मधुश्रावणी : जीवन्त परम्पराको धरोहर

एस.सी. सुमन

कागजको आविष्कारपूर्व ताडपत्र, भोजपत्रमा लेख्ने परम्परा थियो । आज पनि मधुश्रावणी पर्वमा मैनाको पातमा चित्रलेखन परम्परा पुस्ता दरपुस्ता हस्तान्तरण हुँदै जीवन्त परम्परा सजिलै देख्न सकिन्छ । मिथिलामा खिस्सा (कथा) सुनाउने अति पौराणिक चलन हो । जेठो पुस्ता यानी हजुरबा, हजुरआमा, बाआमाबाट आफ्ना छोराछोरी, नातिनातिनालाई प्रायः राति सुत्नेबेलामा रामायण, महाभारत, वेद, पुराणलगायत विभिन्न लोककथा, दन्तकथा सुनाउने चलन रहिआएको छ ।

‘साउन मास नागपञ्चमी भेल ।
बिषहरि गहवर सोहावन भेल ।’
श्रावण महिनालाई विशेष रूपले शिव–पार्वतीको आराधनाको महिना मानिन्छ । अरू समुदायले विभिन्न चाडपर्व मनाएझैँ मिथिला सदियांैदेखि शिव र शक्तिको उपासक रहेको छ । यहाँ नवविवाहित जोडीले भने साउनमा दाम्पत्य जीवनको सफलताको कामना गर्दै मधुश्रावणी मनाउँछन् । साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म १३ दिनसम्म मनाइने मधुश्रावणी पर्वलाई मधुमास पनि भनिन्छ । साउन महिना वर्षातको महिना हो । यतिवेला जताततै हरियाली हुन्छ । वनमा मयुर पनि यसै मौसममा प्रणय सम्बन्धमा लीन हुन्छन् । वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावनात्मकरूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको हुन्छ । तसर्थ यो पर्व नवविवाहिताका लागि विशेष हुने गरेको छ ।

पर्वमा एकदिन महादेव गौरीसँग सरोवरमा जलक्रीडा गर्दा, आफ्नो स्खलित भएको वीर्य पुरैन (कमल) को पातमा राखेको र त्यही वीर्यबाट पाँच नागकन्या बिसहराको जन्म भएको कथा प्रचलित छ । तलाउमा जलक्रीडाका बेला जन्मेका यी छोरीसँग शिवजीको प्रेम हुनु स्वाभाविक थियो । महादेवको नित्य छोरी भेट्न जाने र घण्टौं छोरीहरूसँग खेल्ने गरेका र यो वृत्तान्त थाहा नपाएकी गौरीलाई पतिप्रति शंका बढेपछि पिछा गरेको कथा छ । एकदिन छोरीहरूसँग खेलिरहेका पतिलाई देखेर क्रोधित भएकी गौरीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसंग छ । पार्वतीलाई खुसी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान सुरु भएको लौकिक जनविश्वास छ । देवी गौरी दाम्पत्य जीवन सुखद बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएकीले उनको पूजाअर्चना नवविवाहिताले यसै अभीष्टका लागि सुरु गरेका मिथिला लोकसंस्कृतिमा रहेको छ ।

मिथिला क्षेत्रमा बस्ने सबै जातजातिका मानिसले विभिन्न चाडपर्वमा आफ्नो घरमा प्राकृतिक रङबाट विभिन्न किसिमका चित्र बनाउँथे । मिथिलामा विवाह, चाडपर्व, पूजाआजा हुँदा अनिवार्य रूपमा माटोका घरका आँगनमा तथा कोठामा अरिपन चामलको पिठोको ‘पिठार’ र सिन्दुरबाट बनाउने प्रचलन रहेको छ । भित्तामा देवीदेवता, चराचुरुंगी, मानिस, बोटबिरुवा, फलफूल, जनावर लगायतका रूपाकार विभिन्न रातो, पहेंलो, हरियो, निलो, सुन्तलाजस्ता उज्यालो रङको प्रयोग गरी रंगाउने चलन रहिआएको छ । सयौँ वर्षअघिदेखि मिथिलामा लिखियाको परम्परा निरन्तर चल्दै आएको छ ।

