सर्लाही । जिल्लाको ब्रहम्पुरी गाउँपालिका ७ नोकैल्वाका वडा अध्यक्ष श्यामसुन्दर यादवले राजनीतिक पूर्वाग्रहका कारण आफ्नो राजनीतिक भविष्य र चरीत्र हत्याको प्रयास भएको बताएका छन् । भदौ ५ गते शनिबार राती आफूले बलात्कार गर्न प्रयास गरेको आरोप लगाएकी स्थानीय महिलालाई केही व्यक्तिले राजनीतिक पूर्वाग्रहका कारण आफ्नो राजनीतिक भविष्य र चरीत्र हत्या गर्ने उदेश्यले प्रयोग गरिएको वडा अध्यक्ष यादवले जानकारी गराएका छन् ।
घटनाको दिन आफू घटना स्थलमा समेत नरहेको वडा अध्यक्ष यादव बताउँछन् । राजनीतिक पुर्वाग्रहका कारण आफ्नो राजनीतिक भविष्य र चरीत्र हत्या गर्ने प्रयास भएकोले घटनाको तत्काल निश्पक्ष छानबिन हुनुपर्ने वडाध्यक्ष यादवको जिकिर रहेको छ । वडाध्यक्ष यादवले आधार प्रमाण सहित यस घटनामा आफ्नो संलग्नता रहेको पुष्टि गर्न कडा चुनौती दिदै भने, ‘घटनामा आफ्नो संलग्नता पुष्टि भए कारबाही भोग्न तथा राजनीतिबाट आजिवन सन्यास लिन तयार छु ।’
निज महिलाको श्रीमान विगत ७ वर्ष देखि वैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुकमा बस्दै आएका छन् । तपाईको पालिकामा महिला माथी बलात्कारको प्रयास भएको घटना सत्य हो ? भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष बिनोद साहले शुरुमा यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । कुराकानी गर्दै जादा पछि अध्यक्ष साहले घटना बारे जानकारी हुन आएको स्वीकार गरे । अध्यक्ष साहले भने, ‘घटनाको सत्यतथ्य छानबिन हुनुपर्दछ ।’ यस घटनामा निर्दोष फस्नु पनि भएन र दोषीले उन्मुक्ति पाउनु पनि भएन गापा अध्यक्ष साहको भनाइ रहेको छ ।
वडा अध्यक्ष यादवको चरीत्र हत्या तथा राजनैतिक भविष्य समाप्त पार्ने उदेश्यले जबर्जस्ती करणी उद्योग जस्ता गम्भीर मुद्दा दर्ताको भएकोले जनता समाजवादी पार्टी नेपालले सोको घोर भत्सर्ना गर्दै घटना बारे स्थलगत सत्यतथ्य बुझी सोको प्रतिवेदन तत्काल सार्बजनिक गर्न प्रमुख जिल्ला अधिकारिलाई बिहीबार ज्ञापनपत्र बुझाएको छ । वडा अध्यक्ष यादव माथी बलात्कार प्रयासको आरोप लगाएकी अन्दाजी ३० वर्षिया महिला ब्रहम्पुरी गापा ७ नोकैल्वाकै स्थानीय हुन् ।
प्रतिक्रिया