बामदेव गुमनाम कि बदनाम ?

प्राडा बद्रीविशाल पोखरेल

बामदेव गौतम चरम अस्थिर, दोधारे, दलबदलु, चरम महत्वाकांक्षी, ढुलमुल भएका कारण उनी अहिले करिब एक्लोजस्तै भएका छन् । माधव नेपालमार्फत् गठबन्धन सरकारमा महत्वपूर्ण मन्त्रालय पाउने भएपछि ओलीलाई तथानाम गाली पत्र लेखेर पार्टी परित्याग गरेका छन् । यत्ति गाली नगरी मन्त्रीपद पाउने अवस्था पनि थिएन होला ।

आजीवन कम्युनिस्ट आदर्श स्थापना र विकासका लागि लागिपरेको एउटा योद्धा त्यसबाट च्युत हुनु बदनाम वा विद्रूप हुनु हो । यस्ता कुराले जीवनभर आर्जन गरेको व्यक्तित्वको उचाइ पनि ह्वात्तै घट्छ । जब मानिसमा सामान्य इमान, जमान र नैतिकता हुँदैन भने मानिस विद्रूप, विरूप वा विखण्डित हुन्छ । झिना मसिना विषयका आधारमा कुनै पनि बुझ्झकी सन्तानले घरमा आगो लगाउँदैन, घर खरानी पार्दैन । तर त्यस्तो हुँदो रहेछ । एउटा बाबु वा आमा तीन/तीनवटा सन्तान जन्माएर पोइल वा जोइल गएर बदनाम भएजस्तै एमाले पार्टीमा यस्ता बद्नाम अनुहार देख्नुपरेको छ । यस्ता एक बद्नाम चरित्र बामदेव गौतमका बारेमा लेखिएको निम्नलिखित कविता र लेखले सबै फेहरिस्त बताउँछ ।
किस्ता किस्तामा बिकेको जखमले बोको
आज भने सदाका लागि बिक्यो

बोकाले बल्खु खायो, मल्खु खायो
छोरालाई सहिदको कोटामा विदेश पठायो
प्रधानमन्त्री नपाउँदा धेरै छटपटायो,
उधुम मच्चायो, मुर्छा पर्यो
आफूलाई सिद्धार्थ गौतमको खनाति भन्थ्यो
आफ्नै पुर्खा खलास पार्ने खलाँती भयो

बोको अत्यन्त लोभी थियो
आफूलाई ढक तराजुहरूमा जोखिरहन्थ्यो
चोरी चोरी खान्थ्यो, खोरमा आतंक मच्चाउँथ्यो
बारबार आफ्नो भाउ आफैँ लगाउँथ्यो
मन्त्री हुँदा लाप्सालाप्सा सुन खान्थ्यो,
पार्टीमा हुनसम्मको घुनपुत्ली लगाउँथ्यो ,
आफैँलाई बेच्न कहिले खुमबहादुरसित बैना लिन्थ्यो
अहिले त्यही घोर्ले खसी महँगो मोलमा बिक्यो
यस लेखकले अलि पहिले एउटा नेता भर्खर माक्र्सवादको मलामी गयो भन्ने कविता लेखेको थियो । यसपछि लेखिएको उपयुक्त कवितांशले नेकपा एमालेमा आन्तरिक र बाह्य शक्तिमार्फत् चरम विखण्डन र विग्रह ल्याउन खोजे पनि आमकार्यकर्ता र नेताको सचेतताले सम्भव हुन सकेको छैन । पार्टीभित्रैका एकाध विभीषण खोजेर महँगै मोलमा केही नेता र सभासद्हरू खरिद गरेको स्पष्ट खुलासा भएकै छ । उक्त कविता व्यङ्ग्य भए पनि त्यसले नेपाल र गौतम प्रवृत्तिलाई उल्लेख गरेको पाठकहरूलाई जानकारी भएकै छ । तसर्थ यही कविता सिरानी हालेर बामदेव महात्म्य लेखोटका लागि लेखक तयार भएको हो ।, पार्टीको अगुवा र नेता आँ गर्दा अलंकार बुझ्ने हु्नुपर्छ । नेता र कार्यकर्तालाई सूक्ष्म रूपमा परख गर्ने क्षमताविना कुनै पनि नेता प्रमुख हुन सक्तैन र भए पनि टिक्न सक्तैन । पुर्खाहरूले हलेदो भनेर थाहा पाए पछि कोट्याइरहनु पर्दैन त्यसै भनेका होइनन् ।

