नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा पारस सिंह, सहसचिवमा डा रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा प्रज्वल घिमिरे चयन भएका छन ।

साधारणसभामा प्राध्यापक जोन डिनोल, डा स्टिभ पाण्डे, प्रा पालेश्वान लाखे र डा थोमस मार्जेट उपस्थित रहेको एसोसिएशनले जानकारी दिएको छ । कार्यक्रमा डा पालेश्वान लाखेले ग्यास्ट्रोइन्टेरोलोजीका बारे आफ्नो धारणा र डा अरुण बराललगायत चार चिकित्सकले ट्रेनी पेपर प्रस्तुत गरेको सहभागी डा सुनिल शाहले बताए ।

वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा कोरोनाको जोखिम न्यून गर्न काठमाडौंमा रहेको राधास्वामी केन्द्रमा रहेको आइसोलेशन केन्द्रका लागि संस्थाले १० हजार पाउन्ड सहयोग गरेको र देशका विभिन्न ठाउँमा अन्य स्वास्थ सामग्री पठाएर सहयोग गरिएको वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालबाट भर्चुअलरूपमा सहभागी डा चिन्तामणि योगीले कठिन परिस्थितिमा आफूलाई कसरी मानसिकरूपमा सम्हालेर अघि बढ्न सकिन्छ भन्ने खालको प्रवचन दिएका थिए । रासस

प्रतिक्रिया