यस पर्वको सबभन्दा आकर्षक, प्रारम्भिक तथा कलात्मक पक्ष भने लोकगीतको लयसँगै ‘अरिपन’ लेख्नु, रोचक लोककथा सुन्नु सुनाउनु र ‘फूललोढव’ अर्थात् फूल संकलन गर्नु हो । पूजाको पूर्वसन्ध्यामा पूजा गरिने निर्धारित कोठालाई सफासुग्घर गरी गोबर माटोले भुँइ लिपी अरिपन लेखिन्छ । ‘चौकोर’ (चारकुनाले घेरिएको क्षेत्र) अरिपनभित्र चन्द्र, सूर्य, नवग्रह, जोडी नाग, पुरहैर–पातिल, कलश, कलात्मक माटोको हात्ती राखिने ठाउँ छुट्याइन्छ । यसैगरी लोककथासँगै जोडिएको कुशमावती, पिङला, चनाइ, लिली, साठी, गौरी, एक अर्कोमा लटपटिएको जोडी नाग, मैनाको पात आफ्नो निश्चित रूपाकारमा सविस्तार लेखिन्छ । कमलको फूलमा भगवती गौरीको पदचिन्ह वा गौरीयन्त्र लेखिएको हुन्छ ।
यो कोठालाई पूजाकोठा तथा कोबर घरको रूपमा प्रयोग पनि गरिन्छ । मधुश्रावणी पर्व विवाह भएको पहिलो वर्ष मनाइने हुँदा प्रायः विवाहको समयमा प्रयोग गरिएको कोबर घरलाई प्रयोगमा ल्याइन्छ । कोबर घरका भित्तामा लेखिएको कोबर, नैनाजोगीन, गौरी पुजाको माटोको हात्ती, कलश, पुरहैर–पातिल आदि सरसामान विवाहको एक वर्षसम्म सुरक्षित राखिएको हुन्छ । तसर्थ मधुश्रावणी पर्वको समयमा प्रयोगमा ल्याइन्छ । मधुश्रावणीपश्चात् यस्ता पूजन सामग्रीको बिसर्जन गरिन्छ ।

मिथिलामा कोबर एक चित्रकला मात्रै होइन, यसभित्र मानवीय जीवनको गहिरो जरो गाडिएको छ । जसले आफूमा मानव जीवनको एक सम्पूर्ण दृष्टि दिन्छ । वरबधूको सयनकक्ष ‘कोबर’ घरमा भगवतीलाई मनपर्ने र नारीशक्ति, सौन्दर्य तथा कोमलताको प्रतीक मानिने हुँदा कमललाई कोबरमा निकै ज्यादा महत्व दिइन्छ । कमल र पोखरीले सम्पूर्ण मिथिला सुशोभित छ । धनकी देवी लक्ष्मीको प्रतीक तथा भगवान् विष्णुका लागि पनि कमल प्रिय पुष्प हो । कोहवरमा प्रतीकात्मक अर्थ लाग्ने चित्रहरू लेखिन्छ । मिथिला कलामा प्रतीकात्मकता र सौन्दर्यलाई प्राथमिकता दिइन्छ । बाँस पुरुष र वंशवृद्धिको द्योतक मानिन्छ । कमल र बाँसले महिला र पुरुषको सम्बन्ध प्रस्तुत गर्दछ ।

