रोनाल्डोलाई ‘पाओलो रोस्सी’ अवार्ड

पेरिस । इटालियन क्लब युभेन्टस्का पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो संस्करणको पाओली रोस्सी अवार्ड जितेका छन् ।
गत सिजनको सिरी ‘ए’ मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेसँगै रोनाल्डोले यो अवार्ड हात पारेको हो । इटालियन फुटबल फेडेरेसनले आफ्नो विश्व विजेता रोस्सीको नाममा यो अवार्डको स्थापना गरेको हो । रोस्सीको गत डिसेम्वरमा ६४ वर्षको उमेरमा निधन भएको थियो ।

इटालियन फुटबल फेडेरेसनले लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिने नीति पारित गरेको थियो । रोस्सीको तस्विर अंकित उक्त अवार्डको बनावट समेत परिवर्तन गरिएको संघले जनाएको छ । उक्त ट्रफीमा रोनाल्डोले गरेको गोल सङ्ख्या २९ वटा नै हिरा जडान गरिनेछ । रोनाल्डोले गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिपमा पनि गोलडने बुट जित्न सफल भएका थिए । उनको टोली पोर्चुगल प्रि–क्वाटरफाइनलबाट बाहिरिएपनि रोनाल्डोले समूह चरणमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका थिए ।

यो सिजनको समर ट्रान्सफर चार साता बाँकी रहँदा ३६ वर्षीय रोनाल्डोको युभेन्ट्समा भविष्य अनिश्चित जस्तै छ । तर रोनाल्डोले टुरिन क्लबमै बस्ने मनासय बनाएका छन् । युभेन्ट्समा रोनाल्डोको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको छ । रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । सन् १९७७ देखि १९८६ सम्म इटालीको राष्ट्रिय टोलीमा रहेका पाओलो रोस्सी इटालीले सन् १९८२ को विश्वकप जित्दा टोलीका मुख्य सदस्य थिए । उनले इटालीका लागि ४८ खेलमा २० गोल गरेका थिए । उनले युभेन्ट्स, कोमो, भिसेन्जा, पेरुजिया, एसी मिलान र हेलास भेरोनाबाट व्यवसायिक लिग खेलेका थिए ।

प्रतिक्रिया