जननेता मदन भण्डारीमा माधव नेपाल बाहेकका सबै नेताको पहिचान र प्रतिभा परख गर्ने क्षमता रहेको देखिन्छ । किनभने भण्डारीले बामदेव गौतमलाई कुनै पनि हालतमा पार्टीको प्रमुख स्थान र मान दिनु हुँदैन र दिइयो भने पार्टी धुलो हुन्छ भन्नुभएको थियो । नौ महिने शासन कालमा उपमहासचिव पद सिर्जना गरेर गौतमलाई आसीन गराएपछि उनमा तीव्रतम रूपमा महत्वाकांक्षा जाग्दै जाँदा पार्टीमा गम्भीर समस्या उत्पन्न भएको हो । तर, ०४६ सालको पूर्व सन्ध्यामा भारतीय सशस्त्र सैन्यशक्ति नेपालमा जवर्जस्ती प्रवेश गराएर गणतन्त्र ल्याउन हत्ते हालेपछि पनि माधव नेपालप्रति बेलैमा सतर्क नहुनु वहाँको ठूलो गल्ती हो भन्ने यस लेखकलाई लाग्छ । कसैलाई पनि अतिविश्वास अविश्वास गर्नु दुवै घातक हुन्छ । विकृतिले जतिबेला टाउको उठाउँछ त्यति नै बेला तह लगाइहाल्नुपर्छ तर यस्ता कुरामा पटक्क ध्यान नदिँदा अहिले विस्फोटक अवस्था आएको हो । अझै पनि केन्द्रीय तह र त्यसभन्दा माथिका नेताहरूलाई मसिनो गरी हेर्नु र केलाउनु पर्छ ।

मदनले भनेझैं अवसर पाएर पनि इमानदार हुने नेता कति छन् एमालेमा । यस लेखकका दृष्टिमा त्यस्ता नेता कम्ती नै छन् । कतिपय एमाले केन्द्रीय नेताहरू शुद्धीकरण अभियानविना किमार्थ श्ुद्ध हुने छैनन् । विराटनगरमा महानगरस्तरीय अगुवा कार्यकर्ता भेलामा पूर्वमन्त्री तथा नेता लालबाबु पण्डितले समसामयिक महत्वपूर्ण विषय उजागर गरेको पाइयो । बोल्नका लागि बोलेर केही हुन्न । एमालेमा विषयको सार पक्रेर आकर्षक रूपले सिँगारेर बोल्न सघन प्रशिक्षण नै दिनुपर्ने अवस्था छ । चामल पनि बेच्न नजान्ने एमाले पर्याप्त छन् । यो लेखक समग्र रूपमा एमाले नेता के कस्तो बोल्छन् भन्ने क्ुरा ख्याल गरिरहेको छ । दाहाल नेपालहरू पिठो बेचिरहेका छन् । यस्ता बेलामा तिनलाई हुरुक्कै हुने गरी ताछ्न सकिन्छ ।

आखिर सत्य लुक्तैन माधव नेपालको कम्युनिस्ट मखुण्डो उदांगो भयो । यिनलाई घरबाहिर अनुहार नै देखाउन नसक्ने बनाउनुपर्छ । त्यस्तै हुँदै पनि छ । किनकि झलनाथ खनालले इलाममा वासगाँस दिने कुनै कार्यकर्ताका छैनन् । नेपालको गृह जिल्ला उनका लागि निर्जन जस्तै छ । अहिले संघ र प्रदेशका केही सांसद्हरू अनेक प्रलोभनमा पारेर आफू निकट ल्याए पनि नेपालको टेक्ने आधार समाप्त प्रायः देखिन्छ । छँदाखाँदाको घर जलाएर खरानी पार्नेका पछि सम्धी, सोल्टीलगायत तीन र तेह्रका आफन्त लागे पनि अलिअलि बुद्धि भएका तिनले अवष्य छाड्छन् । कम्युनिस्ट नामका कलंकको कुनै भविष्य छैन । यस्तै पात्र र चरित्रका अब्बल नाम हो बामदेव गौतम ।

बामदेव गौतम चरम अस्थिर, दोधारे, दलबदलु, चरम महत्वकांक्षी, ढुलमुल भएका कारण उनी अहिले करिब एक्लोजस्तै भएका छन् । माधव नेपालमार्फत् गठबन्धन सरकारमा महत्वपूर्ण मन्त्रालय पाउने भएपछि ओलीलाई तथानाम गाली पत्र लेखेर पार्टी परित्याग गरेका छन् । यत्ति गाली नगरी मन्त्रीपद पाउने अवस्था पनि थिएन होला । अर्कातिर माधव नेपाल पनि ओलीलाई नै गाली प्रतिवेदन पारित गरेर पार्टी निर्माणमा लागेको स्पष्ट हुन्छ । मदनले नै भनेझैँ मानिस तर्क सकिएपछि, हार्ने भएपछि र गल्ती गरेपछि खुब रिसाउँछ भनेझैँ माधव नेपाल र बामदेव गौतम आफ्नै रिसले आफैँ आगो भएको स्पष्ट हुन्छ । नत्र भए नभएका गल्ती देखाएर एउटा जिम्मेवार नेताले घरमा आगो लगाउँदैन र घरलाई खरानी बनाउँदैन ।

