सिमकोट । जिल्ला अस्पताल हुम्लामा १२ भदौदेखि सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ५० ले सेवा लिएका छन् । आँखा, नाक, कान, घाँटी र अपांगता भएका व्यक्तिका लागि शिविर सञ्चालन भएको थियो भने ती रोगबाट प्रभावित बिरामीले सेवा लिएका छन् । गोर्खा वेल्फेयर ट्रस्टको आर्थिक सहयोग तथा जिल्ला अस्पताल र सिमकोट गाउँपालिकाको समन्वयमा शिविर भएको हो । शिविरमा आँखा, नाक, कान, घाँटी र हातखुट्टामा समस्या भएका व्यक्तिलाई निःशुल्क औषधि उपचार गरिएको शिविर सञ्चालकका व्यवस्थापक जय लिम्बूले बताए ।
शिविरमा जिल्लाका सात वटै गाउँपालिकाका सेवाग्राहीले सेवा लिएका छन् । चार दिनको अवधिमा २ सय ९३ कान, २ सय ९५ आँखा, ४५ अपांगता भएका व्यक्ति र अन्य १७ महिला, पुरुष एवं बालबालिका गरेर जम्मा ६ सय ५० लाई सेवा दिएको व्यवस्थापक लिम्बूले बताए ।
त्यस्तै आँखा, कान र अपांगता भएका व्यक्ति गरेर १५ लाई काठमाडौं र नेपालगञ्ज पठाएको लिम्बूले बताए । थप उपचारका लागि जिल्लाबाहिर पठाइएका १५ जनाको उपचार खर्च गोर्खा वेल्फेयरले बेहोर्ने भएको छ ।
दुर्गम जिल्लाका बिरामी आर्थिक अभावका कारण जिल्लाबाहिर जान नसक्ने भएपछि टोली आएर शिविर सञ्चालन गरेको थियो । शिविरमा पाँच विशेषज्ञ चिकित्सक, २४ स्वास्थ्यकर्मी गरेर २८ जनाको टोलीले सेवा दिएको थियो । कान नसुन्नेलाई सभ नियन्त्रक, कान र आँखाको मोतीविन्दु शल्यक्रिया, अपांगता भएका व्यक्तिहरूलाई फिजियोथेरापीसँगसँगै कृत्रिम अंगसमेत प्रदान गरिएको लिम्बूले जानकारी दिए ।
प्रतिक्रिया