल रबिन्सले मानिसका आवश्यकता असीमित हुन्छन् तर ती असीमित आवश्यकता पूरा गर्ने साधन सीमित हुने कारण आर्थिक समस्या सिर्जना हुन्छ भनेका छन् । आर्थिक समस्या सिर्जना हुने मुख्य कारण भनेको असीमित आवश्यकता र ती आवश्यकता पूरा गर्ने साधन सीमित हुनु हो ।

के नेपालमा आवश्यकता पूरा गर्ने साधनको अभाव छ त ?

आर्थिक विकासका लागि देशमा लगानी गर्न ठूलो मात्रामा स्रोत साधनको आवश्यकता पर्छ । अझ भन्नुपर्दा हाम्रो मानसिकता नै विकासमैत्री हुनुपर्छ । आर्थिक प्रगतिको लामो छलाङ मार्नका लागि त्यही अनुसारको तयारी गर्नुपर्छ । हामीले नेपालमा अपेक्षा गरेको प्रगति र हामी बसिरहेको समाजको मानसिकता बीचको खाडल पुर्नु आवश्यक छ । अर्थात हाम्रो विकासप्रतिको मानसिकतामा परिवर्तन हुन आवश्यक छ ।

 

नेपालजस्तो बनाउने कि स्विट्जरल्यान्ड जस्तो ?

नेपालको भूबनोट युरोपको स्विट्जरल्यान्ड जस्तो छ । त्यसकारण नेपाललाई स्विट्जरल्यान्ड जस्तै बनाउनुपर्छ । कक्षामा विद्यार्थीलाई घोकाउँदा शिक्षकले भन्ने गरेको कुरा दिमागमा राखेको युवापुस्तालाई राजनीतिक नेताहरूले चुनावको दौरानमा अब नेपाललाई पनि स्विट्जरल्यान्ड जस्तै बनाउने र पर्यटनबाट नेपाललाई सम्पन्न बनाउने नाराहरू सुनाइए । एउटा विवेकशील युवा जसले विश्व मानचित्रमा आएको आर्थिक प्रगतिलाई छेउबाट नियालीरहेको छ उसले स्वभाविक रूपमा युरोपमा भएको विकासजस्तै विकसित नेपालको सपना देख्छ । नेपाललाई पनि विश्वका सम्पन्न देशको जस्तै आर्थिक र सामाजिक संरचना भएको हेर्न चाहान्छ । सम्पन्न नेपाल कस्तो हुने ? विश्वका सम्पन्न देशको जस्तो विकास अवधारणा ल्याउने कि नेपालको छुट्टै पहिचान बोकेको र नेपालको मौलिक संस्कृति, मूल्यमान्यता बोकेको सम्पन्न नेपाल बनाउने ? यातायात, सञ्चार क्षेत्रमा भएको विकासले आमनेपाली जनताले पनि विश्वमा आएका नयाँ प्रविधिले सम्पन्न नेपालको परिकल्पना गर्नु स्वभाविक हो । तर, हामीले खोजेको सम्पन्न युरोप र संयुक्त राज्य अमेरिकाको जस्तो अनि हामी जन्मेर हुर्केको माटो र समाजमा रहेको संरचनात्मक धरातल बेग्लै किसिमको छ । हामीले सम्पन्न नेपालको परिकल्पना नेपालको सामाजिक, संस्कृतिक र भौगोलिक धरातलबाट खोज्नुपर्छ । सम्पन्न नेपालमा नेपालको मौलिक धरातललाई जीवन्त राख्ने किसिमको हुनुपर्छ । त्यसमा हामी गल्ती गर्दै छाैं कि ?

काम धेरै भए तर गुणस्तर कम
विगत ८० वर्षको दौरानमा नेपालमा राजनीतिक प्रणाली परिवर्तनका लागि पटकपटक आन्दोलन भए । त्यही दौरानमा आर्थिक विकासका योजनाहरू थोर बहुत रूपमा सम्पन्न भई नै रहे । सरकार अस्थिर बनिरहे पनि पञ्च वर्षीय, त्रिवर्षीय योजनाहरू कार्यान्वयन भइरहे । कर्णाली प्रदेशमा बाहेक अन्य प्रदेशमा सडक यातायात पनि गाउँगाउँसम्म पुगे । अझ सञ्चारको क्षेत्रमा नेपालमा ठूलो प्रगति भएको छ । पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन मात्र होइन मोबाइल र इन्टरनेटको सेवाको क्षेत्रमा पनि ठूलो प्रगति भएको छ । खोलामा पुल बनेका छन् । बाढी पहिरो नियन्त्रण गर्नका लागि खोलामा बाँध बाँधिएका छन् । सडकमा सोलार बत्ती जडान भएका छन् । त्यसबीचमा भएका कामको तालिका बनाउने हो भने धेरै लामो हुन्छ । तर धेरै काम गुणस्तरहीन भएका छन् । सडकमा कालोपत्रे गरेको एक वर्ष बित्न नपाउँदै भत्किन्छ । पुल बाढीले बगाएर लान्छ । मोबाइल सेवा देशव्यापी विस्तार गरेको भए पनि गुणस्तर कमजोर छ । कमसल कामको कारण सिर्जना भएको समस्या भोगेका हामी नेपाली विकासको उपलब्धीप्रति सन्तुट छैनौँ । जति विकास निर्माणका काम भएका छन् तिनीहरू दीगोपन भए मात्र पनि हाम्रो नेपाल विकास भएको छैन भन्ने मानसिकतामा सुधार हुने थियो । हामीले देख्ने सम्पन्न नेपालको परिकल्पना स्विट्जरल्यान्डको जस्तो होइन आफ्नो पहिचानले भरिएको सुन्दर नेपालको परिकल्पना गर्ने अवस्थामा हुने थियौँ ।