बामदेव गौतमलगायत केही नेताका चिन्तन र चरित्र पर्गेली रहेको यस लेखकले को कतिसम्म गिर्न सक्छ, बिक्न सक्छ र पार्टी बिथोल्न सक्छ भन्ने उहिल्यै थाहा पाएको हो । अहिले पनि बाँकी कतिपय एमाले नेता उप्रान्त सप्रिए भने कुरो बेग्लै हो तर तिनीहरूको चिन्तन र चरित्रमा सहजै विश्वास गर्न यो लेखक सक्तैन । । ओली वा अरू कुनै नेतालाई खुसी पार्ने तर अरू सबैसित भद्दा व्यवहार गर्ने मात्र होइन सामन्तवादी बेहोरा देखाउने नेता धेरै छन् । तर, अहिले भने बामदेव गौतम नै केन्द्रीय विषय भएका छन् ।

उहिल्यै सहिदको कोटामा पुत्र गौतमलाई चीनमा पढ्न पठाएर विवादित बनेको बामदेव बारबार सत्ता, शक्ति, सम्पत्ति र चरम स्वार्थ लिप्साका कारण विवादमा परेका हु्न् । पार्टी विभाजनका बेला फुुटबाट शक्ति प्राप्त हुन्छ भन्ने मान्यताका महान् विचारक गौतम कतिखेर कसले किनेर लान्छ भन्न नसकिने चरित्र हुन् । एकताका खुमबहादुरले गौतमलाई ढकतराजुमा तौलेनन् कि । गौतमले यही मान्यताका आलोकमा पार्टीका अध्यक्षहरूका बीच फुट ल्याउने महान् उद्देश्यका स्थायी समिति बैठकमा पार्टी र सरकारका बीच गम्भीर दरार उत्पन्न गर्ने काममा दिलोज्यानले लागे ।

आफूले माग गरे अनुसार नपाउँदा गौतमले ओलीलाई प्रधानमन्त्री बनाउन हतार गरेर गल्ती गरेको पनि भने । तर ओली व्यक्तित्वको राप, ताप र प्रतापबाट पार्टीको व्यापक चुनावी लहरका कारण बहुमत ल्याएको कुरा भने गौतमले बोल्न पूरै कप्ट्याइ गरे । निर्वाचन क्षेत्रबाट आफ्नै कारणले सर्मनाक हार बेहोरेपछि ओलीलाई व्यर्थमा आरोप लगाए । माओले नै जनता र सिद्धान्तमा अटल विश्वास नहुने मान्छे नेता हुनसक्तैन भन्नुभएको छ । झ्वाँक र सनकका भरमा केही पनि काम हुन सक्तैन । दल बदलु र मन चन्चलु मान्छेको कुनै ठेगान हुनसक्तैन । पहाड खन्ने र खोस्रने मन, वचन र कर्मनिष्ठ निस्वार्थी चिनियाँ लोककथाको ज्येष्ठ नागरिकजस्ता मानिसले मात्र एक दिन पहाड पल्टाइदिनसक्छ र विजय हासिल हुन्छ । बर्खाका बेला छिनछिनमा उठ्ने र फुट्ने पानीका फोकाजस्ता गौतम पहिले पनि भरपर्दा नेता थिएनन् ।

दसैँमा राष्ट्रपतिको टीका बहिष्कार गर्ने तर पूर्वराजा वीरेन्द्र शाहसित टीका थाप्ने गौतम महान् क्रान्तिकारी नै हुन् । राजाकै आशीर्वादबाट यो एकबारको जुनी र जिन्दगीमा एकैपल्ट एक दिन भए पनि प्रधानमन्त्री हुन आतुर र व्यग्र गौतमको महिमा अपरम्पार छ । यस्ता थाङ्ने चरित्र आफ्नै घरमा कति सम्मानित हुँदा हुन् हेर्न बाँकी छ तर जनताले यिनलाई धारे हात मात्र लगाउँछन् र सदा सरापिरहनेछन् ।

प्रतिक्रिया