तालिवानद्वारा महिला महिला मन्त्रालय नै खारेज

काबुल । तालिवान समूहले गठन गरेको अन्तरिम सरकारमा महिलालाई कुनै स्थान दिइएको छैन । महिला र अल्पसंख्यकका अधिकार रक्षा गर्ने बचन दिएको तालिवानले महिलालाई सरकारमा सहभागी गराउनुको सट्टा महिला मन्त्रालय नै खारेज गरिदिएको छ । महिला अधिकारप्रति प्रतिबद्ध रहेको बताए पनि तालिवानले देशका अधिकांश महिलालाई काम छोड्न र बालिकालाई विद्यालय नजान दबाब दिएका छन् । सुरक्षा अवस्था सुधार नहुन्जेल स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रका महिलालाई घरमै बस्न दबाब दिने गरेका छन् ।

आफ्ना अधिकार कटौती भएपछि काबुलमा महिलाहरूले विरोध प्रदर्शन गरेका छन् । तर, तालिवानले उनीहरूको प्रदर्शनलाई दमन गरेको छ । ‘हामी यो सरकार स्वीकार्दैनौं, त्यही भएर म सडकमा आएकी हुँ,’ प्रदर्शनकारी महिला सारा हुसेन भन्छिन् । उनी एक सातामा दोस्रो पटक प्रदर्शनमा सहभागी भएकी हुन् । ‘हामीले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा तालिवान लडाकूले हस्तक्षेप गरेका छन्,’ अर्की प्रदर्शनकारी महिला जिया भन्छिन् ।

प्रदर्शनमा सहभागी भएको भन्दै तालिवानले आफूहरूलाई निर्घात कुट्नेदेखि करेन्ट लगाउनेसम्म गरेको महिलाहरूको गुनासो छ । ‘उनीहरूले मलाई धेरै पटक यातना दिएका छन् । प्रदर्शनमा सहभागी भएको भन्दै अपमानजनक शब्द प्रयोग गरेका छन् । उनीहरूले हामीलाई भनेका शब्द सुन्दा पनि लाज लाग्छ,’ उनी भन्छिन् । प्रदर्शनमा लडाकूले हस्तक्षेप गरेको भिडियो खिच्न खोज्दा तालिवानले अर्की महिलाको मोबाइल खोसिदिएका थिए ।

प्रतिक्रिया