सूर्यास्त हुनुपूर्व ‘बटगवनी’ (बाटोमा गाउने गीत) गाउँदै घरबाट निस्किने मैथिलानीहरूको यो टोली नजिकको बाग बगैँचा वा फूलबारीमा पुगी विभिन्न जातिका फूलपात र बुट्यान संकलन गर्छन् । संकलित फूल–पातलाई आकर्षक ढंगले डालामा सजाउँछन । यसक्रममा मधुर लोकगीतको अटूट निरझरनी प्रवाहित भइरहन्छ । समूहमा ‘फूललोढी’ मा निस्केका नवयौवना नवविवाहिता मिथिलानी साउने झरीमा रुझ्दै, आपसी हास परिहासमा मस्त र यसबेलामा गाइने प्रणयगान स्वाभाविक रूपमा वरपर हुने सबैको ध्यान त्यसतर्फ खिचिन्छ । भर्खरै विवाहित जोडीको प्रणय सम्बन्ध प्रगाढ बनाउने कामनाभित्रको ‘फूललोढी’ विधिमा निस्केका मिथिलानीको त्यही विषय भाव समेटिएका लोकगीतले समृद्ध लोक परम्पराको पुष्टि गर्छ ।

साँझपख पूजास्थलमा मैनाको पातमा विभिन्न प्रकारका आकृतिहरू लेखिन्छ । पूजा सुरु हुने दिनको पूर्वसन्ध्यामा ठूलो आकारको चारओटा मैनाको पातमा विभिन्न रङको संकलित फूल, चन्दन, गाजल, सिन्दुर, अरुवा चामलबाट तयार पारिएको पिठारको प्रयोग गरी नाग लेखिन्छ । महादेव, गौरी, नागनागिनको प्रतिमा स्थापित गरी विभिन्न प्रकारको नैवैद्य (प्रसाद) अर्पण गरी गोसाउनी ‘भगवती गीत’ सँगै पूजा प्रारम्भ गरिन्छ, यस व्रतमा खास गरी महादेव, गौरी, बिषहरा (नाग देवता) को पूजा अर्चना गरिन्छ ।

मिथिला चित्रकलाको विषय मुख्यतया धार्मिक हुने गर्छ । जसमा देवीदेवतामा सीताराम, राधाकृष्ण, कृष्ण र गोपिनीको रासलीला, शिवपार्वती, दुर्गा, काली, सुर्य र चन्द्रमाको चित्रण देखिन्छ । केही तान्त्रिक प्रतीकको प्रयोग भएको पनि पाइन्छ । लेबि–छ्छारि तयार पारिएको भित्तामा ठूल–ठूलो आकृतिमा पिहुआको सहाराले रङ भरिन्छ । भरनी भनेको रङ पोत्नु वा रङ भर्नु हो । कालो रङले तयार पारिएको रेखाचित्रभित्र रातो, पहेँलो, सुन्तला, बैगनी, हरियो रङको व्यापक प्रयोग गरिन्छ । सहजताले घरमा उपलब्ध हुने दैनिक प्रयोगका सिन्दुर, अबिर, चन्दन, विभिन्न रङका फूलको प्रयोगले यस्ता चित्र बनाएको पाइन्छ । मिथिला लोकचित्रको प्राकृतिक रङ परम्परा यसरी आजसम्म जीवन्त परम्पराको रूपमा हामीसँग रहेको छ ।

कागजको आविष्कार पूर्व ताडपत्र, भोजपत्रमा लेख्ने परम्परा थियो । आज पनि मधुश्रावणी पर्वमा मैनाको पातमा चित्रलेखन परम्परा पुस्ता दरपुस्ता हस्तान्तरण हुँदै जीवन्त परम्परा सजिलै देख्न सकिन्छ । मिथिलामा खिस्सा (कथा) सुनाउने अति पौराणिक चलन हो । जेठो पुस्ता यानी हजुरबा, हजुरआमा, बाआमाबाट आफ्ना छोराछोरी, नातिनातिनालाई प्रायः राति सुत्नेबेलामा रामायण, महाभारत, वेद, पुराणलगायत विभिन्न लोककथा, दन्तकथा सुनाउने चलन रहिआएको छ । मुख्यतया यस्ता खिसा–पिहानि मिथिलामा चित्रकलाको स्रोत हुन् । गौतम बुद्ध, महात्मा गाधी, बिवेकानन्द, नेल्सन मन्डेलाजस्ता महापुरुषको जीवनकथा सुनाइन्छ ।

