‘हामीले सरकार र पार्टी चलाउन सकेनौँ’

दैलेख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकार र पार्टी सञ्चालन गर्न नजान्दा अहिले यो परिणाममा पुगेको बताएका छन् । नेकपा एमाले दैलेखले आयोजना गरेको जिल्ला भेलालाई बुधबार सम्वोधन गर्दै उनले आफूहरूले सरकार र पार्टी चलाउन नसकेको स्वीकार गरेका हुन् । ‘जनताले हामीलाई दुईतिहाइ नजिक्को जनमत दिए । सरकार बनायौँ । दुइ पार्टी एक बनायौँ । तर हामीले सरकार र पार्टी दुवै चलाउन सकेनौँ’, ज्ञवालीले भने, आफूले गर्न नजान्ने दोष जति अरूलाई लगायौं । नाँच्न नजान्ने आँगन टेढो भन्ने नेपाली उखानलाई हामीले चरितार्थ ग¥यौँ ।’ उनले समाजवाद भन्ने कुरा कुनै समूहका कारण नआउने बताउँदै मुलुकको विकासका एमालेको भूमिका महत्वपूर्ण हुने भएकाले एमालेका आमनेताकार्यकर्तालाई जनताका समस्या समाधान गर्नतर्फ एकजुट भएर लाग्न आग्रह गरे ।

उनले सिंगो संसार बदल्न लाग्नेहरू पहिले आफू बदलिनुपर्ने बताए । कम्युनिस्ट पार्टीको काम भनेको जनताको मुक्तिका लागि लड्नु रहेकाले अझै पनि मुलुकमा वर्ग संघर्ष नसकिएको ज्ञवालीले बताए । कमिसन खाएर कम्युनिस्ट पार्टी नबन्ने बताउँदै ज्ञवालीले कम्युनिस्टले सत्ताको दुरुपयोग गर्न नहुने बताए । यस्तै, एमालेका कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेलले पार्टीका नेता कार्यकर्ताहरूलाई १० बुँदेप्रति आशंका नगर्न आग्रह गरेका छन् । विगत भुलेर नयाँ ऊर्जाका साथमा कम्युनिस्ट आन्दोलन बलियो बनाउन एमाले एक बनाउने अभियानमा होमिन सबैलाई कँडेलले आग्रह गरे । जिल्ला भेलालाई संबोधन गर्दै उनले विगतमा यो वा त्यो पक्षका रूपमा आन्दोलनमा गएर विभिन्न पक्ष विपक्षमा आवाज उठाए पनि त्यसलाई भुलेर अब सम्पूर्ण एमाले पंक्ति एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘विगतमा हामीले जे ग¥यौँ, जे भन्यौँ, त्यो भुलौँ’, उनले भने, ‘१० बुँदे सहमतिपछि कोही पनि जिम्मेवारविहीन हुनुपर्ने छैन । यहाँहरूको मानमर्दन सम्मानमा धक्का नपुग्नेगरी सबै कार्यकर्ताको मनोभावना अनुरूप उचित जिम्मेवारी प्रदान गर्दै पार्टीलाई गतिशील बनाउन लाग्नुपर्ने बताए । यसैगरी नेकपा एमाालका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले साइनबोर्ड झुण्ड्याउँदैमा पार्टी नबन्ने बताएका छन् ।

एमालेको दैलेख भेलालाई संबोधन गर्दै उनले पार्टीको विचार धारालाई संगठनको आधारमा उभ्याउन सकेको खण्डमा मात्रै पार्टी बन्ने बताए । ‘पार्टी बन्ने भनेको कार्यकर्ताकै सक्रियताले हो । हामी जति सक्रिय हुन्छौँ । हामीले जति जनतालाई संगठित बनाउन सक्छौँ, साथै आफूलाई आफ्नो समुदायको नेताको रूपमा आफूलाई उभ्याउन सक्छौँ तब मात्रै पार्टी बनाउन सक्छौँ’, उनले भने । पछिल्लो समयमा कांग्रेसले एमालेबाट गएकाहरूलाई माया गरेको भनेको गैंडाले माया गरेजस्तो भएको बताए । गैंडाले विस्तारै माया गरेर चाटेर रगत निकाल्ने गरेको बताउँदै उनले रगत चाटेपछि मात्रै उनीहरूले परिमाण भोग्ने बताए । पार्टीभित्र अन्तरविरोध हुने भन्दै अन्तरविरोध हुँदैमा पार्टी फोड्दै जानु गलत भएको उनको भनाइ थियो ।

प्रतिक्रिया