सुनिता र तानामको आवाजमा लिम्बू गीत

ललितपुर । गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीले ‘आन्छी मिम् आफल्याङ मेसिनेन’ लिम्बू भाषाको गीत ल्याएका छन् । मंगलबार नखिपोटस्थित युङ्चा रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी गीतको भिडियोलाई सार्वजनिक गरियो । प्रेमी प्रेमिकाबिचको माया र स्नेहलाई भौतिक शरीरले छोडेर गए पनि माया कहिल्यै मर्दैन भन्ने भावलाई देखाइएको छ । विमोचन कार्यक्रममा बोल्दै चलचित्र विकास वोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङले गीतमा आफ्नो कथालाई देख्न पाइने र संसारभरि रहेका कला संस्कृतिको संरक्षण र संवद्र्धृन गर्न सकिने बताए । उनले कला र संस्कृतिका लागि कलाकारले आपसमा सदैव सहयोग गर्नुपर्ने धारणा राखे ।

चेम्जोङले भिडियोमा मनोरञ्जन मात्र नभएर लिम्बू समुदायको लोप हुँदै गइरहेको संस्कार संस्कृतिको संरक्षण गर्न सकोस् भन्ने अपेक्षा रहेको राखिएको भनाई व्यक्त गरे । उनले भने, ‘यसको लागि चुम्लुङले आवश्यक सहयोगको लागि पहल गर्नुपर्दछ ।’ निर्देशक दिनेश लिङ्देनले जीवनलाई महिनौ अध्ययन गरेर संगीत भरेको बताए । उनले कोभिड कहरको वाबजुद पनि काम गरिरहेको हुँदा व्यक्तिगत र आफू आवद्ध संस्थाको तर्फबाट निर्देशक हाङ चेम्जोङलाई धन्यवाद दिए । किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले गीत र भिडियोमा सम्बन्धितको काममा प्रंशसनीय रहेको बताइन् ।

उनले भनिन्, ‘सबैको मिहिनेत छ, लिम्बू संस्कारलाई जीवन्तता दिने काम भएको छ । पहिचानलाई जीवन्त राख्न सफल भएको छ ।’ उनले राज्यबाट विभेद भएकाले कला र संस्कृति संरक्षण गर्ने दायित्व युवाको काँधमा आएको र चुम्लुङले आफूले सकेको गरिरहेको जिकिर गरिन् । कार्यक्रममा हङकङका त्रिभुवन लुम्फुङ्वा, निर्देशक हाङ चेम्जोङ, गीतकार साइमन लिम्बूले धारणा राखेका थिए । एनआरए एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुङ, हङकङका लोकराज आङ्बुहाङ, सागर केरुङ, भवानी सम्बाहाम्फे, रवि शेर्मा, लक्ष्मी योङहाङ, निरन्ता नेम्बाङ, तुलसा लिम्बू, दीपा सुहाङ, टेकराज लावती, एकान्त आङ्देम्बे, मनु थक्लुङ, पुष्पाञ्जली तिल्लिङ, इसक जबेगु, सनि लिम्बू, सीता सिंगक, मिना सिंगक, रुद्र पाहिम, नगेन माखिम, यादन शेर्मा, थोक्फेला लिङ्दिन, सविना योङ्हाङ, पवित्रा लिम्बू, हाङ लावती, उपासना नेम्बाङ, गंगा फियाक, सिर्जना जबेगु लगायतका कलाकार, समाजसेवीको उपस्थित भएको कार्यक्रमलाई यासेली योङ्हाङले सञ्चालन गरेका थिए ।

साइमन लिम्बूको रचना रहेको उक्त गीतमा जेपी नेम्बाङको संगीत रहेको छ । टेकेन्द्र यक्सोले एरेन्ज गरेको गीतको भिडियोमा विमला खजुम लिम्बू, साइमन लिम्बू, तानाम तान्छो लाओती, झरना लिम्बूको अभिनय छ । भिडियोको लागि सोम मगरातीले शृंगार, नागिन धिमालले ड्रोन, अनिल रानाले सम्पादन, तिलक रिजालले छायांकन गरेका छन् ।

प्रतिक्रिया