मधुश्रावणी पर्वमा निर्धारित कथावाचिका महिला पुजारी पण्डिताइनबाट प्रत्येक दिन नवविवाहितालाई मधुश्रावणी व्रत कथा सुनाइन्छ । । योक्रम पूजा अवधि १३ दिनसम्म जारी रहन्छ । प्रत्येक दिन विभिन्न विषयवस्तुका कथा समावेश रहन्छ जसमा विषहर (सर्प) को जन्म, विहुलाको कथा, मंगला गौरीको कथा, पृथ्वीको जन्म, समुद्र मनथन, सतीको कथा, महादेव परिवारको कथा, गौरी जन्म, गौरी तपस्या, गौरी विवाह, बाल वसन्त, गणेश जन्म आदिका कथा श्रवण गराइन्छ । प्रत्येक दिनको बैग्लाबैग्लै कथाको माध्यमले नवविवाहित जोडीलाई घर–गृहस्थीको विविध विषयको जानकारी गराइन्छ । विधकरी ‘पूजा विधि सिकाउने महिला) ले नवविवाहित जोडीलाई कथा, गीत तथा चित्रको माध्यमले यौनशिक्षासमेत दिइने लक्ष्य रहेको हुन्छ । पर्वमा नवविवाहिता मिथिलानी आफ्ना सखीहरूबीच भर्खरै सुरु भएको दाम्पत्य जीवनका कौतुहलता, पतिले देखाउने वास्ता र रतिरागसम्मका अनुभव साटासाट हुन्छन् । माइतबाट बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आए बीचका अन्तरङ अनुभव व्रतालुले सुनाउँदा विवाहयोग्य उमेर पुगेकी सखी रोमाञ्चित हुने गर्छिन । यस व्रत अवधिभरि व्रतालु महिलाले प्रयोग गर्ने लत्ता, कपडा तथा अन्नसमेत ससुरालीबाटै आउँछ ।

पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । यस पर्वको प्रभाव सिँगै समाजमाथि देख्न सकिन्छ । यो पर्व खासगरी नवदुलहीले माइतमै गएर मनाउने चलन रहिआएको छ । केही जाति विशेषले मात्रै मनाउने हुँदा पनि यो पर्व मिथिला क्षेत्रको आकर्षणका रूपमा चिनिन्छ । साथै यो पर्व मैथिली समाज अनुसार प्रक्रियागत विभिन्न विधि विधान अनुसार सम्पन्न हुन्छ जसलाई हामी जीवन्त परम्पराको धरोहरको रूपमा लिने गर्दछौं ।

नेपालका प्रत्येक प्रदेशमा कलाको आफ्नो विशिष्ट शैली र पद्धति विद्यमान छन्, जसलाई लोकसंस्कृति तथा लोककलाको नामले चिनिन्छ । लोककला सँगसँगै परम्परागत कला पनि एउटा भिन्न चिन्तन र परम्पराको रूपमा आएको हुन्छ । जो विभिन्न जनजातिमा पहाड तथा मधेशका ग्रामीण भेगमा आआफ्नो रितिथिति अनुरूप सम्पादन हुने गर्दछ । लोककलाको अन्तर्राष्ट्रिय बजारमा सम्भावना धेरै प्रबल रहेको छ । मिथिलाञ्चलको विशेष पर्वका रूपमा रहेको तथा संस्कृतिले भरिपूर्ण मधुश्रावणीको गीतले मिथिला गुञ्जयमान भएको छ । लोकपर्व मधुश्रावणीे विशेष तयारीका साथ सुरु भइसकेको छ । सफल दामपत्य र श्रीमान्को दिर्घायुको कामना गर्दै १५ दिवसीय यो पूजा मात्र मिथिलाञ्चलमा मनाइने गरिन्छ ।

प्रतिक्रिया