अस्तिर राजनीतिक संस्कारको छाप
नेपाल आर्थिक विकासको गतिमा पछाडि पर्नुमा राजनीतिक प्रणालीलाई दोष दिइने गरिन्छ । १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनकालमा नेपालमा थोरबहुत विकास नभएका होइनन् । पत्रपत्रिकाको सुरुआत, जलविद्युत्को उत्पादनको सुरुआत, हुलाक सेवा, वीर अस्पताल, त्रिचन्द्र कलेजको स्थापना इत्यादि । अझ भनौँ, नेपालमा आर्थिक विकासको सुरुआत नै राणाशासन कालमा भएको हो । तर, ती अपेक्षाभन्दा कम थिए । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपालमा आर्थिक विकास र सामाजिक परिवर्तनका लागि ढोका खुल्यो । तर, प्रजातन्त्र नै टिक्न सकेन र ०१७ सालमा आएको पञ्चायती व्यवस्थाको दौरानमा पनि नेपालमा धेरै भौतिक विकासका गतिविधि भए । तर, ती पनि अपेक्षा भन्दा कम भए । ०४६ सालमा पहिलो जनआन्दोलनमार्फत प्रजातन्त्रको पुनःस्थापना भयो । त्यसपछि ०६२÷६३ सालसम्म भएको बहुदलीय प्रजातन्त्रको कालमा पनि नेपालमा भौतिक विकासका पूर्वाधारहरू निर्माण नभएका होइनन् तर ती पनि हाम्रो अपेक्षाभन्दा कम थिए । त्यही दौरानमा नेपालको आर्थिक र सामाजिक रूपान्तरणका लागि १० वर्ष लामो समयसम्म माओवादीले गरेको जनआन्दोलनले देशमा राजतन्त्रको अन्त्य गर्न सफल भयो तर स्वयं माओवादी सत्तामा आयो । त्यसपछि स्थापना भएको गणतन्त्र र संघीय राजनीतिक संरचनामा पनि हाम्रा आर्थिक विकासको अपेक्षा भन्दा काम थोरै भएका छन् । राजनीतिक प्रणाली परिवर्तनको मूल कारण आर्थिक रूपान्तरणका लागि व्यवस्था बाधक भएको बताइयो । तर, सत्तामा पुगेका राजनीतिक दल÷शक्तिहरू कहिल्यै स्थिर बन्न सकेनन् । लामो समयसम्म अस्थिर राजनीतिक संस्कारको पीडा भोगेका हामी नेपालीको मानसिकता नै राजनीतिक दलहरू विकासमैत्री छैनन् भन्ने छ । जुनसुकै राजनीतिक व्यवस्था आए पनि सम्पन्न नेपालको लक्ष्य धेरै टाढा छ । हाम्रो पुस्ताले नेपालमा पूर्वपश्चिम रेल गुडेको देख्न पाउँछ र ? जस्ता मानसिकतामा परिवर्तन गराउने खालको नेतृत्वकर्ताको आवश्यकता छ ।

के सम्पन्न नेपाल सम्भव छ ?
आजभन्दा पाँच वर्ष अगाडीसम्म नेपालमा दैनिक १८ देखि २२ घण्टासम्म बिजुली जाने गरेको हामीले भोगेका हौँ । नेपालमा विद्यमान लोडसेडिङ समस्याको अन्त्य हुन सक्दैन भन्ने हाम्रो मानसिकता थियो । तर, विगत चार÷पाँच वर्षको दौरानमा नेपालमा लोडसेडिङको अन्त्य भएको छ । त्यसबीचमा जलविद्युत् उत्पादनमा पनि वृद्धि पनि भयो तर त्यसभन्दा पनि व्यवस्थापन पक्षमा सुधारका कारण नेपालमा विद्यमान लोडसेडिङको समस्या अन्त्य भएको हो । नेपालमा पनि छोटो समयमा आर्थिक विकासको लक्ष्यमा पुग्न सक्ने सम्भावना छ । एक दशकसम्म स्थिर सरकार बनेर विद्यमान आर्थिक चुहावट नियन्त्रण गरी दिगो भौतिक विकास गर्न सक्ने नेतृत्वकर्ताको आवश्यकता छ । त्यसपछि मात्र हाम्रो नेतृत्वकर्तामा पनि आर्थिक विकासको दिगो भिजन छ र नेपालसँग पनि युरोपियन क्षमताको आर्थिक विकास गर्ने हैसियत छ भन्ने मानसिकताको विकास हामी नेपाली जनतामा हुनसक्छ ।

प्रतिक्रिया